काठमाडौं, कात्तिक २३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशी शक्तिहरूले नेपालका युवा पुस्तालाई प्रयोग गरेर जेनजी आन्दोलनको नाममा देशमा विध्वंस मच्चाएका बताउनुभएको छ ।
आइतबार राष्ट्रिय युवा संघ नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले युवा पुस्तालाई पुरानो पुस्तासँग फाटो ल्याउने मनोविज्ञान बनाइ भदौ २३ र २४ को घटना गराएको बताउनुभयो । सामाजिक सञ्जाललाई लागु औषध दुर्वेशनसँग समेत जोड्ने काम गरेर सोसियल इनार्किजम गराउने काम भएको उहाँको भनाइ छ ।
वैधानिक शासन सत्तालाई कमजोर गराउन सुनियाेजित रूपमा भदौ २३ र २४ गतेको घटना भएको उहाँले बताउनुभयो । त्यस्तै राजनीतिक दल बलिया हुँदा फेरी पनि वैधानिक सत्ता बलियो हुन्छ भनेर राजनीतिक दल माथि आक्रमण भएको उहाँको धारणा छ । ‘यो समग्र आन्दोलनको निशाना वैधानिक सत्तालाई कमजोर बनाउनु थियो, एमाले हुँदैन थियो भने पनि सत्तामा जो थियो त्यसै माथि प्रहार हुन्थ्यो’, उहाँले भन्नुभयो ।
फागुन २१ गते सरकारले कुनै पनि हालतमा चुनाव नगराउने पोखरेलले दाबी गर्नुभयो । वैधानिक सत्ता कमजोर बनाउनको लागि प्रतिनिधि सभा विघटन गरिएको बताउँदै उहाँले वैध सत्ता समाप्तिको लागि अहिलेको खेल भएकोले सरकारले चुनाव नगराउने उहाँको धारणा छ ।

भदौ २३ र २४ गते भएको क्षतिको भरण अब कहिल्यै पनि नहुने उहाँले बताउनुभयो । देशलाई माया गर्ने नयाँ युवाहरूले त्यो काम गर्नै नसक्ने पोखरेलको धारणा छ । ‘त्यस कारण जेनजी युवाहरूले यो राष्ट्रलाई समाप्त पर्ने अभियान हो भन्ने बुझ्नु पर्दछ’, पोखरेलले भन्नुभयो ।
पोखरेलले भदौ २३ गतेको घटनाको कारण २४ गतेको घटना नभएको बताउनुभयो । भदौ २४ गतेको आगजनी, तोडफोड र हिंसाको घटनाका लागि कम्तीमा पनि १५ दिन अघि देखिको तयारी रहेको उहाँको भनाइ छ । त्यस्तै आगो लगाउन समेत अति प्रज्वलनशील रसायन प्रयोग गरिएको पोखरेलको दाबी छ । ‘भदौ २३, २४ को घटनाको साँच्चै छानविन गर्रन खोज्यो भने यो सरकार ढल्नेवाला छ, उनीहरू आफैँ फस्नेवाला छन्, त्यसैले सरकार सो घटनाको अध्ययन नै गर्न चाहँदैन’, उहाँले भन्नुभयो ।
भदौ २३ र २४ को हिंसामा को संलग्न थियो भन्ने कुरा अनुसन्धान गर्न आवश्यक नै नरहेको पोखरेलले बताउनुभयो । सो घटना गराउन कसको षडयन्त्र थियो भन्ने बारेमा भने अध्ययन अनुसन्धान हुनुपर्ने पोखरेलको धारणा छ ।













प्रतिक्रिया दिनुहोस्