जनता टाइम्स

१६ आश्विन २०८२, बिहीबार १५:२५

रामेछापमा किसान कागती खेतीतर्फ आकर्षित, वार्षिक लाखौँ आम्दानीको सम्भावना


रामेछाप, असाेज १६ । रामेछापका किसान हाल कागती खेतीतर्फ आकर्षित भएका छन् । राम्रो आम्दानीको सम्भावना, बजारमा उच्च माग र दिगो उत्पादन हुने भएकाले पछिल्लो समय कृषकहरु अन्य बालीभन्दा कागती खेती रोज्न थालेका हुन् ।

मन्थली नगरपालिका–५ सुनारपानीका किसान भरत कार्कीले करिब २० रोपनी जमिनमा एक हजार बोट कागती रोपेका छन् । उहाँका अनुसार एक पटक रोपिएको कागतीको बोट वर्षौँसम्म फल दिन्छ भने नियमित मलजल र सामान्य गोडमेल मात्र गर्नुपर्ने भएकाले अन्य खेतीभन्दा सहज छ ।

कार्कीले भन्नुभयो, ‘कागती खेतीमा जङ्गली जनावरको समस्या छैन । बाँदरले अन्य बाली खाइदिन्छ तर काँडायुक्त कागती बोट र यसको अमिलो फललाई भने नछुने भएकाले सुरक्षित हुन्छ ।’

उहाँको अनुभवमा भिरालो जमिन र धेरै पानी नपर्ने भूभागमा समेत कागती खेती गर्न सकिन्छ । यसै कारण स्थानीय किसानलाई यसतर्फ आकर्षण बढेको छ ।

कार्कीले कागती खेतीबाट वार्षिक ६ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘सिजनको समयमा पनि कागती एक सय रुपैयाँ किलोभन्दा कममा बिक्री हुँदैन । राम्रो भाउ आउँदा दुई सय पचास रुपैयाँ किलोसम्म पुग्छ ।’

कागतीको फल नबिग्रिने भएकाले बजारमा तत्काल बिक्री नभए पनि अन्य विकल्प उपलब्ध हुने किसानको अनुभव छ । कार्कीका अनुसार, ‘बजारमा नबिके पनि रस, अमिलो वा अचार बनाएर बिक्री गर्न सकिन्छ । त्यसैले यसको बजार सधैंभरि स्थिर रहन्छ ।’

स्थानीय कृषकका अनुसार कागती खेती विस्तारसँगै रामेछापमा नगदेबाली उत्पादनमा नयाँ संभावना देखिएको छ । जिल्लाभर किसानलाई प्राविधिक सहयोग र प्रोत्साहन दिलाउन सके यसलाई व्यावसायिकरुपमा अझ विस्तार गर्न सकिने कृषिविद्हरुले सुझाव दिएका छन् ।