काठमाडौँ, कात्तिक ७। रुकुम पश्चिमको मुसिकोट खलङ्गाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
रा १ ज ४२२ नम्बरको बोलेरो जिप बाँफिकोट गाउँपालिका–७ लिस्ने भिरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार जिप सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ।
प्रहरी र सर्वसाधारणले ७ जनाको शव उद्धार गरी सडक किनारमा राखेको र १० जनालाई उपचारका लागि अस्पताल पठाएको सूचना दिएका छन्।
मृतकहरूमा कमला ओली (३०), टेकजंग बुढा (१६), दिलमाया बुढा (१५), मनिका ओली (१७), शर्मिला वि.क. (१८) र गोपाल ओली (२२) को पहिचान खुलेको छ । एकजनाको पहिचान खुल्न बाँकी छ।
प्रहरीका अनुसार जिपमा कति जना सवार थिए भन्ने विषय पनि स्पष्ट भएको छैन। घटनास्थल खलङ्गाबाट करिब ३५ किलोमिटर टाढा पर्छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्