जनता टाइम्स

२४ आश्विन २०८२, शुक्रबार १८:५५

एमाले सचिवालय बैठकको निश्कर्ष : सरकार तिक्तता-तनाव र मुठभेडतर्फ उद्यत भयो


काठमाडौं, असोज २४ । नेकपा एमालेले शुशिला कार्की नेतृत्वको अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मूठभेडतिर लैजान उद्यत भएको निश्कर्ष निकालेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको डेरा भक्तपुरको गुण्डुमा शुक्रवार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निश्कर्ष निकालेको हो । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले दिनुभएको जानकारीअनुसार बैठकमा सरकारको बेइमानीपूर्ण कामबारे गम्भीर छलफल भएको छ ।

‘गृहमन्त्रीको दवावमा एकातिर प्रहरीलाई कुटीकुटी हत्या गर्ने र हतियार लुट्नेलाई सजिलै छाडिदिने । अर्कोतिर शान्तिपूर्ण प्रदर्शन गर्ने दलहरूलाई रोक्ने, नेताहरूलाई स्थान हद तोक्ने कुराहरूले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्धत छ भन्ने बैठकले ठहर गरेको छ,’ उपमहासचिव ज्ञवालीले भन्नुभयो ।

उहाँले वर्तमान सरकारले गरेका क्रियाकलापबारे पार्टीमा गम्भीर समीक्षा भएको जानकारी पनि दिनुभयो । ‘सबैको निष्कर्ष चाहीँ भदौ २३ गते जेनजी युवाले राखेका आवाज स्वभाविक थिए ।उहाँहरूले पनि आन्दोलन शान्तिपूर्ण हुन्छ, निषेधित क्षेत्र तोड्दैनौं, सामाजिक सञ्जाल सञ्चालन गर्ने मामलामा दबाब सिर्जना गर्छौं भन्नुभएको थियो । तर, निषेधित क्षेत्र तोडेर दुःखको अवस्था बन्यो,’ ज्ञवालीले भन्नुभयो ।

बैठकले जेनजी आन्दोलनको गहिरो छानबिन हुनुपर्ने निश्कर्ष पनि निकालेको छ । भदौ २४ गते जे भयो, त्यो लोकतन्त्र, संविधान र इतिहासप्रतिकै ठूलो आक्रमण भएको एमालेले जनाएको छ ।
‘यो सामान्य घटना होइन । यसको गम्भीरताका साथ छानबिन अघि बढ्नुपर्छ,’ बैठकको निश्कर्ष सुनाउँदै ज्ञवालीले भन्नुभयो । अहिलेको सरकारले गरेका क्रियाकलाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि उहाँको भनाई छ ।

‘यो सरकारले जे क्रियाकलाप गर्दैछ । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । मुलुकलाई विभाजित भएको मनस्थितिलाई जोडेर राष्ट्रिय एकता कायम गर्नुपर्ने थियो । तर, सरकार निषेधको बाटोबाट अघि बढेको छ । हामीले यो सरकार बनायौं भन्नेहरू हिंसाको भाषा बोलिरहेका छन,’ ज्ञवालीले भन्नुभयो । बैठकले मुलुकमा भिडन्त निम्त्याउने कुनै पनि काम नगर्न सरकारलाई चेतावनीसमेत दिएको छ ।