जनता टाइम्स

३ कार्तिक २०८२, सोमबार १४:१९

मन्थली बजारमा तिहारकाे सामान किन्नेकाे राैनक


रामेछाप, कात्तिक ३ । तिहार भित्रिँदा रामेछापको सदरमुकाम मन्थली बजारमा किनमेल गर्नेहरूको भीड बढेको छ। दीपावली र भाइटिकाको तयारीका लागि बजारमा बिहानदेखि ग्राहकहरूको चहलपहल देखिएको छ।

मन्थलीसहित रामेछापका अन्य बजार केन्द्रहरूमा पनि तिहारका सामान किनमेल गर्नेहरूको भीड देखिएकाे छ। बजारका पसल र फुटपाथमा दियो, मैनबत्ति, रंगोलीका रङ, माला, अबिर, फूल, मिठाई र कपडाका पसलहरूमा ग्राहकहरूको भीड लागेको देखिन्छ।

विशेष गरी महिला र युवतीहरू तिहारका सामग्री किनमेलमा व्यस्त छन्। कतिपयले घर सजावटका लागि रंगोलीका रङ्ग, झिलिमिली बत्ती र कृत्रिम फूलहरू किन्दै छन् भने कतिपयले देउसी–भैलोकाे तयारीमा आवश्यक सामग्री खरिद गरिरहेका छन्।

तिहार नजिकिँदै गर्दा घरघरमा सरसफाइ, रंगोली सजावट र बत्ती झिलिमिली गर्ने तयारी पनि तीव्र बनेको छ। दशैँपछि केही सुस्ताएको बजार तिहार लागेसँगै पुनः फस्टाएको व्यापारीहरूले बताएका छन्।

स्थानीय प्रशासनले भने चाडपर्वका बेला शान्ति–सुरक्षा र बजार अनुगमनमा कडाइ गरिएकाे जनाएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार तिहारको समयमा अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको छ। प्रहरीका अनुसार राति ढिलोसम्म देउसी–भैलो नखेल्न तथा पटकका लगायतका प्रज्वलनशील पदार्थ नपड्काउन अनुरोध गरिएको छ।

व्यापारीहरूका अनुसार तिहार नजिकिँदै गर्दा बजारको कारोबार उल्लेख्य रूपमा बढेको छ। उनीहरूका अनुसार दीपावलीका दियो, बत्ती र मिठाईको बिक्री गत वर्षको तुलनामा यस वर्ष अझ बढी हुने अनुमान गरिएको छ।