जनता टाइम्स

१६ आश्विन २०८२, बिहीबार १२:१९

सहयोगीले सबै खर्च पुर्‍याइदिएका छन्, मन्त्रीको तलब भत्ता केही लिन्न : महावीर पुन 


काठमाडौं, असाेज १६ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले जनताको सानो–सानो सहयोगकै कारण आफूले सुरु गरेका ठूला अभियानहरू सफल हुँदै आएको बताउनुभएको छ ।

जनताको भरोसा र विश्वासकै कारण आफ्ना अभियान सफल भएका बताउनुभयो ।  ‘३२ वर्षअघि अमेरिकाबाट फर्केर आएको र व्यक्तिगत रूपमा कमाई केही नभएको व्यक्तिले पनि जनताको भरोसा र विश्वासकै कारण करिब २ सयभन्दा बढी गाउँमा इन्टरनेट पुर्‍याउन, सात वर्षदेखि राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गरेर प्रतिभाहरूलाई निःशुल्क हुर्काउन, कोरोना महामारीमा स्वास्थ्य सामग्री निःशुल्क वितरण गर्न र ३० वर्षदेखि बन्द भएको वीरगञ्ज कृषि औजार कारखानालाई पुनः सञ्चालन गर्न सफल भएको हो’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

मन्त्री पुनका अनुसार उहाँ र परिवारलाई पाल्न, छोरीहरूको पढाइ खर्च व्यवस्थापन गर्न आवश्यक पर्ने साथ, सहयोग साथी र शुभेच्छुकहरूले नै सहयोग गर्दै आएका छन् । ‘अहिलेसम्म मलाई र श्रीमतीलाई पाल्ने, छोरीहरूलाई पाल्ने, पढाई दिने काम आवश्यक पर्नासाथ मेरा साथी सहयोगीहरूले गर्छन्, मन्त्री भए पनि सबै खर्च पहिले देखि नै केही शुभचिन्तक साथीहरूले पुऱ्याई दिन्छन्, मलाई ढुक्क छ, तलब भत्ता केही लिँदैन, कहीँ जाँदा हवाई जहाज टिकट, बस भाडा, ट्याक्सी भाडा म आफैले तिर्ने हो’, पुनले स्पष्ट पार्नु भएको छ ।

उहाँले आफ्नो सम्पूर्ण जीवनयात्रा बुझ्न इच्छुकहरूलाई आफूले लेखेको आत्मकथा पढ्न आग्रह गर्नु भएको छ । ‘सबै कुरा विस्तृत रूपमा बुझ्न चाहनेले मेरो आत्मकथाको किताब पढ्न सक्नुहुन्छ’, पुनले भन्नु भएको छ ।

मन्त्री पुनले हालसम्म जनताले दिएको विश्वास नै आफ्नो सबैभन्दा ठुलो प्रेरणा भएको बताउँदै, आगामी दिनमा पनि शिक्षा, विज्ञान, अनुसन्धान र प्रविधिको विकासलाई अझ सबल बनाउन आफू निरन्तर लागिरहने स्पष्ट पार्नुभयो ।