काठमाडौं, कात्तिक २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने प्रष्ट पार्नुभएको छ । बिहीबार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा आइपुगेका नेता–कार्यकर्तासँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बटमलाइन सुनाउनु भएको हो ।
निवर्तमान प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले देशलाई छाडातन्त्रमा चलाउनका लागि कुनै हैसियत नै नभएको सरकारले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको भन्दै त्यो संबिधानबिरोधी रहेको बताउनु भयो । राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक सरकारले गरेको सिफारिसअनुसार प्रतिनिधि सभा विघटन गरेर गल्ती गरेको पनि अध्यक्ष ओलीको भनाइ छ ।
‘संविधानको धारा कुनै केही नभएको ठाउँमा राष्ट्रपतिज्यूले प्रतिनिधि सभा भंग गर्नुभएको छ । त्यो गर्नु हुँदैन थियो । त्यसकारण हामीले यो विघटित प्रतिनिधिसभाको पुनस्थापनाको माग गर्दछौं । त्यसका लागि आन्दोलन गर्दछौँ । र अगाडि बढछौं,’ ओलीले भन्नुभयो, ‘ असंवैधानिक सरकारले गरेको सिफारिसअनुसार प्रतिनिधि सभा विघटन गरेर राष्ट्रपतिज्यूले गल्ती गर्नुभयो ।’
अध्यक्ष अोलीले संविधानविपरित प्रतिनिधि सभा विघटन गरेकाले आफूहरूले त्यसको पुनःस्थापनाको माग गरेर अघि बढ्नुपरेको पनि प्रष्ट पार्नुभयो । ‘यो असंवैधानिक सरकारले प्रतिनिधि सभा किन भंग गरेको हो भन्ने त प्रष्टै भइसक्यो । यो सरकारले देशलाई बेलगाम छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटन गरेको हो । यो असंवैधानिक ढंगले भंग गरेको छ । सिफारिस गर्ने हैसियतनै नभएकाहरूले सिफारिस गरेको छ,’ ओलीले भन्नुभयो ।














प्रतिक्रिया दिनुहोस्