जनता टाइम्स

१६ कार्तिक २०८२, आईतवार १४:५५

फर्विडन सिटी : जसले सभ्यताको इतिहास पढाइरहेको छ


-कृष्णहरि केसी-

चिनियाँ सभ्यता संसारकै पुरानो सतत सभ्यतामध्ये एक हो । चीनको सभ्यताको प्रतीक बेइजिङको मुटुमा फैलिएको सुनौलो र रातो दरबार क्षेत्र, जसलाई संसारले “फर्विडन सिटी” भनिन्छ, जहाँ भ्रमण गर्ने अवसर मिल्यो । “फर्विडन सिटी” अर्थात् “निषिद्ध दरबार” का विशाल ढोकातर्फ अघि बढ्दै गर्दा हाम्रा गाइडले यसको बारेमा गरेका संक्षिप्त चर्चाले मनमा अनकन कौतुहलताहरू जन्मिएका थिए ।

दक्षिणी गेटबाट भित्र पस्दै गर्दा चारैतिरका ठूला खुला आँगन, सोनेरी छाना, रातो भित्ताहरू, र डुङ्गाका सडकहरूले इतिहासको यात्रा गराइरहेका थिए । यी संरचनाहरूका प्रत्येक इँटा, प्रत्येक ढुङ्गा, प्रत्येक मूर्तिले-शक्ति, सौन्दर्य, र अनुशासनको कथा वाचन गर्दै थिए । फर्विडन सिटीको पहिलो दृष्टि नै विस्मयकारी हुन्छ । विशाल प्राङ्गण, समरूपता र गहिरो अनुशासनले भरिएको त्यो दरबार केवल भवनहरूको जमात मात्रै होइन, त्यो साम्राज्यको वैभवको मुटु हो ।

दक्षिणी गेटबाट प्रवेश गरेपछि प्राङ्गणमा देखिने प्रत्येक ढोका, स्तम्भ र छानामा कुँदिएका ड्रागन ( Dragon – 龙, लुङ) र फिनिक्स ( Phoenix– 凤凰, फङ हु आङ) ले शक्ति, पुनर्जीवन र सौन्दर्यको संयोजन गरिरहेको देखिन्छ । मिङ र छिङ राजवंशका २४ सम्राट यही दरबारमा बसेका थिए ।

सम्राट, महारानी र राजकुमारहरूको दैनिक जीवन, भोज, विवाह, राजनीति, दरबार प्रशासन आदि यही हुने गर्थ्यो । सुरक्षा र डिजाइनका अद्भुत उपायहरू अपनाइएको पाइन्छ ।

यो दरबार परिसर करिब ७२ हेक्टर (७,२०,००० वर्ग मिटर) क्षेत्रफलमा फैलिएको छ, जसको निर्माण क्षेत्रफल करिब १,५०,००० वर्ग मिटर रहेको छ । यसमा ९८० वटा भवनहरू र ९,९९९ कोठा छन्, जसमा करिब ७० भन्दा बढी हल र दरबारहरू समावेश छन् । यो संसारकै सबैभन्दा ठुलो काठहरूद्वारा निर्माण गरिएको दरबार वा भवन समूह हो । यो स्थल सन १९८७ लेखि विश्व सम्पदा सूचिमा सुचीकृत छ । दैनिक औसत ४०,००० जनाका दरले वार्षिक रूपमा करिब १५–२० मिलियन आगन्तुकहरू यहाँ आउँछन् ।

Forbidden City लाई प्राचीन चिनियाँ भाषामा (Zijin Cheng -紫禁城_) भनिँदो रहेछ । जसको अर्थ हो Purple Forbidden City.

(Purple -紫) उत्तर तारा  (North Star) को प्रतीक हो, जुन स्वर्गका सम्राटको आसन मानिन्थ्यो । त्यसैले यसलाई ‘धरतीमा स्वर्गको राजधानी’ रहेको स्थानको रूपमा पनि लिने गरिएको रहेछ । सम्राटको शक्ति र महत्वलाई कतैबाट प्रवाहित नहोस् भनेर बाहिरी प्राङ्गणमा रूखहरू रोपिएका रहेनछ । एउटा छुट्टै गार्डेन निर्माण गरिएको रहेछ । शाही परिवारको विश्राम बगैँचा जसमा पत्थरका मूर्तिहरू, पुराना सिप्रसका रूखहरू, र यिन–याङ ढाँचाका बाटोहरू रहेछन् ।

भवनको छाना तथा मुख्य दरबारहरूमा चराचुरुङ्गी बस्न नसक्ने गरी डिजाइन गरिएको थियो । अहिले यहाँ खुला सङ्ग्रहालय अर्थात् Palace Museum को रूपमा सञ्चालन भइरहेको छ र करिब १८ लाखभन्दा बढी कलात्मक र सांस्कृतिक सम्पत्ति रहेका छन् । राजा र सम्राट् बाहेक सर्वसाधारणलाई प्रवेश निषेध गरिएकोले यसलाई Forbidden City भनिएको हो ।

