रामेछाप, कात्तिक २१ । वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले स्वास्थ्य र शिक्षा क्षेत्र नेपालको प्राथमिकताको क्षेत्रमा नै नपरेको बताउनुभएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको वार्षिक समीक्षा कार्यक्रमलाई शुक्रबार मन्थलीमा सम्बोधन गर्दै श्रेष्ठले नेपालको योजना छनौट र बजेट विनियोजनको प्रक्रिया निक्कै कमजोर भएको बताउनुभएको छ । ‘हाम्रोमा कुन कुरालाई प्राथमिकतामा राख्ने भन्ने नै छैन, हाम्रो प्राथमिकता के हो भन्ने हामीले निर्क्योल गर्न सकेका छैनौँ’, उहाँले भन्नुभयो ।
नेपालको स्वास्थ्य क्षेत्र अहिले पनि निक्कै कमजोर भएको उहाँले बताउनुभयो । सारा सम्पत्ति सक्दा पनि रोगको पहिचान नै नहुने अवस्था अहिले पनि रहेको उहाँको भनाइ छ । ‘सम्पत्ति पनि सकिन्छ, मान्छे पनि सकिन्छ, हामी यस्तो अवस्थामा छौँ’, उहाँले भन्नुभयो ।
रामेछापको जनप्रतिनिधिको हिसाबले जिल्लाको स्वास्थ्य र शिक्षा क्षेत्रको विकासको लागि आफूले सकेको प्रयत्न गर्ने श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो । यस विषयमा प्रदेश र केन्द्र सरकारसम्म आफूले पहल र प्रयत्न गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले आयुर्वेद उपचार पद्धति रोगको पहिचान गर्न र दिगो रूपमा रोग निवारणको लागि निक्कै प्रभावकारी रहेको बताउनुभयो । त्यसैले यसको प्रवर्धनको लागि नगरपालिकाले सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमसागर थापाले आयुर्वेदिक उपचारको बारेमा सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । आयुर्वेद चिकित्सालय रामेछापले मन जित्ने गरी काम गरेको बताउँदै उहाँले यसलाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले स्वास्थ्य क्षेत्र त्यसमा पनि आयुर्वेदलाई स्रोत र साधनले सम्पन्न बनाउनु पर्ने बताउनुभयो । आयुर्वेदिक उपचार पद्धति केही समय ओझेलमा परेको भए पनि अहिले यसमा आकर्षण बढेकोले यसलाई प्रवर्धन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक घिमिरेले आयुर्वेदिक उपचार पद्धतिलाई प्रवर्धन गर्न पत्रकारिता क्षेत्रबाट सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चिकित्सालयका सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष नवराज पथिकको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू लगायत सरोकावालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कार्यालय प्रमुख दीपक कार्कीले एक वर्ष सञ्चालन भएको कार्यक्रम र उपलब्धि तथा आगामी योजना बारे जानकारी दिनुभएको थियो।













प्रतिक्रिया दिनुहोस्