रामेछाप, असाेज २६ । रामेछाप र दोलखाको उत्तरी क्षेत्र शैलुङका किसान अहिले व्यस्त छन् । अति उब्जाउ भूमि रहेको शैलुङमा अहिले बेसिजनका तरकारी बालीहरू लोभलाग्दा बनेका छन् । बारी, घरअगाडि, पेटीदेखि सडकसम्म जताततै हरिया तरकारीका दृश्यले गाउँ झकिझकाउ छ ।
स्थानीय किसान दावासाङ्बु शेर्पाका अनुसार अहिले किसानले लगाएका सबै बाली बिक्रीको अवस्थामा पुगेका छन् । ‘काउली, बन्दा, गाजर, मुला र केराउजस्ता बालीको राम्रै उत्पादन भएको छ । एक सिजनमा किसानले चार/पाँच लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने अवस्था बनेको छ,’ उहाँले भन्नुभयो ।
किसानको बारीमै पुगेर व्यापारीहरूले तरकारी किन्ने परम्परा अहिले पनि यथावत् छ । ‘आलुदेखि अन्य सबै तरकारी बारीमै बिक्री हुन्छ । यस वर्ष असोजमा परेको अविरल वर्षाले सडकमा क्षति पुर्याएकाले बजारसम्म तरकारी पुर्याउन मुस्किल परेको छ,’ शेर्पाले बताउनुभयो ।
शैलुङका किसानहरूले उत्पादन गरेका तरकारीको मुख्य बजार काठमाडौंको कालीमाटी हो । त्यसबाहेक नजिकका स्थानीय बजारहरूमा पनि बिक्री हुने गरेको छ । तर, केही दिनअघि बिपी राजमार्ग बन्द हुँदा किसानलाई तरकारी काठमाडौं पुर्याउन ठूलो समस्या भएको थियो ।
हाल मुढे–शैलुङ सडकको मर्मतपछि केही किसानले सो बाटो प्रयोग गरी तरकारी काठमाडौंसम्म पठाएका छन् । अब बिपी राजमार्ग पुनः सञ्चालनमा आएपछि किसानहरूलाई आफ्नो उत्पादन बजार पुर्याउन सहज भएको छ ।













प्रतिक्रिया दिनुहोस्