काठमाडौं, मंसिर १०
रूस भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको औपचारिक निमन्त्रणापत्र सोमबार समकक्षी रूसी विदेशमन्त्री सेरग्रे लाभ्रोभलाई उहाले हस्तान्तरण गर्नुभयो ।
भेटपछि मस्कोस्थित राजदूतावास र परराष्ट्र मन्त्रालयले जारी गरेको छुट्टाछुट्टै विज्ञप्तिमा ज्ञवालीले रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएको उल्लेख छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको औपचारिक निमन्त्रणापत्र ज्ञवालीले मन्त्री लाभ्रोभलाई हस्तान्तरण गर्नुभयो । ज्ञवालीले समकक्षी लाभ्रोभलाई पनि नेपाल भ्रमणको निम्तो दिनु भएको छ ।
दुवैले भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना पनि गर्नुभएको थियो । दुवै मन्त्रीले दुई मुलुकबीच न्याय, सांसद र व्यापारसहित उच्चस्तरीय भ्रमण हुनुपर्नेमा जोड दिनु भएको थियो । रूसलाई असल मित्रको संज्ञा दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले त्यहाँका व्यवसायीलाई नेपालमा लगानी गर्न पनि आग्रह गर्नुभयो ।
रूसी मन्त्री लाभ्रोभले पनि लामो समयपछि भएको भ्रमण महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । दुई मुलुकबीचमा लगानी, व्यापार, पर्यटन, शिक्षा, ऊर्जा, पूर्वाधार विकास, संस्कृति र जनस्तरमा सम्बन्ध स्थापना गर्नुपर्नेमा दुवै मन्त्री सहमत भएको मस्कोस्थित राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भेटका अवसरमा मन्त्री ज्ञवालीले नेपालमा ०७२ सालमा भएको भूकम्पमा रूसी सरकारले गरेको सहयोगप्रति धन्यवाद दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्