जनता टाइम्स

१६ कार्तिक २०८२, आईतवार १४:१५

असुली धन्दाले एसएसपी विश्व अधिकारीको जागिर नै धरापमा, अख्तियारदेखि हेडक्वार्टरसम्मले थाल्यो अनुसन्धान


काठमाडौं, कात्तिक १६ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीमाथि छानविन सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी प्रधान कार्यालयले अलग-अलग रुपमा छानविन अघि बढाएको हो ।

काठमाडौं प्रहरी प्रमुखको रुपमा रहँदा अधिकारीले गम्भीर बदमासी गरेको तथ्य खुलेसँगै प्रहरी प्रधान कार्यालय र अख्तियार दुवैले छानविन अघि बढाएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंमा रहँदा एसएसपी बिश्व अधिकारीले ब्यापारीहरुसँग गरेको असुली, चरम यातना र बार्गेनिङको बिषयमा प्रमाणसहित उजुरी आएपछि अख्तियारले छानविन अघि बढाएको छ । अख्तियारसँगै प्रहरी प्रधान कार्यालयले पनि अनुसन्धान अघि बढाएको हो ।

अनुसन्धानकै कारण एसएसपीबाट प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिश गर्दा अधिकारीलाई आउट गरिएको थियो । अधिकारीले ब्यापारी दिपेन्द्र अग्रवालसँग ५० लाख असुली गरेको तथ्य खुलेपछि प्रहरी प्रधान कार्यालयले बढुवामा रोक लगाएको थियो । त्यसलगत्तै अधिकारीले काठमाडौं प्रहरी प्रमुखको पदको दुरुपयोग गरी अग्रवाललाई जसरी नै प्रल्हाद खड्का, नवीन रिजाल, भरत चौलागाई, पप्पु सराफ र केदार अर्याललाई फसाइदिने भन्दै लाखौं रकम असुली गरेको पाइएको छ ।

अधिकारीको ज्याद्धतीको सिकार भएका एकजना पीडितले असुलीको फेहरिस्त राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई निवेदन दिएपछि यस बिषय बाहिर आएको थियो । ‘चिफसापलाई निवेदन आएको छ, करिव आधार दर्जनजति निवेदन आएको हुनसक्छ,’ प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एक अधिकृतले जनताटाइम्स डटकमसँग भने । ती अधिकारीका अनुसार यस बिषयमा सुरुमा आन्तरिक छानविन अघि बढाउँदा घटना घटेको र असुली गरिएको पाइएको छ ।

आइजीपीको सचिवालयमा उजुरी दिएको केही दिनपछि अख्तियारमा समेत उजुरी दर्ता भएको थियो । अधिकारीले आफूलाई पक्राउ गरी श्रीमतीलाई धम्क्याएर १० लाख असुली गरेको भन्दै होटल ब्यवसायी केदार अर्यालले अख्तियारमा उजुरी दिएपछि अधिकारीको अन्य धन्दाको पोल खुलेको हो । अर्यालका अनुसार एसएसपी अधिकारीले मुद्दा शाखाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) बिष्णु सोतीसँग मिलेर यस्तो धन्दा सञ्चालन गरिएको थियो ।

अधिकारी जेनजी आन्दोलनमा माथिल्लो निकायलाई जानकारीसमेत नगराई सेटबाटै गोली हान्न आदेश दिने प्रहरीका कमाण्डरसमेत हुन । अधिकारीले नै प्रहरी सेटमा भदौ २३ गते गोली ५ पटक गोली हान्न आदेश दिएको र गोली नहानेमा कार्वाहीको धम्की दिएका उजुरी गसअघि नै प्रहरी अधिकारी स्वयंले गरिसकेका छन ।

यस्तो छ विश्वबिरुद्धको निवेदन

मिति २०८२/०७/०२

श्रीमान् प्रमुख आयुक्त ज्यू

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौं ।

विषय : आवश्यक कारवाही गरि पाउ।

प्रस्तुत बिषयमा म केदार अर्याल काठमाडौँमा इन्द्रेणी होटल व्यवसाय गरिआएको व्यक्ति हूँ । मैले काम गर्ने सिलसिलामा विभित्र पेशा–व्यवसाय गर्ने व्यक्तिसँग आफ्नो कारोबार गरिआएको थिएँ । त्यसै क्रममा मेरो रमेश कार्की नाम गरेको ब्यक्ति सँग रकम लिनुपर्ने धेरै नै थियो । मैले गैरकानुनी कुनै पनि काम गरेको थिईन र नियमानुसार तिर्नुपर्ने कर पनि तिरी आएकै छु । कारोबार बढ्दै जाँदा निजले पनि मलाई तिर्नु पर्ने रकम बढ्दै गयो । पहिले समयमै कारोबारको रकम चुक्ता गर्दै आईरहेको अबस्थामा म निजको बिश्वासमा परी कारोबार गर्दै गएँ । तर केही समय अगाडिदेखि निजले विभिन्न बहाना बनाउदै रकम केही समय लाग्छ भनी भन्ने गरेको म पनि लामो समय सम्ममा त्यस्तो धोका नदिएकाले दिईहाल्छ होला भन्ने बिश्वासमा परि कारोबार गरिरहें । तर केही समय अगाडि अचानक मैले लिनुपर्ने रकममध्ये यति बाँकी हो, मैले त्यति रकम दिनुपर्ने छैन भनी विवाद सृजना गर्यो । त्यसै क्रममा मलाई काठमाडौं प्रहरी परिसरसँग मिलेमतो गरी फसाउने प्रपन्च गरी कहिले प्रहरी कार्यालयबाट बोलाएको छ भन्ने कहिले सिआइबीमा बोलाएको छ भन्दै बिभिन्न निकायमा बोलाउन थाले ।

