जनता टाइम्स

९ मंसिर २०७६, सोमबार १३:१५

द्वन्द्वपीडितको नारकीय जीवन, सात वर्षदेखि साङ्लोमै


रुकुम पूर्व, मंसिर ९

दुई बित्ता लामो दाह्री जुङ्गा, उत्तिकै लामो कपाल । हात र खुट्टामा लामालामा नङ छन् । शरीरमा फोहरैफोहर देखिन्छ । कैदीलाई जस्तै उनको दुवै हातमा फलामको साङ्लो बाँधिएको छ । त्यहीँ दिसा पिसाब गर्छन् । यस्तै जीवन बिताइरहेका छन् भुमे गाउँपालिका– काँक्रीका ४४ वर्षीय सिङबहादुर दमाई । उनी विगत १३ वर्षदेखि नारकीय जीवन ब्यतित गर्दै आएका छन् । सात वर्षदेखि उनको दुवै हातमा साङ्लो बाँधिएको छ । दमाई बन्द कोठामा जीवन बिताइरहेका छन् ।

विसं २०६३ माघमा उनका भाइ रुपचन्द्रको घरमा लुकाई राखेको बम विष्फोट भएको थियो । सो घटनामा उनका भाइ र बुहारीको मृत्यु भयो । सिङबहादुर भने त्यति बेलादेखि अचेत अवस्थामा छ । भाइको घरमा विष्फोट हुँदा सिङबहादुर आफ्नो घरको बारदलीनमा कपडा सिलाउँदै थिए । उनी भुँईमा खसे । “त्यति बेलादेखि उ अचेत अवस्थामा छ”, सिङबहादुरकी ६४ वर्षीया आमा देमुले भन्नुभयो ।

बेसुरमै गाउँमा मान्छेलाई कुट्ने, जथाभावी बोल्ने तथा ढुङ्गाले हान्न थालेपछि उनको दुवै हात साङ्लोले बाँधिएको स्थानीयवासीले बताए । उनको अवस्था देखेर विहा गरेको एक वर्षमै श्रीमती अन्तै पोइल गइन् । “आँशु नझरेको, भरी पेट खाना खाएको र मनमा पीर नभएको कुनै दिन छैन”, आमा देमुले भन्नुभयो । दिनभरि अर्काको घरमा काम गरी छिमेकीबाट ऐचोपैचो गरेर आफू भोकै रहेर भए पनि छोराको पेट भर्ने गरेको उहाँले सुनाउनुभयो ।

भएको सबै सम्पत्ति बेचेर भैरहवा र बुटवल अस्पतालमा लगेर उपचार गरेको आमा देमुले सुनाउनुभयो । “नौ लाख रुपैयाँ खर्च भयो, छोरालाई निको भएन्”, उहाँले भन्नुभयो । सबै सम्पत्ति छोराको उपचारमा सकिएपछि अहिले सम्पत्तिको नाममा देमुसँग भत्केको घर र सानो खेत मात्र बाँकी छ । बूढेशकालमा देमुलाई छोराले स्याहारसुसार गर्ने उल्टै उहाँले छोराको पालनपोषण गर्नुपरेको छ ।

देमुले थप्नुभयो, “छोरा सधैँ भत्केको घरमा एक्लै नाङ्गै सुत्छ, ओढ्ने, ओछ्याउने र लगाउने लुगा छैन ।” उहाँ घरमा बस्न खान समस्या भएपछि गाउँलेकहाँ शरण लिएर बस्नुभएको छ । सरकारबाट द्वन्द्वपीडितले पाउने राहतसमेत नपाएको उहाँले बताउनुभयो । सिङबहादुर देमुको हाल जिवित एक्लो छोरा हुन् । उहाँका श्रीमान्को मृत्यु भइसकेको छ । जनयुद्धको घाउले केवल आँशु र पीडा मात्र दिएको देमुको दुःखेसो छ ।