निर्माणको कथा — १४ वर्षको श्रम, इतिहासको सृष्टि

जब Emperor Yongle (सम्राट योङले) ले आफ्नो राजधानी नानजिङबाट बेइजिङ स्थानान्तरण गर्ने निर्णय गरे- याे निर्णय केवल प्रशासनिक होइन, धार्मिक र रणनीतिक दृष्टिले पनि ऐतिहासिक थियो । किनभने बेइजिङ उत्तरको सुरक्षा, व्यापार र फेङ–शुई प्राकृतिक सन्तुलन दर्शन अनुसार स्वर्गीय केन्द्र ठहरिन्थ्यो । त्यसकारण त्यहाँ राज्यसत्ता सञ्चालन गर्ने उपयुक्त दरबार चाहिन्थ्यो ।

उनले राजधानी सारेसँगै दरबार बनाउने योजना बनाए । यो दरबार निर्माण गर्न १४ वर्ष लाग्यो । सुरुका १० वर्षमा च्यानेल ( canals ) र ढुवानी मार्ग निर्माण गरिएको थियो, जसले दक्षिण चीनका जङ्गल र खानीबाट आवश्यक काठ, ढुङ्गा र मार्बल ल्याउन सहज बनायो । फर्विडन सिटीको निर्माण सन् १४०६ देखि १४२० सम्म निरन्तर चलेको रहेछ । १४ वर्ष मध्ये १० वर्ष तयारीमा नहरहरू, बाटाहरू, ढुङ्गा तान्ने प्रणाली र सामग्री सङ्कलन सबैका लागि लागेको रहेछ  । ४ वर्षमा अद्भुत मन्दिर, बगैँचा, आँगन र शाही कोठाहरू सहितको भिमकाय दरबार सम्पूर्ण रूपमा ठडिएको रहेछ ।

मुख्य भवनमा प्रयोग भएको विशाल काठहरू करिब १८,००० किमी टाढा रहेको पश्चिम–दक्षिण क्षेत्र नानमु, करिब ७०० किलोमिटर भन्दा टाढा रहेको युनान, सिचुवान र गुइझोउ  प्रान्तबाट ल्याइएका थिए । ती काठहरू नदी जम्ने समयमा बरफ (हिउँ) माथिबाट तानेर बेइजिङसम्म ल्याइन्थे । ढुङ्गा र मार्बल फाङशान क्षेत्रका खानीहरूबाट निकालिएका थिए ।

त्यो समयमा प्रयोग गरिएको हिउँमा तान्ने प्रविधि आज पनि इन्जिनियरिङ इतिहासमा अद्वितीय मानिन्छ ।  याे संरचना बनाउन २.५ करोडभन्दा बढी इँटा–डुङ्गाहरू प्रयोग गरिएको अनुमान रहेछ । यो संरचना करिब २० लाखभन्दा बढी काठका टुक्रा प्रयोग भएको छ । अनगिन्ती ढुङ्गा, टाइल र टेराकोटा प्रयोग गरिएको छ ।

ठुलो ग्रेनाइट ढुङ्गाहरू करिब ३०० टन तौलका थिए । जसलाई बरफको बाटो बनाइ पानीको सहायताले तानिएको थियो । यो प्रविधि आधुनिक इन्जिनियरिङका लागि पनि रहस्यमय र अद्भुत छ । सम्पूर्ण दरबारको रेखा उत्तर–दक्षिण धुरीमा सीधा बनेको छ । जुन स्वर्ग र पृथ्वीको समरसता दर्साउँछ ।

सङ्ख्या ९ र रङ रातो र सुनौलो धेरै प्रयोग गरिएका छन्, जुन चिनियाँ संस्कृतिमा शक्ति, समृद्धि र शुभको प्रतीक हुन् । दरबारको मूल भागमा प्रयोग गरिएको सेतो मार्बल “ Hanbaiyu” अत्यन्त दुर्लभ ढुङ्गा हो, जसले प्रकाशमा सोनेरी झिल्को दिन्छ । यसले सम्राटको शक्तिलाई “स्वर्गको तेज” सँग तुलना गरिएको थियो ।

भूकम्पसँग जुझ्दै र जित्दै

वास्तुकलामा परम्परागत चिनियाँ फेंग्शुई ( Feng Shui ) तथा उत्तर–दक्षिण अक्षमा सैद्धान्तिक रूपमा बनाइएको महल उत्तर–दक्षिण सँगसँगै सिधा अक्षमा मिल्दा सम्राटको ‘आकाशसँग सम्बन्ध’ झल्किन्छ भन्ने मान्यता रहेछ । यहाँका काठका संरचनाहरूमध्ये केही लुक–नेल ( nail-free joinery ) प्रविधिमा बनेका रहेछन् । जसले धेरै भूकम्प प्रतिरोधी बन्न मद्दत गरिरहेको छ ।

