जनता टाइम्स

१९ कार्तिक २०८२, बुधबार २०:३७

एमालेकाे काठमाडौं उपत्यका विशेष प्रदेश संविधानको रक्षार्थ जनपरिचालनमा एकीकृत भएर लाग्ने


काठमाडौं, कात्तिक १९ । नेकपा (एमाले) काठमाडौं उपत्यका विशेष प्रदेशले संविधानको रक्षार्थ जनपरिचालनमा एकीकृत भएर लाग्ने निर्णय गरेको छ ।

आज बसेको उपत्यका विशेष प्रदेश, भौगोलिक र गैर–भौगोलिक कमिटी तथा जनसंगठनहरूको संयुक्त बैठकले पार्टी केन्द्रको निर्णयअनुसार संविधान विपरीत जननिर्वाचित प्रतिनिधि सभा पुनर्गठन गर्ने प्रयत्नको विरोध गर्दै संविधानको रक्षा गर्न व्यापक जनपरिचालनको तयारी गर्ने निर्णय गरेको हो ।

पार्टी स्थायी कमिटी सदस्य तथा जनसंगठन संयोजक भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा भएको बैठकले यस्तो निर्णय गरेको हो ।

उपत्यका विशेष प्रदेशका इन्चार्ज तथा पोलिटब्युरो सदस्य सुजिता शाक्यले बैठकले एमाले वाग्मती प्रदेशका इन्चार्ज तथा पार्टी स्थायी कमिटी सदस्य डा. राजन भट्टराईसहितको उपस्थितिमा बसेको बैठकले उपत्यका भित्रका भूगोल, गैरभूगोलका सबै पार्टी कमिटी र जनवर्गीय संगठनहरूलाई सक्रिय बनाई पार्टीका सबै कार्यक्रमहरू भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकले भदौ २३ गते जेनजी पुस्ताले उठाएका जायज मागहरूमा घुसपैठ गरेर राष्ट्रिय धरोहर, पार्टी कार्यालय र नेताहरूको व्यक्तिगत सम्पत्तिलाई क्षति पुर्‍याउने गरी भएको आगजनी र लुटपाटमा संलग्नहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई दबाब दिने निर्णयसमेत गरेको शाक्यले बताउनुभयो । ‘लोकतन्त्र ल्याउनका लागि जीवनभर सङ्घर्ष गर्ने नेताहरूप्रति वर्तमान सरकार पूर्वाग्रही बन्दै गएको छ,’ उहाँले भन्नुभयो, ‘हामी त्यसको विरोधमा उपत्यकावासी सबैलाई सचेत र सक्रिय हुन आह्वान गर्छौँ ।’

बैठकले लामो राजनीतिक र सामाजिक सङ्घर्षको उपलब्ध स्वरूप बनेको संविधानलाई मेटाउने षड्यन्त्र भइरहेको भन्दै त्यस विरुद्ध सजग रहन कार्यकर्ताहरूलाई निर्देशन दिएको छ । बैठकले संविधानको रक्षार्थ एमालेद्वारा तय गरिएको जनपरिचालन कार्यक्रमहरूलाई सफल पार्ने निर्णय गरेको छ — जसअनुसार कार्तिक २२ गते वडा स्तरीय भेला, २५ गते पालिका स्तरीय जनसभा, २९ गते जिल्ला स्तरीय जनसभा र मंसिर ६ गते काठमाडौं उपत्यका स्तरीय जनसभा हुने भएको छ ।

बैठकमा एमालेका नेता आनन्द पोखरेल, विना श्रेष्ठ, बालिका गिरी, टुकभद्र हमाल, मेनका पोखरेललगायत पार्टी र जनवर्गीय संगठनका वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो ।