काठमाडौं, कात्तिक १९ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा देखापरेका चुनौती र समस्याको सामना गर्न नयाँ शक्ति निर्माण भएको बताउनुभएको छ ।
माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहितका कम्युनिष्ट दलहरूको एकता घोषणा सम्मेलनलाई सम्बोधन गर्दै उहाँले देशलाई नयाँ ढङ्गले अगाडि बढाउने आत्मविश्वास पैदा भएको बताउनुभयो । ‘हामी एक ढिक्का भएर देशमा देखिएका चुनौती र समस्याको सामना गर्न सक्छौँ भन्ने आत्मविश्वास पैदा भएको छ,’ उहाँले भन्नुभयो, ‘हामी नेपाललाई नयाँ ढङ्गले अगाडि बढाउन सक्छौँ र एउटा नयाँ शक्ति निर्माण भयो भन्ने विश्वास व्यक्त गर्न चाहन्छौँ । ’
आजको दिन नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा कहिल्यै नबिर्सिने दिन भएकाे उहाँले बताउनुभयाे । ‘एकैसाथ १० वटा कम्युनिष्ट घटकको एकता भएको इतिहास सम्भवतः नेपालमा छैन, दुईवटा, तीनवटा मिल्ने त भयो होला, तर आजको एकता ऐतिहासिक हो’, उहाँले भन्नुभयाे ।
उहाँले हाल राष्ट्रमा देखिएका राजनीतिक, आर्थिक र वैचारिक संकटबीच यो एकता नयाँ राष्ट्रिय स्वाधीनताको अभियानलाई अगाडि बढाउने ऐतिहासिक कदम भएको समेत बताउनुभयो । विभिन्न दलमाथि लगाइएका आरोप–आक्षेप, असन्तुष्टि र विभाजनबीच पनि यो एकता नेपाली जनतामाथिको भरोसा पुनःस्थापना गर्ने प्रयास भएकाे उहाँले दाबी गर्नु भयाे ।
उहाँले कम्युनिष्ट नेताहरूबीचको सहकार्य र एकताको निरन्तरता कायम राख्न आग्रह गर्दै जनताको हित र मुलुकको स्थायित्वका लागि साझा अभियान सञ्चालन गर्न आह्वान गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्