६ सय वर्षको यात्रामा, फर्विडन सिटीले २ सयभन्दा बढी साना ठूला भूकम्पका कम्पनहरू थेगिसकेको छ । त्यसमध्ये १६९५, १७३० र १९७६ का ठूला भूकम्पहरूमा पनि यस दरबारको संरचना कहिल्यै ध्वस्त भएन । ढुङ्गा र काठको संयोजन, लचिला जोडहरू रहेको यसको अनौठो निर्माणशैली कारण हरेक स्तम्भ र छानोको जडान यस्तो छ कि कम्पन हुँदा भवन हल्लिन्छ तर ढल्दैन । यो वास्तुकलाको दर्शन हो- “लचिलोपन मै स्थायित्व ।”

सन् २००८ को सिचुवान केन्द्रबिन्दु भएर गएको भूकम्पमा पनि यसको मुख्य संरचना अक्षुण्ण नै रह्यो । त्यसैले फर्विडन सिटी केवल स्मारक मात्रै होइन, त्यो इन्जिनियरिङको जीवित पाठशाला हो ।

रङ्गहरूको दर्शन

दरबारका रङहरू, विशेष गरी रातो, सुन, नीलो र हरियो, प्रतीकात्मक अर्थ बोक्दछन् । रातो चिनियाँ परम्परामा सौभाग्य, जीवन, विजय र निष्ठाको रङ हो । निषिद्ध सहरका भित्ताहरू र ढोकाहरूमा प्रयोग भएको गाढा रातो रङ “सम्राटको शक्ति र राष्ट्रको स्थायित्व” को प्रतीक थियो । सुन सूर्यको उज्यालो, देवत्व र सम्पन्नताको सङ्केत हो । त्यसैले सम्राटका भवनहरूका छानामा सुनको पातले छोपिएको छ । नीला आकाश र शान्तिको प्रतीक हो, जुन स्वर्गको अनन्तता दर्साउँछ । हरियो विकास, सन्तुलन र जीवन–ऊर्जाको द्योतक हो । यी चार रङहरूको संयोजनले सम्राटको शासन–सन्तुलन- “स्वर्ग, पृथ्वी, मानव र आत्मा” बिचको सामञ्जस्य-प्रकट गर्छ भन्ने मान्यता रहेको रहेछ ।

छानाको ढल्को र आकार पनि गहिरो अर्थ बोकेको छ । निषिद्ध सहरका अधिकांश भवनहरूमा देखिने दोहोरो ढल्केका छानाहरू दोहोरो छाना केवल सौन्दर्यका लागि मात्रै होइन रहेछ, शक्ति–क्रम र पद–क्रमको सूचक रहेछन् । यस्तो छाना केवल सम्राटका लागि सुरक्षित थियो, जबकि राजकुमार, मन्त्री वा विद्वानका घरहरूमा एक–तह छाना मात्र allowed थियो । छानाको कुनामा देखिने साना जनावरका मूर्तिहरू छाना सजावट “आकाशीय रक्षक” का रूपमा राखिएका थिए । ती मूर्तिहरूले आगलागी, विनाश र दुष्ट आत्माबाट दरबारलाई रक्षा गर्छन् भन्ने विश्वास थियो । सबैभन्दा अगाडि राखिएको सानो ड्रागन सम्राटकै प्रतीक हो, त्यसपछि आउने नौ वटा जनावरहरूले सम्राटको आदेश पालन गर्ने देवदूतहरूलाई जनाउँदा रहेछन् ।

निषिद्ध सहरको वास्तुकला मानव–दैवी सम्बन्धको दार्शनिक प्रतीक हो । यसको पूर्व–पश्चिम र उत्तर–दक्षिण दिशामा ठ्याक्कै केन्द्रित ढाँचा ब्रह्माण्डीय व्यवस्था को नक्सा हो । सम्राटको सिंहासन ठिक विश्व–केन्द्रमा राखिएको छ- जसलाई “विश्व–अक्ष” भनिँदो रहेछ । यो विचार बौद्ध, ताओ र कन्फुसियस दर्शन सबैमा साझा छ- कि विश्वमा व्यवस्था तब मात्रै रहन्छ जब केन्द्र पवित्र रहन्छ । यस दरबारको सम्पूर्ण भूगोल फेङ शुई सिद्धान्तमा आधारित छ । दक्षिणतर्फ खुला मैदान छ- जसलाई याङ  शक्ति भनिन्छ । उत्तरतर्फ कृत्रिम पहाड र वन क्षेत्र छन्- जसलाई “यिन” शक्ति भनिन्छ । यी दुईको सन्तुलनले नै समृद्धि र स्थायित्व ल्याउँछ भन्ने मान्यता थियो ।

निषिद्ध सहरले केवल शक्ति प्रदर्शन मात्रै गरेन, त्यो एक प्रकारको आध्यात्मिक पाठशाला पनि बनेको रहेछ । यहाँका प्रत्येक ढोका, बगैँचा, जलाशय र मन्दिरहरूले शासन–दर्शन, मानव–स्वभाव र स्वर्गीय अनुशासनको कथा सुनाउँछन् ।

