काठमाडौँ, असाेज २२। नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको’ टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले अहिले राष्ट्रसामु नयाँ चुनौतीहरू थपिँदै गए पनि तिनको सामना गर्नु बाहेक अर्को विकल्प नभएको उल्लेख गर्नुभएको हो ।
उहाँले लेख्नुभएको छ, ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ, राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन् तर सामना गर्नुको विकल्प छैन ।’
महासचिव पोखरेलका अनुसार, मुलुकको राजनीतिक स्थायित्व, आर्थिक उन्नति र राष्ट्रिय हितको संरक्षणका लागि अब सबै देशभक्त शक्ति एकताबद्ध भएर अघि बढ्नु जरुरी छ । उहाँको भनाइमा, विगतका अनुभवले देखाएको जस्तै विभाजन र वैचारिक अस्थिरताले राष्ट्रिय शक्ति कमजोर बनाउने भएकाले अब निर्णायक दिशामा कदम चाल्नुपर्ने आवश्यकता अझ बलियो बनेको छ ।
उहाँले राष्ट्रिय राजनीति अहिले संवेदनशील मोडमा पुगेको बताउँदै नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाभिमान जोगाउन सक्षम राष्ट्रिय शक्ति निर्माण अपरिहार्य भएको धारणा राख्नुभएको छ ।
एमाले महासचिव पोखरेलले विगतका राजनीतिक उतारचढाव, अस्थिरता र बाह्य प्रभावबीच पनि राष्ट्रप्रेमी राजनीतिक शक्तिहरूले संयम र एकताको मार्ग समात्नुपर्ने सन्देश दिनुभएको छ । पाेखरेल निर्णायक राष्ट्रिय शक्तिकाे पक्षमा लगातार पैरवि गर्दै आउनु भएकाे छ ।













प्रतिक्रिया दिनुहोस्