दोलखा, कात्तिक ४ । दोलखाको भीमेश्वर नगरपालिका–९ स्यासीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
ग २ च ३४०० नम्बरको जिप आज ब्रेक फेल भएर सडकको भित्तामा ठक्कर खाँदा दुर्घटना भएको हो। जिपमा सात जना सवार रहेका थिए।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमलसिनाका अनुसार दुर्घटनामा स्यासीकी ४० वर्षीया गोमा भुजेल, ५२ वर्षीय महेन्द्रबहादुर श्रेष्ठ, ५२ वर्षीया कृष्णकुमारी श्रेष्ठ र ४८ वर्षीया गंगाकुमारी श्रेष्ठ घाइते भएका छन् । ‘चारै जना घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ,’ तिमलसिनाले जानकारी दिनुभयो। उहाँका अनुसार गोमा भुजेलको अवस्था गम्भीर रहेको छ।
घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि च्छो–रोल्पा अस्पताल चरिकोटमा लगिएको र गम्भीर घाइते भुजेललाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्