वास्तुकला यहाँ शासनको भाषा बनेको छ- जहाँ ढोका खोल्नु भनेको सिमाना पार गर्नु हो र भित्ताभित्र प्रवेश गर्नु भनेको ज्ञान र जिम्मेवारीको गहिरो तहमा पुग्नु हो ।

फर्विडन सिटीमा रङ्गले केवल सजावटका काम मात्रै गरेका छैनन् बरु जीवन दर्शनका अनेकौँ सन्देश प्रवाहको गरिरहेका छन् । मुख्य भवन रातो रङ्गमा छ, जसले शक्ति, जीवन र उत्साह को प्रतिविम्ब हो । छानाका टाइलहरू सुनौलो रङ्गका छन्, जुन सम्राटको प्रतीक हो । नीलो रङ्ग सीमित स्थानमा- विशेष गरी ‘स्वर्ग मन्दिर’  मा मात्र प्रयोग गरिएको छ, जसले आकाश र प्रार्थनाको प्रतीक जनाउँछ । सो समयमा सुनौलो टाइल प्रयोग गर्ने अधिकार केवल सम्राटलाई मात्र थियो । यसरी रङहरू राज्यसत्ता र सामाजिक वर्गको दृश्य–दर्शन को रूपमा प्रयोग भएका पाइन्छन् ।

दरबारका छानाहरूमा देखिने सुन–रातो–नीलो रङहरूको संयोजनले पनि गहिरो अर्थ बोकेको छ । सुन सम्राटको शक्ति र सूर्यको प्रकाशको प्रतीक थियो । रातो शुभता, जीवन र रक्षा ऊर्जाको सङ्केत हो । जबकि नीलो आकाश र अनन्तताको प्रतीक मानिन्थ्यो । यी रङहरू मात्र सौन्दर्यका लागि नभएर सम्राटको शासन–दर्शनका कोड थिए- “स्वर्गको स्थायित्व र पृथ्वीको स्थिरता” बिचको सन्तुलनको रूपमा ।

चौध प्रान्त र प्रतीकको दर्शन

१४ औँ शताब्दीमा चीन १४ प्रमुख प्रान्तमा विभाजित थियो । सम्राट योङलेले दरबारको वास्तुकलामा चीनका यी प्रान्तहरूको एकताको सन्देश दिन चाहन्थे । त्यसैले दरबारभित्र विभिन्न प्राङ्गण र आँगनमा १४ प्रमुख मूर्तिहरू राखिएका छन्, जसले प्रत्येक प्रान्तको प्रतिनिधित्व गर्छ । ती मूर्तिहरू केवल कलात्मक सौन्दर्यका लागि होइन, राजनीतिक र सांस्कृतिक सन्देशका रूपमा स्थापित गरिएका थिए ।

पूर्व दिशामा राखिएको फिनिक्स– पुनर्जन्म र आशाको प्रतीक, दक्षिणमा ड्रागन– शक्ति र साम्राज्यको प्रतीक, पश्चिममा सिंह– वीरता र रक्षाको प्रतीक, उत्तरमा कछुवा– दीर्घायु र स्थिरताको प्रतीक राखिएको छ । यी चार मूर्तिहरूले चीनका चार प्रमुख दिशाहरू र तिनसँग सम्बन्धित तत्त्वहरू पृथ्वी, आगो, पानी र हावाको सन्तुलनको प्रतिनिधित्व गर्छन् ।

यही संरचनाबाट स्पष्ट हुन्छ- फर्विडन सिटी केवल दरबार होइन, सम्पूर्ण चीनको “सांकेतिक नक्सा” हो । प्रत्येक मूर्तिले केवल एउटा भू-भाग होइन, एउटा दार्शनिक विचारको प्रतिनिधित्व गर्छ । सन् १५५७ को सम्राटीय दरबार अभिलेख अनुसार, यी मूर्तिहरूमा प्रयोग भएको पत्थर दक्षिणी चीनको फुजियान प्रान्तबाट ल्याइएको थियो । प्रत्येक मूर्ति बनाउन करिब दुई वर्ष लाग्थ्यो, र तिनीहरूलाई फेङ–शुई दिशासँग मिलाएर ठ्याक्कै जडान गरिएको थियो । जसले ऊर्जाको सन्तुलन कायम राख्छ भन्ने विश्वास थियो । प्रत्येक गेटको छानामा रहेका ‘Imperial Roof Animals -屋脊走兽_’ राज्य शक्ति र आध्यात्मिक शक्तिको रक्षक हुन् ।

मुख्य दरबारमा १० वटा मूर्तिहरू छन्- त्याे स्तर केवल सम्राटको भवनमा पाउने विशेषाधिकार हो । ती मूर्तिहरूमा ड्रागन, फिनिक्स, घोडा, र काल्पनिक जनावरहरू छन्- जसले पृथ्वी र स्वर्गको सन्तुलन जनाउँछन् ।

ताल र सुरक्षा नीति

निषिद्ध सहर वरिपरि रहेका कृत्रिम ताल र नहरहरूको पनि दार्शनिक र रणनीतिक महत्त्व थियो । फेङ–शुई दर्शन अनुसार, पानी धन, स्थिरता र समृद्धिको प्रतीक हो । जब सम्राटको दरबारलाई चारैतिर पानीले घेर्छ, त्यो स्वर्गीय सन्तुलनको सङ्केत हो । यसैले, यो दरबार हिउँदमा नजम्ने, गर्मीमा चिसिने, र सधैँ ताप–सन्तुलित रहने बनाइएको छ । यो कृत्रिम रक्षा ताल करिब ४२ मिटर चौडा र ६ मिटर गहिरो छ, जसले सम्पूर्ण दरबारलाई घेरेको छ । यसलाई सुनको पानी नदी भनिन्छ, जसले दक्षिणबाट उत्तरतिर बहने नदीको उत्तर गयाको रूप धारण गरेको छ ।

यो युद्धकालीन सुरक्षा संयन्त्र थियो । फर्विडन सिटी वरिपरि फैलिएको तालले दरबारको सौन्दर्य त बढाएकै छ तथापि त्यो सुरक्षा नीति (Defensive Strategy ) हो । जब शत्रु सेनाले आक्रमण गर्थे, यी जलमार्गहरूले आगो, घोडा र तोपको प्रभाव कम गर्थे । साथै, पानीलाई चिनियाँ वास्तु शास्त्र (फेङ शुई) अनुसार जीवन–ऊर्जाको स्रोत मानिन्छ । त्यसैले दरबारलाई पानीले घेर्ने व्यवस्था “राज्यको जीवन शक्ति प्रवाह भइरहोस्” भन्ने आध्यात्मिक सन्देश थियो । दुष्मनहरूले त्यो ताल सहज पार गर्न नसकुन् भन्ने हेतुले दरबारको सुरक्षा कबजको रूपमा त्यसो निर्माण गरिएको रहेछ ।

अधिकांश काठले निर्माण गरिएकाले आगोको डर त हुने नै भयो । त्यसकारण पानीले आगो नियन्त्रण र शत्रुबाट सुरक्षा दुवै काम गर्थ्यो । दरबारभित्र रहेका ठूला तामाका भाँडाहरू ( Bronze Water Vats ) सदैव पानीले भरिएका हुन्थे । सन् १९२३ को आगलागीका समयमा यही भाँडाका पानीबाट आगो निभाइएको थियो । फर्विडन सिटीले त्यस बेला नै आधुनिक ‘ Fire Safety Design’ को दर्शन लागू गरेको रहेछ ।

सन् १६४४ मा ठुलो आगलागी हुँदा दरबारका बाह्य भवनहरू क्षतिग्रस्त भए, तर मुख्य संरचना सुरक्षित रह्यो । यसको कारण थियो- दरबारभित्र रहेका दर्जनौँ जल नहर र भूमिगत ढल प्रणाली । इतिहासकारहरूले भन्छन्, फर्विडन सिटीमा करिब ३० साना जलमार्गहरू छन्, जसले ताल र खाललाई जोडेर स्वतः निकास प्रणाली बनाउँछ । यही तालले सैनिक सुरक्षा पनि प्रदान गर्थ्यो । शत्रुले आक्रमण गर्ने बेलामा भने यो ताललाई फोहीला वा तेलसहितको जल–अवरोधमा रूपान्तरण गर्ने योजना थियो । यो वास्तु केवल दर्शन होइन, व्यावहारिक विज्ञान थियो ।

ड्रागनको प्रतीक- शक्ति र शासन

ड्रागन ( Dragon – 龙 ) चिनियाँ सभ्यताको आत्मा हो । चिनियाँ सभ्यतामा ड्रागन केवल पौराणिक जीव होइन, शक्ति, सौभाग्य र दैवी अधिकार को प्रतीक हो । प्राचीन मान्यताअनुसार ड्रागन स्वर्ग र पृथ्वीबिचको शक्तिशाली सन्देशवाहक हो- बादल, पानी र वर्षा नियन्त्रित गर्ने “दैवी शक्ति”। त्यसैले सम्राटलाई “स्वर्गको छोरा” ( Son of Heaven ) मानिन्थ्यो, र उनको शासनलाई “स्वर्गीय आदेश” ( Mandate of Heaven) द्वारा वैधता दिइन्थ्यो ।

यो प्रतीकले बताउँछ कि सम्राटको शासन केवल मानव अधिकार होइन, दैवी अधिकार हो । फर्विडन सिटीमा त्यसैले ड्रागनका मूर्तिहरू, चित्रहरू सर्वत्र देखिन्छन्- ती सबै सम्राटको दैवी हैसियत र राजकीय शक्ति को रूपक हुन् । सिङ्गो दरबारका ढोकामा, छानामा, झ्यालमा, दराजमा, र बगैँचाका मूर्तिमा ड्रागनका विभिन्न रूपका आकृति करिब १३,००० वटा बनाइएको छ ।