निजले प्रहरी लगाएपछि म डराउछ र मैले पैसा माग गर्दिन भन्ने मनसाय राखी मेरो पैसा पचाउने नियतले निजले परिसर काठमाडौंमा ठाडो निवेदन दिएका रहेछन । त्यसो गर्दा पनि म नगलेपछि पुनः ठगीमा जाहेरी उनीहरुको मिलोमतोमा लिएर मलाई फसाउने प्रयत्न गरे । बनावटी नभएको व्यहोरा उल्लेख गरी मलाई फसाउन काठमाडौं परिसर प्रमुख एसएसपी विश्व अधिकारी समेतलाई आर्थिक लाभको लोभ देखाई वहाँ समेतको मिलोमतोमा मलाई फसाउने र पैसा नतिर्ने परिपन्च गरेका रहेछन । हिरासतमा रहँदा पनि पटक पटक मिल्न मेरो विपक्षीसँग कुराकानी गर्न मुद्दा शाखामा कार्यरत डिएसपी विष्णु सोती र अर्का निरिक्षकसमेतले मलाई भन्ने गर्दथे तर म आफै पीडित भएको भनी भन्ने गर्दथे। म थुनामा परेपछि मेरो परिवार एकदम चिन्तित थिए । कसरी हुन्छ मिल्न सल्लाह दिनुहुन्थ्यो । शुरुमा म टसमस भएको थिईन तर मेरो श्रीमती समेतलाई अनेकौ डर देखाएछन । यदि उहाँहरुको कुरा मानेन भने सम्पति शुद्धिकरण लगाएर १० दिन थुन्छौं भन्ने धाक धम्की दिएको रहेछन । त्यसैले डरले मेरो श्रीमती आफैंले रकम जोहो गरी १० लाख रकम एसएसपीले जबरजस्ती उसुलेछ । रकम लिएको केही दिनपछि मलाई हिरासतबाट छोडिएको थियो।

२०८१ साल चैत १५ गते राजावादीको आन्दोलनमा जसको अगुवा दुर्गा प्रसाईले गरेका थिए । उक्त आन्दोलनमा पनि एसएसपी विश्व अधिकारीको टिमले शान्तिपूर्ण आन्दोलन गरेका नेपाली जनतालाई गोली चलाएर मारेका थिए । उक्त आन्दोलनको प्रहरी कमाण्डर काठमाडौँ जिल्ला परिसरका विश्व अधिकारी नै थिए । उनले यस्ता गल्ती बारम्बार आफू राम्रो छु भन्नलाई आफू राजनीति पार्टीप्रति नजिकिनलाई नेपाली जनतालाई मार्ने गरेका छन ।

२०८२ साल भदौ २२ र २३ गते भएको जेन्जी आन्दोलनमा पनि यिनै काठमाडौँ जिल्ला परिसर का एसएसपी विश्व अधिकारीको कमाण्डरमा ती भर्खरका स्कुलले बालबालिकाले ज्यान गुमाउन परेको छ । यिनले आफू पावरमा हुँदा आफ्नो बढुवाको लागि मान्छे मार्ने र सोझा साझा नेपाली जनतालाई जबरजस्ती नभएकै उजुरी दिन लगाएर थानामा राखे र मैले छुटाइदिन्छु भनेर विभिन्न बहानामा पैसा असुल्ने धन्दा गरिरहेका छन् ।

यिनी देशका रक्षक नै भक्षक भएको कारणले म लगायत हामी जस्ता विभिन्न नेपाली सर्वसाधारणले दुःख पाउनुको साथै ज्यान पनि गुमाउनु परेको छ । त्यसबखत मसँग हिरासतमा रहेका निम्न व्यक्तिहरुबाट पनि प्रहरी र सरकारी वकिल मिलाउनु छ भनी पैसा खुवाउनु परेको कुरा गरेका थिए । निजहरुलाई पनि सम्पर्क गरी बुझ्नु भएमा निज घुसिया प्रहरीको पर्दाफास हुनेछ । यसरी हामी जस्ता व्यवसायीहरु समेतलाई झुट्टा मुद्दामा लगाई घुस असुल्ने तत्कालीन परिसर काठमाडौं प्रमुख, मुद्दा शाखा प्रमुख डिएसपी विष्णु सोती समेतलाई छानविन गरी कानून बमोजिम गर्न र मेरो रकम फिर्ता समेत दिलाई पाउन निवेदन गर्दछु । त्यस्तैगरी एसएसपी बिश्व अधिकारीमाथि अनुसन्धान गर्दै जाने हो भने थुप्रै थुनामा परेका व्यक्तिहरु पीडित छन् भन्ने कुरा साबित हुन्छ । मेरो सम्पर्कमा भएका केही व्यक्तिहरू जो जसले पैसा बुझाएर बाहिर आएका छन, ती व्यक्तिहरू नाम र नम्बर पनि म यसै उजुरीमा उपलब्ध गराउँछु ।