काठमाडौं, कात्तिक ९। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

प्रधानमन्त्री कार्कीको सिफारिसमा डा. सुधा गौतम र बब्लु गुप्ता मन्त्री नियुक्त हुनुभएको छ। उहाँहरूमध्ये डा. गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त हुनुभएको हो।

यसअघि गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था तथा सहकारी मन्त्री र खगेन्द्र सुनारलाई श्रम तथा रोजगार मन्त्री बनाउने निर्णय भएको थियो। तर, सुनार र श्रेष्ठकाे विषयमा चर्को आलोचना उठेपछि उहाँहरुकाे नाम अन्तिम सूचीबाट हटाइएको हाे ।
सुनार दुईवटा मुद्दामा फरार अभियुक्त रहेको र धेरै अपराधमा संलग्न देखिएपछि कार्की मन्त्री बनाउनबाट पछि हट्नु भएकाे हाे । त्यस्तै श्रेष्ठको भूमिसम्बन्धी मुद्दा विचाराधिन रहेकोले उहाँ पनि अन्तिम समयमा आएर मन्त्री बन्न पाउनु भएन ।
नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो। शपथपछि प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारसँगै सरकारको कामकाज अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको बताइन्छ।












प्रतिक्रिया दिनुहोस्