ड्रागन जसलाई चिनियाँ सभ्यतामा सर्वोच्च शक्ति, ज्ञान र समृद्धिको प्रतीक मानिन्छ। ड्रागन सम्राटको दैवी स्वरूपको प्रतिनिधि थियो । सम्राटका लुगादेखि राजसिंहासनसम्म ड्रागन सिंहासन हुने गर्थे । यो प्रतीकले शासकको अधिकारलाई पवित्रता प्रदान गर्थ्यो। निषिद्ध सहरमा रहेका हजारौँ ड्रागन नक्कासीहरू- काठमा, ढुङ्गामा, सुनमा, सिरेमिक टाइलमा कुनै साधारण कलात्मक सजावट मात्रै बनेर बसी रहेका छैनन् तीनले प्रतीकहरू राजनीतिक एवं कूटनीतिक सन्देश समेत प्रवाह गरिरहेका छन् । शासकको अजेयता, स्वर्ग–पृथ्वी बिचको सन्तुलन, र राज्यसत्ताको अमरत्वको  झल्काएका छन्।

फर्विडन सिटीमा ड्रागन केवल कलाकौशल मात्रै होइन, शासनको वैधताको प्रतीक हो । सम्राटलाई “स्वर्गको छोरा भनिन्थ्यो र ड्रागन त्यसको प्रतीक मानिन्थ्यो । ९,९९९ कोठाको अवधारणासँगै ड्रागनको आकृति राज्य–दैवी सम्बन्धको दृश्य चिन्ह हो । सम्राट ड्रागनको सवारी हुन् भन्ने विश्वासले यो प्रतीक अझ गहिरो बनायो ।

Hall of Preserving Harmony” -Baohe Dian जाने सिँढीको बिच भागमा विशाल ड्रागनको चित्र राखिएको रहेछ, जहाँ सम्राटले राज्यका ठूला समारोहहरू गर्ने गर्थे । यो एकै टुक्रा मार्बलमा बनेको विशाल ढुङ्गाको मूर्तिकला हो । यसको लम्बाइ करिब १६.५ मिटर, चौडाइ ३ मिटर, र तौल करिब २५० टन अर्थात् २ लाख पचास हजार किलोग्रामभन्दा बढी रहेको । यसमा नौ–ड्रागन ( Nine Dragons)   कुँदिएका छन्- जसले सम्राटको शक्ति, सौभाग्य र स्वर्गसँगको सम्बन्ध जनाउँछ । यो ढुङ्गा बेइजिङबाट करिब ७० किलोमिटर टाढा रहेको Dasi पर्वत क्षेत्र (Fangshan ) बाट ल्याइएको थियो । त्यति बेला कुनै मेसिन थिएन, त्यसैले हिउँदमा पानी जमाएर बरफको बाटो बनाइ ढुङ्गा तानिएको थियो ।

“स्वर्गमय आज्ञा शासन चलाउने अध्यात्मवादी दर्शन”

चीनको शाही शासन प्रणाली ( Imperial System ) हजारौँ वर्षसम्म “स्वर्गीय आज्ञा”   Mandate of Heaven को सिद्धान्तमा आधारित रह्यो । यो सिद्धान्त अनुसार सम्राटलाई शासन गर्ने अधिकार स्वर्गबाट प्राप्त हुन्छ, र यदि शासकले न्याय, स्थिरता र नैतिकता कायम राख्न सकेन भने त्यो अधिकार हराउँछ । यही दर्शनले चीनमा दरबारहरूको केवल राजकीय मात्र नभई “दैवी” महत्त्व पनि सिर्जना गर्‍यो । यही परम्पराको निरन्तरता अन्ततः फर्विडन सिटीको रूपमा मूर्तरूप पायो ।

सामन्तकालीन शासन प्रणालीमा “स्वर्गीय शक्ति” वा “दैवी शासन अधिकार” भन्ने अवधारणा केवल चीनमा मात्र सीमित थिएन । यो विश्वका प्रायः सबै सभ्यतामा देखिने सार्वभौमिक विश्वास थियो । उदाहरणका लागि, युरोपमा  Divine Right of Kings भनिने सिद्धान्तले राजालाई परमेश्वरकै प्रत्यक्ष प्रतिनिधि ठान्थ्यो । फ्रान्सका राजा लुई चौधौँले त आफूलाई “म राज्य नै हुँ” भन्दै देवत्वको स्तरमा उभ्याएका थिए । जापानमा पनि सम्राटलाई “अमातेरासु” सूर्यदेवीको सन्तान मानिन्थ्यो, जसले शासनलाई दैवी परम्परासँग जोड्थ्यो ।

त्यस्तै भारतमा राजाहरूलाई “राजर्षि” (दैवी गुणयुक्त राजा) र “धर्मराज” भनिन्थ्यो, नेपालमा विष्णुका अवतारको रूपमा हेरिन्थ्यो । जसले शासनलाई धर्म, कर्म र अध्यात्मसँग मिलाएर व्याख्या गर्थे । मिस्रमा फ्यारोहरू  लाई देवता र मानवबिचको सेतु मानिन्थ्यो र उनीहरूको शासन “रा” (Ra) सूर्यदेवको आदेशमा आधारित ठानिन्थ्यो । शासन टिकाउने चलाखीपूर्ण दर्शन अध्यात्मवादको प्रभाव संसारभर उस्तै देखिन्छ । जनताको दुःखलाई जनताकै पुर्पुरोलाई दोष थुपार्दिने चलन चलाइएकै थिए ।

