काठमाडौं, कात्तिक १० । नेकपा (एमाले) पोलिटब्युरो सदस्य सूर्य थापाले जनताको शक्ति र आन्दोलनको बलमा प्रतिनिधि सभा पुनः स्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ ।
नेकपा (एमाले) अर्घाखाँचीले सोमबार आयोजना गरेको बृहत् सद्भाव र्यालीपछि सन्धिखर्कमा सम्पन्न कोणसभालाई सम्बोधन गर्दै उहाँले नेकपा एमाले प्रतिनिधि सभा पुनर्थापनाकाे पक्षमा रहेको बताउनुभयो । ‘हामीले दुईवटा निर्णय गरेका छौँ- पहिलो, प्रतिक्रान्तिलाई परास्त गर्न जनआन्दोलन र जनशक्तिको बलमा प्रतिनिधि सभा पुनः स्थापना गर्ने, दोस्रो, जनताको शक्तिको बलमा संविधानलाई पुनः लयमा फर्काएर यो देशलाई जनताद्वारा बनाइएको संविधानबाट शासित बनाउने ।’
उहाँले अहिलेको राजनीतिक परिस्थिति अस्थिर र अराजक भएको उल्लेख गर्दै संविधानले नचिनेका र जनताले नचिनेका व्यक्तिहरू प्रधानमन्त्री र मन्त्री बनेको बताउनुभयो ।‘यो रुल अफ ल होइन, यो हुल अफ ल हो,’ उहाँले भन्नुभयो, ‘हुल अफ ल मुर्दावाद, हामी कानुनी शासनको पक्षमा छौँ’, उहाँले भन्नुभयो ।

कार्यक्रम नेकपा (एमाले) अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य बोमबहादुर विश्वकर्माले सम्बोधन गर्दै देशमा शान्ति, स्थिरता र कानुनी शासनको अभाव रहेको बताउनुभयो । उहाँले भदौ २३ र २४ गते जेन–जी आन्दोलनको नाममा अराजकता फैलाउने काम भएको भन्दै असंवैधानिक सरकारले जनताको अधिकारमा खेलबाड गरेको आरोप लगाउनुभयो ।
विश्वकर्माले भन्नुभयो,‘निर्वाचन आयोगले फागुन २१ गतेका लागि निर्वाचन मिति घोषणा गरिसकेको छ, हाम्रो पार्टी फेरि उठ्नेछ, फेरि जित्नेछ तर, शान्ति र सुरक्षाको प्रत्याभूति नहुँदासम्म स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्भव छैन ।’
संविधानको रक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि निकालिएको उक्त बृहत् सद्भाव र्यालीमा जिल्लाका विभिन्न स्थानीय तहहरूबाट नेता, जनप्रतिनिधि, कार्यकर्ता, महिला, युवा, विद्यार्थी र शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्