जनता टाइम्स

४ कार्तिक २०८२, मंगलवार १२:०५

महेश बर्ताैलाकाे निष्कर्ष : गृहमन्त्री अर्याल नै शान्ति, सुरक्षा र निर्वाचनका मुख्य चुनौती


काठमाडौं, कात्तिक ४। नेकपा (एमाले) का नेता महेश बर्तौलाले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका ओमप्रकाश अर्यालले नै देशको शान्ति, सुरक्षा र आगामी निर्वाचन प्रक्रियामा मुख्य चुनौती सिर्जना गरिरहेको बताउनुभएको छ । देशभर बढ्दै गएको अराजकता, हिंसा र अस्थिरताका घटनाको जरो गृह मन्त्रालयकै नेतृत्वमा रहेको उहाँको दाबी छ ।

नेता बर्तौलाले सामाजिक सञ्जाल फेसबुक मार्फत लेख्नु भएको छ, ‘यदि निष्पक्ष छानबिन र अनुसन्धान गरिने हो भने जेन जेड (Gen Z) युवाहरूको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी विध्वंस मच्चाउने नर्सरीका मुख्य माली नै गृहमन्त्री अर्याल हुनुहुन्छ भन्ने निष्कर्ष निस्कनेछ।’

अर्याल अहिलेसम्म पनि ‘ईर्ष्या, डाह, कुण्ठा र आक्रोश’ जस्ता व्यक्तिगत मानसिकताबाट मुक्त हुन नसेकेको कारण देशको आन्तरिक सुरक्षामा आवश्यक जिम्मेवारी पूरा हुन नसकेको बर्ताैलाकाे ठहर छ। ‘गृहमन्त्रीले लुटिएका हतियारहरू फिर्ता खोज्ने प्रयास गर्नुभएको छैन, सुरक्षाकर्मीहरूको दबिएको मनोबल उठाउने चासो देखाउनुभएको छैन, भागेका कैदीबन्दीहरू कहाँ छन् भन्नेमा पनि ध्यान दिनुभएको छैन, हरेक दिन जसो हत्या र हिंसाका घटना भइरहेका छन्, तर उहाँले त्यसमा चिन्ता प्रकट गर्नुभएको देखिँदैन’, बर्ताैलाले लेख्नु भएको छ ।

नेता बर्तौलाका अनुसार गृहमन्त्री अर्यालले शान्ति र स्थिरताको सट्टा देशमा अस्थिरता र उत्तेजना सिर्जना हुने कार्यलाई प्रवर्द्धन गरिरहनु भएको छ। उहाँले लेख्नु भएको छ, ‘गृहमन्त्री अर्यालले पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, शीर्ष नेताहरू र राजनीतिक दलहरूलाई भड्काउने, उत्तेजित पार्ने र अस्थिरता बढाउने अभिव्यक्ति दिइरहनुभएको छ।’

बर्तौलाले गृहमन्त्री अर्यालमाथि फागुन २१ गतेका लागि तोकिएको निर्वाचन प्रक्रियालाई अवरुद्ध गर्न ‘अराजकता र अशान्ति बढाउने रणनीति’ अपनाउनुभएको उल्ले गर्नु भएको छ। उहाँका भनाइमा, ‘गृहमन्त्रीज्यूले बुझ्नुभएको छ- यस्तै तरिकाले अघि बढेमा मात्रै आगामी निर्वाचनको कार्यादेश टार्न सकिन्छ र आफ्नो पदमा थप समय बसिरहन सकिन्छ।’

नेता बर्तौलाले गृहमन्त्री अर्याल जनादेशबाट होइन, ‘षड्यन्त्रकारी शक्तिहरूको मिलीभगतबाट’ पदमा पुग्नुभएको दाबी गर्नुभएको छ। उहाँका अनुसार गृहमन्त्री अर्यालले जेन जेड युवाहरूको भावना र आकाङ्क्षा माथि धोका दिँदै शान्तिपूर्ण आन्दोलनलाई बदनाम गर्ने भूमिका खेल्नुभएको हो।

बर्तौलाले अर्यालको पेसागत पृष्ठभूमि उल्लेख गर्दै लेख्नु भएको छ, ‘गृहमन्त्री अर्यालज्यू गोरु वधको पक्षमा वकालत गर्नुभएको लाइसेन्स प्राप्त वकिल समेत हुनुहुन्छ, जसले समाजमा धार्मिक अशान्ति निम्त्याउने प्रयास गर्नुभएको छ।’

