काठमाडौं, कात्तिक १० । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले इतिहासकै सबैभन्दा प्रतिकूल अवस्थामा रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको ७३ औँ स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै खड्काले वर्षौँका बलिदान र सङ्घर्षले स्थापना भएको लोकतान्त्रिक गणतन्त्रको संविधान अहिले गम्भीर संकटमा रहेको बताउनुभयो । भदौ २३ गते युवाहरूको शान्तिपूर्ण आन्दोलनले हिंसात्मक रूप लिँदा देशको प्रशासनिक संरचना लगायतका ऐतिहासिक संरचनाहरूलाई समेत खराइन बनाइएको खड्काले बताउनुभयो । ‘जेनजी युवाहरूको शान्तिपूर्ण आन्दोलनलाई हाइज्याक गरेर देशलाई अत्यन्त प्रतिकूल अवस्थामा पुर्याइयो’, उहाँले भन्नुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलको जिम्मेवारीपूर्ण भूमिकाको कारण बालबाल संविधान बचाउने काम गर्नुभएको खड्काले बताउनुभयो । उहाँको लोकतन्त्र प्रतिको निष्ठा र लामो अनुभवले मात्र यो सम्भव भएको खड्काको धारणा छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा दम्पतीको प्राण लिने गरी बरबर आक्रमण भएको , कांग्रेस नेताहरूको घर खरानी बनाइएको बताउँदै उहाँले यो बेला जुझारु र अनुशासित भएर नेपाली नागरिकको रक्षको लागि युवा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
विगतमा भएका कमजोरी सच्याउँदै नेपाली कांग्रेस देश र संविधानको रक्षाको लागि एकताबद्ध भएर अघि बढ्ने खड्काले बताउनुभयो । देश भदौ २३ र २४ को अवस्थामा पुग्न कहाँ कहाँ कुन कमजोरीले काम गर्यो त्यसको पहिचान गरी त्यसलाई सच्याएर नेपाली कांग्रेस अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो । प्रतिकूलतालाई अनुकूलतामा बदल्ने भरोसाको पार्टी नेपाली कांग्रेसलाई बनाउने गरी लाग्ने खड्काले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्