काठमाडौं, असोज २३ । भदौ २३ र २४ गते काठमाडौंलगायत देशका विभिन्न स्थानमा भएका प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोग, २०८२ ले फौजदारी घटनासँग सम्बन्धी जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाउने निर्णय गरेको छ ।
आयोगले बिहीबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार, मृतक रसिक खतिवडाका बुबा पुरुषोत्तम खतिवडा लगायत चार जनाद्वारा दर्ता गरिएको जाहेरी प्रहरी परिसरमार्फत आयोगमा प्राप्त भएको थियो । सो जाहेरीको विषयमा विस्तृत छलफल गरी आयोगले आफ्नो अधिकार क्षेत्रको भित्र नपर्ने निर्णय गरेको छ ।
आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन लगाउने कार्य यस आयोगको कार्यक्षेत्र भित्र परेको छैन ।’
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले आयोगलाई भाद्र २३ र २४ गतेका घटनाका कारण र प्रभावबारे यथार्थ जाँचबुझ गरी प्रतिवेदन पेस गर्ने, सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र आवश्यक राय दिने कार्यादेश मात्र दिएको हो ।’
त्यसैले, फौजदारी कसुरमा संलग्न जो कोहीमाथि तत्काल अनुसन्धान र कारबाही गर्न नेपाल सरकारका संयन्त्रहरूलाई कानुनी अधिकार भएको भन्दै आयोगले सो सम्बन्धी जाहेरी र कागजात जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाउने निर्णय गरेको जनाएको छ ।
आयोगले यसअघि मिति २०८२ असोज २१ गतेको प्रेस विज्ञप्तिमा पनि फौजदारी अपराधसम्बन्धी अनुसन्धान कार्य आफ्नो कार्यक्षेत्रभन्दा बाहिर रहेको प्रष्ट पार्दै सो सम्बन्धी जाहेरीलाई सम्बन्धित निकायबाटै कानुनी प्रक्रिया अघि बढाउन सकिने जनाएको थियो ।














प्रतिक्रिया दिनुहोस्