जनता टाइम्स

४ कार्तिक २०८२, मंगलवार ०८:१९

लुटिएका हतियार गृहमन्त्री अर्यालले नै लुकाएको कांग्रेस नेता शाहीको आशंका


काठमाडौं, ४ कातिक ।  नेपाली कांग्रेसका नेता तथा तरुण दलका पूर्वमहामन्त्री भुपेन्द्रजंग शाहीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार गृहमन्त्री ओमप्रकाश अर्यालले नै लुकाएको आरोप लगाउनुभएको छ । गृहमन्त्रीले लुटिएका हतियार र भागेका कैदीबन्दी प्रयोग नगर्ने भनी राजनीतिक दलबाट प्रतिबद्धता आउनुपर्ने अभिव्यक्ति दिएको आपत्ति जनाउँदै शाहीले यो आरोप लगाउनुभएको हो । उहाँले गृहमन्त्री अफवाह फैलाउने र सत्ता लम्ब्याउने चालबाजीमा रहेको दाबी गनूभयो । शाहीले वक्तव्य जारी गर्दै भन्नुभयो –लुटिएका हतियार ओमप्रकाश अर्यालले नै लुकाएको आशंका उत्पन्न भएको छ। जेन–जी आन्दोलनका क्रममा अराजक र उग्र अभिव्यक्ति दिएर युवालाई भड्काउने र आगजनी गर्न उक्साउने व्यक्ति नै गृहमन्त्री बन्नु र लुटिएका हतियार राजनीतिक दलले जिम्मा लिनुपर्छ भन्ने अफवाह फैलाउनुले यो आशंका बलियो बनाएको छ। गृहमन्त्रीले बारम्बार आफैँ अराजक अभिव्यक्ति दिँदै, हिंसा भड्काउने र समाजलाई उत्तेजित पार्ने खालका भाषण गरेर निर्वाचनको वातावरण बिगारिरहेको आरोप उहाँले लगाउनुभएको छ । गृहमन्त्रीको महत्त्वपूर्ण जिम्मेवारीमा बसेर आधिकारिक सूचनाबिना मान्छे भड्काउने हिसाबले नेताहरू भागे भनेर भ्रामक अभिव्यक्ति दिइरहेको आरोप उनको छ ।