जनता टाइम्स

२४ आश्विन २०८२, शुक्रबार १८:३०

राष्ट्रपति भवनसहित सिंहदरबार र सर्वोच्च जलेको एक महिनामा बोल्यो सेना, छिटोभन्दा छिटो पहलकदमी लिएको जिकिर


काठमाडौं, असोज २४ । नेपाली सेनाले जेनजी आन्दोलनमा भएको विध्वंसात्मक कार्य रोक्न सकेसम्म छिटो पहलकदमी लिएको जिकिर गरेको छ ।

आफ्नै परमाधिपति राष्ट्रपति भवनसहित सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवन जल्दा हेरेर बसेको आरोपमा जनताबाट आलोचित बनिरहेको बेला सेनाले एक महिनापछि विज्ञप्तिमार्फत यस्तो प्रष्टीकरण सैनिक जनसम्पर्क निर्देशनालयले शुक्रवार विज्ञप्ति जारी गर्दै सो दिन छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलकदमी लिएको प्रष्ट पारेको हो ।

सेनाले जेनजी आन्दोलनपछिको विषम परिस्थितिलाई सामान्यीकरण गर्न विद्वतवर्ग, समाजसेवी, सञ्चारकर्मी तथा आम नागरिकहरूबाट प्राप्त भएका विभिन्न राय सुझाव तथा समालोचनात्मक अभिव्यक्तिप्रति आभार व्यक्त गरेको छ ।

यस्तै आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढङ्गले मूल्याङ्कन गरी छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको अवगत गराउन चाहन्छौँ भनेको छ । साथै, सेनासँग जोडेर विभिन्न सञ्चारमाध्यममा आएका टीकाटिप्पणीप्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

‘हालको संवेदनशील अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था र नेतृत्वलाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी र धारणाहरू सम्प्रेषण भएकोमा नेपाली सेनाको ध्यानाकर्षण भएको छ,’ सेनाले भनेको छ, ‘नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको तथ्य समेत जानकारी गराउँदछौँ ।’