रामेछाप, कात्तिक १३ । सुनापति गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि मुगिखोला युवा क्लब मन्थलीले हात पारेको छ। बुधवार सम्पन्न फाइनल खेलमा आयोजक टिम सुनापति गाउँपालिका खेलकुद विकास समितिलाई ३–२ को सेटअन्तरले पराजित गर्दै मन्थलीले विजेता बनेको हो।
विजेता बनेको मुगिखोला युवा क्लबले १ लाख ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, उपविजेता आयोजक टिमले १ लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
तृतीय स्थानका लागि भएको प्रतिस्पर्धामा जी.एन.ई.बी.एस माकादुमले बेथान युवा समाजलाई पराजित गर्दै ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। चौथो स्थानमा रहेर सान्त्वना पुरस्कार प्राप्त गर्ने बेथान युवा समाजले २५ हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ ।

समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले यस्ता खेलकुद कार्यक्रमले स्थानीय युवामा खेलप्रतिको आकर्षण बढाउने मात्र नभइ गाउँपालिकाको आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने बताउनुभयाे ।
सुनापति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा रामेछापसहित विभिन्न जिल्लाका ११ टिमले सहभागिता जनाएका थिए। समापन समारोहमा गाउँपालिका अध्यक्ष तामाङ, उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृतसहितका अतिथिहरूले विजेता, उपविजेता र तृतीय र चाैथाे हुने टिमका खेलाडीहरूलाई नगद, ट्रफि, मेडल र प्रमाणपत्र वितरण गर्नुभएकाे थियाे ।













प्रतिक्रिया दिनुहोस्