यसरी हेर्दा स्पष्ट हुन्छ कि चीनका सम्राटहरूले अपनाएको “स्वर्गीय आदेश” केवल चिनियाँ सोचको प्रतिबिम्ब मात्रै होइन, बरु मानव सभ्यताको साझा धार्मिक–राजनीतिक मनोविज्ञान हो । फर्विडन सिटीका सम्राटहरूले पनि यही परम्पराको निरन्तरता दिँदै आफूलाई पृथ्वी र स्वर्गबिचको मध्यस्थ मान्थे  । जहाँ शासन केवल शक्ति होइन, “दैवी जिम्मेवारी” थियो ।

राजा र भोगविलासको संसार

फर्विडन सिटी सम्राटहरूको निजी संसार पनि हो Hall of Supreme Harmony मा राजकीय कार्यक्रम हुन्थे । Hall of Mental Cultivation सम्राटको विश्रामस्थल थियो । दरबारभित्र करिब ३ हजार सेवक र नोकर नोकर्नीहरू स्थायी रूपमा तैनाथ थिए । सम्राटका लागि दैनिक २०० जना शेफले १०० भन्दा बढी परिकार बनाउँथे । फूलबारीहरूमा सुगन्धित फूलहरू सधैँ फुलाइन्थे । सम्राट काङ्सी र क्यानलङ का पालामा कला, कविता र सङ्गीतको स्वर्ण युग थियो । तर विलासिता सँगसँगै भय पनि थियो । कुनैले पनि दरबार छाड्न पाउँदैनथ्यो । गुप्तचर प्रणाली  हर क्षण सक्रिय हुन्थे ।

राजा, महारानी र रानीहरूका लागि दरबारभित्र छुट्टाछुट्टै आँगन र कोठाहरू थिए । सङ्गीत, नृत्य, सुगन्ध र चित्रकला उनीहरूको दैनिक जीवनको हिस्सा थियो । सम्राट योंगलदेखि लिएर काङ्सी र चिआनलुङ् सम्राटसम्मले यसै दरबारबाट चीनको शासन गरेका थिए । यहाँ निर्णय हुन्थे, युद्धका घोषणा हुन्थे, र प्रेम र षड्यन्त्रका कथा जन्मिन्थे । रातको निस्तब्धतामा फर्विडन सिटीका बत्तीहरू बाल्दा, सुनका छाना र रातो पर्खालले आकाशका तारासँग चम्कन्थे- मानौँ स्वर्ग पृथ्वीमा झरेको हो ।

भोगविलाससँगै निषेध पनि यहाँको जीवनको हिस्सा थियो । दरबारभित्र सामान्य मानिस प्रवेश गर्न सक्दैनथ्यो । यहाँ बोलिने प्रत्येक शब्द, उठ्ने प्रत्येक कदम नियमले बाँधिएको हुन्थे । Forbidden City को नाम नै त्यही कारणले जन्मिएको हो- यहाँको संसार “निषिद्ध” थियो, केवल ती केही आत्माहरूका लागि खोलिएको जो “दैवी” ठानिन्थे ।

रहस्य, मिथक र प्रतीक

फर्विडन सिटीसँग अनेक रहस्यहरू छन् । रातको मौनतामा मान्छेका पाइलाहरू सुन्ने विश्वास, भूतहरूको कथा, र ‘स्वर्गीय आवाज’ का मिथकहरू यहाँ लोकप्रिय रहेछन् । तर वास्तुशास्त्रीहरूले चाहिँ ती ध्वनि हावाको लय र काठका स्तम्भहरूको प्रतिध्वनि हुन् भन्दा रहेछन् । छानाका मूर्तिहरूको सङ्ख्या शासन–स्तर अनुसार निर्धारण हुन्थ्यो । सबैभन्दा उच्च १० मूर्तिहरू भएको भवन मात्र सम्राटको । प्रत्येक आकृति राज्य, धर्म र दर्शनको प्रतीक हो ।

पुनर्जीवन र आधुनिक युग

सन् १८६० को दोस्रो अफिम युद्ध ( Second Opium War) ले फर्विडन सिटीलाई पनि हल्लायो । ब्रिटिस र फ्रेन्च सेनाहरू बेइजिङमा पुगे, र दरबार अस्थायी रूपमा खाली गरियो । तर केन्द्रीय संरचना बच्यो- विदेशीहरूले यसलाई “सम्राटको पवित्र क्षेत्र” माने ।

सन् १९११ मा चाङ वंश ( Qing Dynasty – 清朝) पतनपछि, सम्राट पु यी ( Emperor Puyi– 溥仪) लाई महलमा बस्न मात्र अनुमति दिइयो । १९२४ मा उनलाई निष्कासित गरियो र फर्विडन सिटी “राष्ट्रिय सङ्ग्रहालय ( National Palace Museum – 故宫博物院 )” मा रूपान्तरण भयो ।

