जनता टाइम्स

१३ कार्तिक २०८२, बिहीबार १६:४३

आज साँझ ५ बजेबाट बिपी राजमार्गमा रातकाे समयमा सवारी साधन आवागमनमा राेक


सिन्धुली, कात्तिक १३ । सिन्धुली जिल्ला प्रशासन कार्यालयले भारी वर्षाका कारण आज साँझदेखि कात्तिक १५ गतेसम्म रातको समयमा बिपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई ध्यानमा राख्दै उक्त निर्णय गरेको जनाएको छ।  सवारी साधन र यात्रुहरूको सम्भावित मानवीय तथा भौतिक क्षति हुन नदिन, कात्तिक १३ र १४ गते साँझ ५:०० बजे देखि बिहान ५:०० बजेसम्म काठमाडौं तर्फ जाने सवारी साधन आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ। दिउँसोको समयमा पनि भारी वर्षा भएमा सुरक्षा निकायले आवश्यक अनुसार सुरक्षित स्थानमा सवारी साधन रोक्न सक्ने प्रशासनले जनाएको छ ।

‘बर्सात र बाढी पहिरोबाट सवारी साधन र यात्रुहरूलाई सम्भावित जोखिमबाट हुनसक्ने मानवीय र भौतिक क्षति हुन नदिनको लागि मिति २०८२।०७।१३ र १४ गतेका (साँझ ५:०० बजे देखि बिहान ५:०० बजेसम्मको समयमा) लागि बिपी राजमार्गको खुर्कोटबजार, सिन्धुली जिल्लाबाट काठमाडौं तर्फ जाने सवारी साधन आवागमनमा निषेध गरिएको छ । साथै दिउँसोको समयमा भारी वर्षाको अवस्थामा सुरक्षा निकायले जुनसुकै स्थानमा (सुरक्षित रहने गरी) सवारी साधन रोक्न सक्नेछ । विशेष गरी बिपी राजमार्ग र मध्यपहाडी राजमार्गमा सवारी साधन सञ्चालन गर्दा वर्षा भइरहेको अवस्थामा सवारी साधन नचलाउनु हुन अनुरोध छ’, सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जारी गरेको सूचनामा उल्लेख छ ।