काठमाडौँ, असाेज ३१। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई पर्याप्त श्रोत, साधन उपलब्ध नभए आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन गराउने कार्य प्रभावित हुनेमा सरकार सतर्क रहेको बताउनुभएकाे छ।
शुक्रबार ७० औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उहाँले प्रहरीलाई साधन, श्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्ने बताउनुभयाे।
उहाँले सरकारले प्रहरीलाई श्रोत, साधन उपलब्ध गराउन तत्काल आवश्यक कदम अघि बढाउने बताउनुभयाे। नेपाल प्रहरी कानुन कार्यान्वयनमा अग्र पङ्क्तिमा रहने र सरकारप्रतिको धारणा र प्रतिक्रियामा समेत निशानामा पर्ने सङ्गठन रहेको बताउनुभयाे । गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शन र आन्दोलन यसैको प्रतिबिम्ब भएको अर्यालले जिकिर गर्नुभयाे ।
जेनजी आन्दोलनका क्रममा प्रहरीका सांगठनिकदेखि व्यक्तिगत सामानहरु पनि लुटपाट र आगजनी भएको र श्रोत साधनको अभाव रहेको प्रहरी संगठनका साथै आम नागरिकमा समेत यसको प्रत्यक्ष प्रभाव परेको उहाँले बताउनुभयाे । गृहमन्त्री अर्यालले बढ्दो प्रविधिसँगै नयाँ प्रकृतिका अपराधका गतिविधि मौलाएको बताउनुभयाे । यसले अपराध अनुसन्धान कार्य थप चुनौतिपूर्ण बन्दै गएको उहाँकाे भनाइ छ । नेपाल प्रहरीलाई साधन, श्रोतले सुसज्जित बनाइ देश र नागरिक सुरक्षा सुदृढ बनाउनु गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको उताउनुभयाे ।













प्रतिक्रिया दिनुहोस्