जनता टाइम्स

२३ कार्तिक २०८२, आईतवार १२:१२

सञ्चारमन्त्री जगदीश खरेलकाे दिक्दारी : मन्त्री बनेपछि सरकारवादी भएँ, मेरो आकाश साँघुरियो


काठमाडौं, कात्तिक २३। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पत्रकारबाट मन्त्री बनेपछि आफ्नो संसार साँघुरिएको महसुस भएको बताउनुभएको छ ।

आइतबार ‘संवाद र सञ्चारमा स्वजागरण’ विषयक कार्यक्रममा बोल्दै उहाँले मन्त्री भएपछि आफूमाथि सरकारवादीको ट्याग लागेको र त्यससँगै सम्बन्ध र पहुँच दुवै सीमित भएको अनुभव सुनाउनुभयो । मन्त्री खरेलले भन्नुभयो, ‘म पत्रकार हुँदासम्म मेरो आकाश यति फराकिलो थियो, मेरा मान्छेहरू धेरै थिए, सबैले प्रशंसा गर्थे, राम्रो प्रश्न गरेको भनेर सोध्थे, तर मन्त्री भएपछि मेरो आकाश साँघुरिएको छ, अहिले त सरकारवादी भएछु, पहिला सबैको थिएँ, अहिले सरकार भएछु, मेरो कित्ताकाट भएको महसुस गरेको छु ।’

उहाँका अनुसार, पत्रकारितामा रहँदा स्वतन्त्र रूपमा आलोचना र संवाद गर्ने अवसर धेरै हुन्थ्यो, तर जिम्मेवारीसहितको राजनीतिक भूमिकामा आएपछि आलोचनाको सिकार समेत बन्नु परेको छ । ‘मन्त्री भएपछि म आफैँमाथि पनि आलोचना सहनुपर्‍यो,’ उहाँले भन्नुभयो, ‘तर त्यो पनि लोकतन्त्रको सुन्दर अभ्यास हो ।’

कार्यक्रममा मन्त्री खरेलले व्यक्तिको आत्मपहिचान र भूमिकाप्रतिको स्पष्टता अनिवार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जब मैँले राजनीतिमा पाइला राखेँ, त्यतिबेला नै म तयार थिएँ, अब म सरकारमा जाँदै छु, मैले सोचे जस्तो संसार मात्रै होइन, त्यो संसारभित्र म प्रवेश गर्दै छु भन्ने बुझिसकेको थिएँ, हामीमा समस्या के छ भने, हामी को हौँ र के हौँ भन्ने कुरा रियलाइज गरेका छैनौँ, त्यसैले हामी बढी दुःखी हुन्छौँ।’

उहाँले सञ्चार माध्यम र पत्रकारितालाई समाजमा चेतना जगाउने प्रमुख शक्ति भनेर व्याख्या गर्दै त्यसको भूमिकामा निरन्तर आत्ममूल्याङ्कन र उत्तरदायित्व आवश्यक रहेको समेत उल्लेख गर्नुभयो ।