रामेछाप, असोज २० । बाढीपहिरोका कारण बिपी राजमार्गको रोशीखोला खण्डमा क्षति पुगेपछि आजदेखि तारा एयरले रामेछाप–काठमाडौं हवाई उडान सुरु गरेको छ।
राजमार्ग अवरुद्ध भएपछि आइतबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति रामेछापको बैठकले वैकल्पिक यातायातका रूपमा काठमाडौं–रामेछाप हवाई सेवा सञ्चालन गर्न गृह मन्त्रालयमार्फत नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित एयरलाइन्सहरूलाई अनुरोध गर्ने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार सोमबारदेखि तारा एयरले रामेछापको मन्थली विमानस्थलबाट काठमाडौंका लागि उडान सुरु गरेको हो। अब साप्ताहिक रूपमा मन्थली–काठमाडौं हवाई उडान सञ्चालन हुने भएको छ।
यसअघि पनि बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेका बैठकहरूले पटक–पटक हवाईसेवा सञ्चालनको निर्णय गरेका थिए।
हाल बिपी राजमार्ग अवरुद्ध हुँदा रामेछापबाट काठमाडौं जानका लागि यात्रुहरूलाई पुष्पलाल राजमार्ग हुँदै अरनिको राजमार्ग पार गरेर राजधानी पुग्नु पर्ने बाध्यता बनेको छ।
सडक पूर्णरूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने भएकाले वैकल्पिक हवाईसेवाले यात्रुहरूलाई ठूलो सहजता पुर्याउने अपेक्षा गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्