जनता टाइम्स

२९ आश्विन २०८२, बुधबार १०:२७

२७ औँ भुजी लिग फुटबलको फाइनल आज: लिभुरा र बाम्ती भण्डार आमनेसामने हुँदै


रामेछाप, असोज २९ । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भूजीमा सञ्चालित २७ औँ भुजी लिग फुटबल प्रतियोगिता–२०८२ को फाइनल खेल आज दिउँसो १ बजेपछि हुने भएको छ ।

अमृत घामछाया खेल मैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको उपाधि भिडन्त रामेछापकै दुई टिम लिखु भुजी युवा क्लब रामेछाप (लिभुरा) र बाम्ती भण्डारबीच हुने भएको हो ।

नौवटा टिमको सहभागिता रहेको यस वर्षको लिगमा रामेछापका यी दुई टिमले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएका हुन् । प्रतियोगिताको विजेता टोलीले १ लाख २७ हजार ७ सय २७ रुपैयाँ नगद, स्वर्ण पदक र रनिङ शिल्ड प्राप्त गर्नेछ । उपविजेता टोलीलाई ६७ हजार ७ सय २७ रुपैयाँ नगद र रजत पदक प्रदान गरिने भुजी फुटबल क्लबका अध्यक्ष शुभराज सुनुवारले जानकारी दिनुभयो ।

सुनुवारको अध्यक्षतामा गत शुक्रबार उद्घाटन गरिएको प्रतियोगिताको उद्घाटन उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले गर्नुभएको थियो । उद्घाटन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिता अर्याल, वडा अध्यक्षहरू, खेलकुद विकास संयोजक सुदीप सुनुवार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, खेलाडी तथा स्थानीयवासीहरूको उपस्थिति थियो ।

अध्यक्ष सुनुवारका अनुसार भुजी लिग फुटबल स्थानीयस्तरमै खेलकुदको पहिचान स्थापना गर्ने माध्यम बनेको छ । ‘यो प्रतियोगिता यहाँको गौरव बनिसकेको छ, यसले युवामा खेलप्रति लगाव र एकता बढाएको छ,’ उहाँले बताउनुभयो ।

स्थानीयवासीहरूका अनुसार भुजी लिग फुटबल केवल खेल प्रतियोगिता मात्र नभई लिखु क्षेत्रको सामाजिक र सांस्कृतिक उत्सवका रूपमा समेत विकसित भइसकेको छ । हरेक वर्ष असोज महिनामा आयोजना हुँदै आएको यो प्रतियोगिताले स्थानीय युवा प्रतिभा पहिचान गर्न, गाउँबीचको आपसी एकता बलियो बनाउन र खेलकुदलाई समुदायमा विस्तार गर्न उल्लेखनीय योगदान पुर्‍याएको छ ।

भुजी फुटबल मैदानमा अहिले फाइनल खेलको तयारी भइरहेकाे छ । स्थानीय क्लबका स्वयंसेवकहरू मैदान र वरपरको व्यवस्थापनमा व्यस्त छन् भने दर्शकहरूमा पनि फाइनलको प्रतिक्षा उत्साहका साथ भइरहेको छ ।