जनता टाइम्स

२२ आश्विन २०८२, बुधबार १२:१२

काेशी प्रदेशका बाढी–पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने कार्य तीव्र


विराटनगर, असोज २२। कोशी प्रदेश सरकारले हालैकाे अविरल वर्षा र बाढी–पहिरोबाट प्रभावित परिवारहरूका लागि राहत सामग्री पठाउने कार्य तीव्र बनाएको छ।

प्रदेश सरकारले हेलिकप्टर र अन्य सवारी साधनमार्फत हिजोदेखि नै राहत सामग्री आपूर्तिको काम सुरु गरेको हो। आज पनि तीन ट्रकभन्दा बढी राहत सामग्री इलामको माइजोगमाई गाउँपालिका, माई नगरपालिका, झापा र आसपासका पहिरो तथा बाढीपीडित क्षेत्रहरूमा पठाइएको प्रदेश सरकारले जनाएको छ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारसँग उपलब्ध सबै सामग्री तीव्र गतिमा प्रभावित क्षेत्रमा पठाइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार उद्धार, राहत र पुनर्निर्माणका कामलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गरेको छ।

यसैबीच, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि राहत तथा पुनर्निर्माण सम्बन्धी बैठकहरू निरन्तर रूपमा राखी सरकारी संयन्त्रलाई सक्रिय रूपमा परिचालन गरिएको बताउनुभएको छ। ‘सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति रकम पठाउने कार्य अघि बढाएको छ,’ मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘स्रोत र साधनले भ्याएसम्म अत्यावश्यक राहत सामग्री निरन्तर पठाइनेछ।’

उहाँका अनुसार, प्रदेशका मन्त्रीहरू आ–आफ्ना जिम्मेवारी क्षेत्रतर्फ खटिइसकेका छन् र फिल्डमै गएर राहत वितरण तथा पुनर्निर्माणका काममा ध्यान दिइरहेका छन्।

प्रदेश सरकारले राहत सामग्री पठाउने कार्यसँगै भत्किएका सडक र अन्य भौतिक संरचनाको पुनर्निर्माणका लागि आवश्यक तयारी पनि सुरु गरेको छ। मुख्यमन्त्री कार्कीले प्रभावित नागरिकहरूलाई तत्काल राहत पुर्‍याउनु अहिलेको मुख्य प्राथमिकता भएको बताउनुभयो।