काठमाडौं, असोज २६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले राष्ट्रिय हित र देश विकासका लागि गुटबन्दी र खुट्टा तानातानको प्रवृत्ति अन्त्य गर्न सबै नेपालीहरूलाई आग्रह गर्नुभएको छ।
उहाँले हालको राजनीतिक र सामाजिक परिस्थितिमा आपसी विभाजन र द्वन्द्वले देशलाई फाइदा नभई अझ गम्भीर नोक्सानी पुर्याउने उल्लेख गर्दै एकताको आह्वान गर्नुभएको हो । सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उहाँले राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाइदा होइन, झन् धेरै नोक्सान हुने बताउनुभएकाे छ । ‘त्यसैले अहिलेको परिप्रेक्ष्यमा देश विकास र सार्वभौम सत्ताको रक्षाका लागि गुटबन्दी नगरौँ भन्ने मेरो अनुरोध जेनजी सहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरूलाई हो’, उहाँकाे भनाइ छ ।
उहाँले नेपालको विगतको राजनीतिक इतिहासले गुटबन्दी र आपसी खिचातानीका कारण देशले ठुलो मूल्य चुकाउनुपरेको स्मरण गराउनुभएकाे छ । पुनका अनुसार नाबालक राजा रणबहादुर शाहको पालादेखि सुरु भएको गुटबन्दी र खुट्टा तानातानको प्रवृत्तिले गीर्वाण युद्ध विक्रम र राजेन्द्र विक्रम शाहसम्म पुग्दा चरम रूप लिएको थियो, जसको परिणामस्वरूप नेपाली जनताले १०४ वर्षसम्म निरङ्कुश राणा शासन व्यहोर्नुपर्यो, त्यसपछि पनि राणा शासनभित्रै प्रधान मन्त्री वीरशम्शेरको पालादेखि गुटबन्दी सुरु भई राणा खलक नै ‘क वर्ग, ख वर्ग, ग वर्ग’ मा विभाजित भएको र आपसी खिचातानीका कारण अन्ततः २००७ सालमा जनक्रान्तिद्वारा त्यस शासनको अन्त्य भएको उहाँले उल्लेख गर्नुभएकाे छ ।
उहाँले २००७ सालमा प्रजातन्त्रको घोषणा भए पनि राजनीतिक दलबीचको खुट्टा तानातानका कारण २०१५ सालसम्म संसदीय चुनाव हुन नसकेको स्मरण गराउनुभएकाे छ। त्यसकै परिणामस्वरूप राजा महेन्द्रले आम चुनावपछि गठन भएको बहुमतको सरकार विघटन गरी पञ्चायती व्यवस्था ल्याउन अवसर पाएको उहाँको टिप्पणी छ। ‘त्यो अवसरको सृजना त्यति बेलाका राजनीतिक समूहबीचको गुटबन्दी र खुट्टा तानातानको प्रवृत्तिले गरेको थियो,’ उहाँकाे भनाइ छ ।
पुनले पञ्चायती शासनकालमा समेत आ–आफ्ना गुट बनाएर सत्ताभित्रै संघर्ष गर्ने प्रवृत्ति कायम रहेको उदाहरण प्रस्तुत गर्नु भएकाे छ । ‘त्यो समयमा राजनीतिक दलहरू निषेधित भए पनि सूर्यबहादुर थापा गुट, लोकेन्द्रबहादुर चन्द गुट, मरिचमान सिंह गुटजस्ता समूहहरू आपसमा खुट्टा तानातान गर्थे, राजपरिवारभित्र समेत भूमिगत गिरोहजस्ता गुटहरू सक्रिय थिए, जसका कारण पञ्चायती व्यवस्था कमजोर भई २०४६ सालको जनआन्दोलनमा ढल्यो’, उहाँले स्मरण गराउनुभएकाे छ ।
उहाँले लोकतन्त्र पुनःस्थापनापछि पनि राजनीतिक दलहरूबीचको आन्तरिक गुटबन्दी र असहमतिका कारण देशमा सुशासन स्थापना हुन नसकेको र त्यसकै प्रतिक्रियास्वरूप अहिलेको जेनजी आन्दोलन उत्पन्न भएको उल्लेख गर्नुभएकाे छ । ‘जेनजी आन्दोलनको सुरुवात युवाहरूले गरेका हुन् तर त्यसमा आम जनताले साथ दिएका छन्, जनता चरम भ्रष्टाचार र राजनीतिक गुटबन्दीका कारण देश बर्बाद हुँदै गएको देखेर आक्रोशित भएका छन्’, उहाँले सम्झाउनु भएकाे छ ।
उहाँले जेनजी पुस्तामाझ पनि गुटबन्दी र खुट्टा तानातानको प्रवृत्ति देखिन थालेको उल्लेख गर्दै सचेत रहन आग्रह गर्नुभएकाे छ। ‘तपाईंहरू देशमा सुशासन ल्याउन, भ्रष्टाचार अन्त्य गर्न र नेपाललाई समृद्ध बनाउन चाहनुहुन्छ भने तपाईंहरूबीच एकताको अत्यन्त खाँचो छ,’ उहाँको भनाइ छ।
पुनले मातृभूमिको अस्तित्व र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न सबैले गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहोर्याउन अनुरोध गर्नुभएकाे छ । ‘नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहोर्याउनुहोस्,’ उहाँले लेख्नुभएको छ, ‘यो देश हामी सबैको साझा घर हो, यसलाई कमजोर पार्ने होइन, सुदृढ पार्ने हाम्रो कर्तव्य हो।’













प्रतिक्रिया दिनुहोस्