जनता टाइम्स

२० आश्विन २०८२, सोमबार १७:५५

माओवादी सचिवालय बैठक : निर्वाचन ताेकिएकै समयमा हुनुपर्छ 


काठमाडौं, असाेज २० । नेकपा माओवादी केन्द्रको सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको महाविधेशन आयोजक कमिटिको सचिवालय बैठकले अन्तरिम सरकारद्वारा घोषित मितिमै निर्वाचन गराउने पक्षमा सकारात्मक भूमिका खेल्ने निर्णय गरेको छ ।

सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले निर्वाचन गराउने वातावरण बनाउन सम्बन्धित पक्षहरूसँग छलफल गरिने जानकारी दिनुभयाे । ‘घोषित मितिमा निर्वाचन गर्न सकारात्मक भूमिका खेल्नेछौँ, त्यसका लागि सम्बन्धित पक्षसँग छलफल अघि बढाउनेछौ’, उहाँले भन्नुभयाे ।

बैठकले समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्यदिशाबारे सामान्य समीक्षा गरेको प्रवक्ता सापकोटाले बताउनुभयाे। उहाँका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा विस्तार र पार्टी एकता सम्बन्धी विषयमा बैठकमा बृहत् जानकारी गराएउनुभएकाे थियाे । ‘समाजवादी मोर्चालाई विस्तार गर्नेबारे छलफल भइरहेको छ, विचार मिल्ने पक्षसँग पार्टी एकताको सन्दर्भमा पनि सकारात्मक छलफल जारी छ,’ सापकोटाले भन्नुभयाे ।

बैठकमा आगामी दुई दिनपछि पुनः सचिवालय बैठक बस्ने र पार्टीभित्र र बाहिरका विषयहरूमा थप निर्णय लिने तयारी भएको जनाइएको छ ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा माओवादी रहेको बताउनुभयाे । उहाँले घोषित मितिमा चुनाव हुनुपर्ने बताउँदै आफ्नो पार्टी सक्रियतासाथ निर्वाचनमा भाग लिने बताउनुभयाे ।