काठमाडौं, कात्तिक १२। जेन–जी आन्दोलनका नाममा तोडफोड र आगजनीबाट क्षति पुगेको नेकपा (एमाले) केन्द्रीय कार्यालयको पुनर्निर्माण विदेशमा रहेका नेपाली युवाहरूले गर्ने भएका छन्।
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीले भवन पुनर्निर्माण लागि करिब १० करोड रुपैयाँ लाग्ने अनुमान भएको जानकारी दिनुभएको र सो लागत विदेशमा रहेका नेपाली युवाहरूले नै जुटाउने प्रतिबद्धता जनाएका हुन्।
डा. अधिकारीका भनाइअनुसार, पार्टीले जलेकै भवनलाई पुनर्निर्माण गरी पुनः पार्टी कार्यालयको रूपमा सञ्चालन गर्ने निर्णय गरेसँगै विभिन्न देशमा रहेका युवाहरूले फोन गरी ‘कार्यालय हामी बनाइदिन्छौ’ भन्ने इच्छा र प्रतिबद्धता व्यक्त गरेका हुन्। उहाँले विदेशमा रहेका युवाहरूको यस भावनालाई ‘देशभक्ति र पार्टीप्रतिको समर्पणको प्रेरणादायी उदाहरण’का रूपमा प्रशंसा गर्नुभएको छ।
पोलिटब्युरो सदस्य बस्नेतका अनुसार विदेशमा रहेका युवाहरूले स्वैच्छिक योगदान र सहयोग सङ्कलनमार्फत पार्टी कार्यालय पुनर्निर्माण सहभागी हुने तयारी गरिरहेका छन्। उहाँले युवाहरूको यो उत्साह एमालेको संगठनप्रतिको आस्था र राष्ट्रिय भावना दुवैको परिचायक भएको बताउनुभयो। ‘देशभित्र र बाहिर रहेका युवा कार्यकर्ताहरूले देशको स्वाभिमान र संगठनको गौरव जोगाउन अग्रसर हुनुभएको छ, यो एमालेप्रति मात्र होइन, मुलुकप्रतिको जिम्मेवारीबोधको उदाहरण पनि हो’, उहाँले भन्नुभयो ।

जेनजी आन्दोलनको नाममा तोडफोड र आगजनी भएको एमाले केन्द्रीय कार्यालय मर्मतको काम सुरु भइसकेको छ । अहिले कार्यालय परिसमा पाल राखेर पार्टी केन्द्रीय कार्यालयको नियमित काम सञ्चालन भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्