जनता टाइम्स

२२ कार्तिक २०८२, शनिबार १३:४९

नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रजनी थापा अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा निर्वाचित


काठमाडौं, कात्तिक २२। नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रजनी थापा अन्तर्राष्ट्रिय जेसीजको २०२६ का लागि उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। योसँगै नेपालबाट १५ वर्षपछि पहिलोपटक अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा प्रतिनिधित्व भएको हो।

थापाले लामो समयदेखि जेसीज आन्दोलनमा सक्रिय भूमिका निभाउँदै आइरहनुभएको छ। उहाँको धैर्य, निरन्तर परिश्रम र संगठनप्रतिको समर्पणकै कारण अन्तर्राष्ट्रिय नेतृत्व तहमा पुग्न सफल भएको नेपाल जेसीजले जनाएको छ।

निर्वाचनमा विजयी भएपछि अध्यक्ष थापाले भन्नुभयो, ‘धैर्य, कडा परिश्रम र निरन्तरताको फलस्वरूप म आज यो जिम्मेवारीमा पुगेकी हुँ, यो पद व्यक्तिगत सफलता मात्र होइन, सम्पूर्ण नेपाली जेसीज परिवारको गौरव हो।’

अन्तर्राष्ट्रिय जेसीज विश्वका १०० भन्दा बढी देशमा सक्रिय युवा नेतृत्व विकास संस्था हो, जसले सामाजिक रूपान्तरण, नेतृत्व क्षमता अभिवृद्धि र विश्वव्यापी सहकार्यका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

थापाको निर्वाचनले नेपाली जेसीजको अन्तर्राष्ट्रिय छवि अझ उकास्ने विश्वास संस्थाले लिएको छ। नेपाल जेसीजका पूर्वअध्यक्ष र पदाधिकारीहरूले पनि उहाँको विजयीलाई ऐतिहासिक उपलब्धि र प्रेरणादायी उपलब्धि भनेका छन्। रजनी थापाको अन्तर्राष्ट्रिय नेतृत्व यात्राले नेपालका युवतीहरूलाई नेतृत्व क्षेत्रमा अघि बढ्ने हिम्मत र प्रेरणा प्रदान गर्नेछ।