सन् १९४५ मा जापानले आत्मसमर्पण गरेपछि यही दरबारमा सम्झौता समारोह भएको थियो ।  १९४९ पछि चीनले फर्विडन सिटीलाई “राष्ट्रिय सम्पदा” घोषणा गरेको रहेछ । १९८७ मा युनेस्कोले यसलाई विश्व सांस्कृतिक सम्पदा सूचीमा राख्यो । यहाँ वार्षिक सवा करोड मानिसले भ्रमण गर्ने रहेछन् । दैनिक औसत ४० हजार आगन्तुक दरबारको प्रत्येक कोठा नियाल्छन् । २०२० को दशकमा Forbidden City Digital Project अन्तर्गत सबै वस्तुहरू 3D स्क्यान गरिएका रहेछन् । यसले नयाँ पुस्तालाई इतिहास हेर्ने नयाँ दृष्टि दिएको छ । यस्ता सम्पत्ति जलाएर खरानीको इतिहास पढ्ने कि यस्ता सम्पदालाई इतिहास पढाउन सक्ने बनाउने ?

फर्विडन सिटी केवल दरबार मात्रै होइन रहेछ यो त चीनको सभ्यता, अनुशासन, श्रम र शक्ति प्रतीक रहेछ । ६ सय वर्षदेखि यो दरबार हावा, पानी, आगो र भूकम्पसँग लड्दै बाँचिरहेको छ । फर्विडन सिटी अझै पनि स्वर्ग र पृथ्वीबिचको साक्षी हो- जहाँ इतिहास केवल पढिँदैन, त्यो प्रत्येक ढुङ्गा, प्रत्येक रङ र प्रत्येक नक्कासीमा आफैले पढाइरहेको छ ।

भर्खरै नेपालको सिंहदरबार, संसद् भवन, राष्ट्रपति–प्रधानमन्त्री निवास र सर्वोच्च अदालतजस्ता राष्ट्रका अमूल्य संरचनाहरू जलाइए । ती निधिहरू आगोको लप्काभित्र डुब्दा देशका असङ्ख्य आँखाहरू रसाए । त्यो केवल भवनहरू पोलिएका क्षण थिएनन्, त्यो कुकर्म थियो । जसले हाम्रो इतिहास, हाम्रो गौरव, हाम्रो सभ्यता र हाम्रो आत्म गौरवको खरानी बनाइदियो ।

त्यस दर्दनाक घटनापछि चीनको फर्विडन सिटी जो सिंहदरबारभन्दा शताब्दीऔं पुरानो दरबार भित्र पाइला टेक्ने माैका मिल्याे, त्यहाँको अनुशासन, संरक्षण र गौरवको भावना देख्दा मन झस्कियो । ६ सय वर्षअघि बनाइएको त्यो दरबार अझै पनि चीनको आत्माको प्रतीक बनेर उभिएको छ । हरेक ढोका, चित्र, रङ्ग र मूर्तिमा इतिहासको सम्मान झल्किन्छ । नेपालले भन्दा कठिन युद्ध भोगेको, लाखौँ जनताहरूले मारिने युद्धमा फसेको बेलामा पनि यस्ता संरचना भने जलाइएको थिएनन् ।

त्यो भव्य दरबारभित्र उभिँदा मनमा एउटा पीडाले लहरियो-हाम्रो देशका केही अन्धो क्रोधले भरिएका मानिसहरूले बुझ्न सकेनन्, दरबार जलाउँदा केवल काठ, इँटा र ढुङ्गा मात्रै जल्दैनन्, आफ्नै पहिचान जल्छ । आफ्ना पुर्खाको श्रम, सीप र गौरव जल्छ । यस्ता कर्म गर्नेहरूप्रति आज दया लाग्छ  । किनभने उनीहरूले बुझेनन् कि इतिहास जलाउँदा देशको आत्मा नै मरिरहेको हुन्छ । अब यो भवन मात्र पुनर्निर्माणको गरेर पुग्दैन चेतनाको पुनर्जागरणको गर्नुपर्ने भएको छ । हामीले ढुङ्गा–माटोको दरबार मात्र होइन, मनको दरबार पुनः बनाउनुपर्छ-जहाँ इतिहासप्रतिको श्रद्धा, सभ्यताप्रतिको प्रेम र देशप्रतिको जिम्मेवारी बसोबास गरोस् ।

चीनले आफ्नो फर्विडन सिटीलाई राष्ट्रिय गौरवको प्रतीक बनाएझैँ, हामीले पनि आफ्ना दरबारहरूलाई अध्ययन, सिर्जना र आत्म गौरवको विद्यालय बनाउनुपर्छ । युवाहरूले इतिहास बुझ्ने, सम्पदा जोगाउने र पहिचानमा गर्व गर्ने संस्कार सिक्नुपर्छ ।