जनता टाइम्स

३१ आश्विन २०८२, शुक्रबार ०९:४१

ध्वनि प्रदूषण र स्वरूप परिवर्तन गर्ने ३०४ मोटरसाइकल नियन्त्रणमा


काठमाडौं, असोज ३१। मोटरसाइकलको स्वरूप परिवर्तन गरी अनावश्यक ध्वनि प्रदूषण फैलाउने, समाजमा शान्ति–सुव्यवस्था भङ्ग गर्ने गतिविधिमा संलग्न सवारी साधनहरू विरुद्ध प्रहरीले अभियान सुरु गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट २ सय वटा मोटरसाइकल, र जिल्ला प्रहरी कार्यालय कास्कीले १ सय ४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो समय मोटरसाइकलका साइलेन्सर, मफलर, हेडलाइट र अन्य पार्टपुर्जामा अवैधानिक परिवर्तन गरी तीव्र गतिमा सवारी चलाउने, सडकमै हुलहुज्जत गर्ने र ठूलो आवाज निकाल्ने प्रवृत्ति बढ्दै गएको छ। यसले  ध्वनि प्रदूषण मात्र नबढाएर सर्वसाधारणको शान्तिपूर्ण आवागमनमा समेत बाधा पुर्‍याएको जनाइएको छ।

प्रहरीले यस्तो अवैधानिक गतिविधि नियन्त्रणका लागि ‘विशेष निगरानी र कारबाही अभियान’ सञ्चालन गरिएको हो। सार्वजनिक सडकमा हुलहुज्जत गर्दै साइलेन्सर परिवर्तन गर्ने, अत्यधिक आवाज निकाल्ने, र ट्राफिक नियमको अवहेलना गर्ने मोटरसाइकललाई कडाइका साथ नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ । नियन्त्रणमा परेका मोटरसाइकलमा अनधिकृत रूपमा स्वरूप परिवर्तन गरिएको, अनुमतिबिना पार्टपुर्जा फेरेर इन्जिनको ध्वनि र स्वरूप परिवर्तन गरिएको भेटिएको प्रहरीले जनाएको छ।

त्यस्ता मोटरसाइकलका चालकहरूविरुद्ध ट्राफिक ऐन र मोटर वाहन व्यवस्थापनसम्बन्धी प्रचलित कानुनअनुसार कारबाही सुरु गरिएको छ। प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनहरू परीक्षण गरी प्राविधिक मापदण्ड पूरा नगर्नेहरूलाई जरिवाना, सवारी चालक अनुमतिपत्र निलम्बनदेखि कानुनी कारबाहीसमेत गर्ने तयारी भइरहेको छ।

प्रहरीका अनुसार काठमाडौं उपत्यका र पोखरामा सञ्चालन गरिएको यो अभियान निरन्तर जारी रहनेछ। ध्वनि प्रदूषण नियन्त्रण, दुर्घटना न्यूनिकरण र सडकमा अनुशासन कायम गर्न प्रहरीले जनसहभागिता र नागरिक सतर्कता आवश्यक रहेको उल्लेख गरेको छ।