जनता टाइम्स

१२ कार्तिक २०८२, बुधबार १४:४०

याे सरकारले चुनाव गराउन सक्छ कि सक्दैन भन्ने आशंका पैदा भएकाे छ : माधवकुमार नेपाल 


काठमाडौं, कात्तिक १२। एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अब देश चुनावमा जाने बाहेक विकल्प नभएको बताउनुभएकाे छ ।

बुधबार काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजनीतिक गतिरोधको अन्त्यका लागि अब चुनाव नै अन्तिम बाटो रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “अब चुनावमा जाने बाहेक विकल्प छैन, तर प्रश्न यो हो- चुनाव सम्भव होला ? यो सरकारले चुनाव गराउन सक्छ ?”

वर्तमान राजनीतिक अवस्थाले गम्भीर प्रश्नहरू उठाएका उहाँले बताउनुभयाे। प्रधानमन्त्रीले चुनौतीको सामना गर्ने बताइरहनु भएको भए पनि बेलाबेलामा दिक्दारी पनि प्रकट गरिरहनुभएको उल्लेख गर्दै अध्यक्ष नेपालले यस्तो अवस्थाले राजनीतिक स्थायित्वमा थप चुनौती सिर्जना गरेको बताउनुभयो।

अध्यक्ष नेपालले पार्टीलाई आसन्न परिस्थितिको तयारीका लागि सचेत रहन आह्वान गर्नुभयो। उहाँले राजनीतिक अस्थिरताले मुलुकलाई अनिश्चिततामा डुबाइरहेको बताउँदै सबै दलहरूलाई संविधानको मर्मअनुसार जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

बैठकमा उहाँले याे सरकार रहिरहन्छ कि परिवर्तन हुन्छ भन्ने जस्ता प्रश्नहरू स्वाभाविक रूपमा उठिरहेको उल्लेख गर्दै मुलुकलाई स्थायित्व, सुशासन र आर्थिक दिशातर्फ लैजान सबै दलले मिलेर साझा मार्ग तय गर्नुपर्नेमा जोड दिनुभयो। ‘प्रधानमन्त्री चुनौतीको सामना गर्छु पनि भनिरहनुभएको छ, बेलाबखत दिक्दारी पनि पोखिरहनु भएको छ, यस्तोमा यही सरकार रहिरहन्छ कि के हुन्छ भन्ने प्रश्न पनि उठेका छन्’, नेपालले भन्नुभयाे ।