गणेश आचार्य/दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरलले जेन-जी आन्दोलनका नाममा न्यायालयमाथि आक्रमण गरेर नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र भएको निश्कर्ष सुनाउनु भएको छ ।
प्रेस चौतारी दाङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले महासचिव पोखरेलले यस्तो निश्कर्ष सुनाउनु भएको हो । उहाँले आन्दोलनका क्रममा न्यायालयमाथिको आक्रमण सामान्य नभएको भन्दै नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्रको परिणाम भएको टिप्पणी गर्नुभयो ।
‘जेन-जी आन्दोलन दबाउन न्यायालयको कुनै भूमिका हुने कुरै भएन । यो त कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्रको परिणाम हो,’ महासचिव पोखरेलले भन्नुभयो । जेनजी आन्दोलनमा उठाइएका माग जायज भएको उल्लेख गर्दै महासचिव पोखरेलले उक्त आन्दोलनमा नवयुवाको आन्दोलनमा राष्ट्र विरोधी स्वार्थी तत्वले घुसपैठ गरेर आतंक मच्चाएको र बिध्वंसकारी काम गरेको बताउनु भयो ।
पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सरकार एनजिओ र आइएनजिओको भएको समेत दाबी गर्नुभयो । सरकारले गैह्र सरकारी संस्थालाई जेनजी आन्दोलनको स्टेक होल्डर बनाएको भन्दै नेपालको संविधानले गैह्र सरकारी संस्थालाई आन्दोलनको स्टेक होल्डर बन्ने परिकल्पना नगरेको बताउनु भयो । आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले चुनावमा त्रास फैलाउने बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्