बर्ताैलाले वडा सदस्यसम्म नभएका अर्याल जनादेश, संविधान र जनता प्रति उत्तरदायी नरहेको  बताउनुभएको छ । ‘गृहमन्त्री अर्याल जनता वा देश होइन, केवल आफ्नै निजी स्वार्थ र राजनीतिक षड्यन्त्रप्रति मात्र उत्तरदायी हुनुभएको छ,’ नेता बर्तौलाको भनाइ छ।

उहाँले जनताको भरोसा बोक्ने नेतृत्वले सधैँ जनादेशको सम्मान गर्ने र नियमित निर्वाचन प्रक्रियाप्रति विश्वास गर्ने उल्लेख गर्नु भएको छ। ‘जनता प्रति भरोसा हुनेहरूले सदैव जनदेशलाई सम्मान गर्छन्, तर जनता प्रति भरोसा नभएकाहरू आतङ्क, विध्वंस र विनाशमा मात्रै विश्वास गर्छन्,’ उहाँको भनाइ छ।

 

नेता बर्तौलाले गृहमन्त्री अर्याललाई ‘झुट, षड्यन्त्र र अराजक प्रवृत्तिको प्रतीक’का रूपमा चित्रण गर्दै देशमा शान्ति र स्थिरता कायम गर्न उहाँले तत्काल आफ्नो जिम्मेवारीबाट अवकाश लिनु उचित हुने टिप्पणी गर्नुभएको छ।

यस्तो छ उहाँको स्ट्याटस 

‘मुलुकमा शान्ति सुरक्षा र निर्वाचनको मुख्य चुनौती नै गृहमन्त्री अर्याल हुन्’ :-
यदि सक्कली छानबिन र अनुसन्धान गर्ने हो भने जेन जी युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा व्यापक घुसपैठ गरी विध्वंस मच्चाउने नर्सरीका मुख्य माली नै गृहमन्त्री अर्याल रहेको निष्कर्ष निस्कनेछ । यिनी अहिलेसम्म पनि ईर्ष्या, डाह, कुण्ठा र आक्रोश भन्दा बाहिर निस्कनै सकिरहेका छैनन् । उनी लुटिएका हतियारहरू खोज्दैनन्, प्रहरी को दबेको मनोबल उठाउने प्रयत्नै गर्दैनन्, भागेका कैद बन्दीहरू कहाँ छन् चासो नै राख्दैनन् , हरेक दिन जसो हत्या र हिंसाको घटना घटिरहेका छन् यसमा फिटिक्कै चिन्ता छैन बरु शान्ति र स्थिरता भङ्ग गरेर मुलुकमा हिंसा , अराजकता र अस्थिरताको प्रवर्धन का लागी पूर्वप्रधानमन्त्री , पूर्वमन्त्री, शीर्ष नेताहरू र राजनीतिक दलहरूलाई भड्काउन , उत्तेजित बनाउन , इरिटेसन गर्न हरसम्भव बेलगाम झुटा अभिव्यक्ति र घातक क्रियाकलापहरू गरिरहेका छन् । उनले बुझेका छन् कि यस्तै तरिकाले अघि बढेमा मात्रै फागुन २१ को निर्वाचन गराउने कार्यादेश टार्न सकिन्छ र कथित गृहमन्त्रीको कुर्सीमा थप बसिरहन सकिन्छ । किनकि यिनी जनादेशबाट त्यस जिम्मेवरिमा पुगेका होइनन्, जेन जी युवाहरूको भावना र आकाङ्क्षा माथि धोका दिँदै झुक्क्याएर षडयन्त्रकारीहरू सँगको मिलीभगतमा गृहमन्त्री भएका हुन । उनी गौ वधको पक्षमा वकालत गरेर समाजमा धार्मिक अशान्ति निम्त्याउन जोडबल लगाउने लाइसेन्सवाला वकिल पनि हुन । वडा सदस्य समेत नभएका उनिलाई न त जनादेश प्रति उत्तरदायी हुनु छ , न त देश प्रति उत्तरदायी हुनु छ , न त संविधान प्रति या न त जनता नै प्रति । उनलाई त केवल षडयन्त्र प्रति र आफ्नै निजी स्वार्थ प्रति मात्रै उत्तरदायी भए पुग्छ । जनता प्रति भरोसा बोक्नेहरूले जहिल्यै पनि जनदेशलाई सम्मान गर्दछ र शान्तिपूर्ण आवधिक निर्वाचन प्रति विश्वास गर्दछ। तर जनता प्रति भरोसा नभएकाहरूले जैलेसुकै आतङ्क , विध्वंस र विनाश प्रति मात्रै विश्वास गर्दछ र झुट तथा षडयन्त्रको को सहारा लिने गर्दछ । जुन गृहमन्त्री अर्याल ले गरिरहेका छन्।