भक्तपुर, कात्तिक २३ । सिटीस्क्यान गर्नुपर्ने बिरामीलाई महँगोमा सेवा लिन काठमाडौंसम्म जानुपर्ने बाध्यता भक्तपुर अस्पतालले अन्त्य गरेसँगै सेवाग्राहीको चाप ह्वात्ते बढेको छ ।
वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले गत जेठ ४ गते भक्तपुर अस्पतालमा सिटीस्क्यान मेसिन उद्घाटन गरेसँगै सञ्चालनमा आएको सिटी स्क्यानबाट पाँच महिनाको अवधिमा एक हजार ७० जना बिरामी सेवा लिएका छन् ।
भक्तपुर अस्पतालमा टाउकोको सिटीस्क्यान गर्न आउनुभएको सूर्यविनायक नगरपालिका–१ सिरुटारका अमृत केसीले निजी अस्पतालमा महँगो र काठमाडौंका सरकारी अस्पतालमा लामो समय पालो कुर्नुपर्ने अवस्थामा भक्तपुर अस्पतालबाट सर्वसुलभ, छिटो र गुणस्तरीय सेवा पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले सिटी स्क्यान गर्नका लागि निजी र सरकारी अस्पतालमा धाउँदा महँगो लागेको तर भक्तपुर अस्पतालमा आउँदा भक्तपुरकै अन्य सरकारी अस्पताल भन्दा सस्तोमा तीन हजार रुपैयाँमै सेवा पाएको बताउनु भयो ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. सुरेन्द्रप्रसाद भट्टलेले सिटीस्क्यान मेशिन जडान भएपछि सेवाग्राहीको चाप ह्वात्तै बढेको बताउनुभयो । भट्टका अनुसार ‘तत्कालीन निर्देशक डा. सुमित्रा गौतमको विशेष पहलकदमी र मागअनुसार प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले नै सिटी स्क्यान खरिदको ठेक्का सम्झौता गरी गत बैशाखमा आएको मेसिनलाई जेठ ४ गतेदेखि सञ्चालनमा ल्याइएको हो । ‘अहिले सेवाग्राहीले सहज, छिटो र गुणस्तरीय सेवा पाएकासँगै सेवाग्राहीको चाप बढेको छ,’ कार्यकारी निर्देशक भट्टले भन्नुभयो ।
रिफरल सेन्टरको रूपमा परिणत भइसकेको भक्तपुर अस्पतालमा डा. सुमित्रा गौतम मेडिकल सुपरिटेडेन्ट भएर आएपछि कोरोना महामारीको जटिल समयमा अस्पतालमा आइसियु, एनआईसियु सञ्चालनदेखि विभिन्न सेवा बिस्तार गरेको कार्यकारी निर्देशक डा. भट्टले जानकारी दिनुभयो । त्यसपछि अस्पताललाई नमुना र तीन पटकसम्म देशकै उत्कृष्ट अस्पताल बनाउन सफल भएपछि हाल यस अस्पतालमा दैनिक ९ सयदेखि ११ सय बिरामी स्वास्थ्य उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो ।
उहाँले तत्कालीन वाग्मती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेललाई उहाँका राजनीतिक सल्लाहकार डिपी ढकालको सिफारिसमा बजेट विनियोजन भएर स्वास्थ्य मन्त्रालयले बोलपत्र आव्हान गरी आठ करोडको लागतमा १२८ स्लाइसको सिटी स्क्यान मेशिन खरिद गर्ने बोलपत्र आव्हान गरेपछि डा. गौतमको पहलमा १६० स्लाईस्को अत्याधुनिक सिटी स्क्यान मेशिन मन्त्रालयले सम्झौता गरी भक्तपुर अस्पताल ल्याएको थियो । त्यही मेशिन भक्तपुर अस्पतालमा सञ्चालनमा आएपछि बिरामीलाई सहज भएको छ ।
भक्तपुर अस्पतालमा पहिलो पटक मेशिन खरिददेखि औषधी एवं औजार र उपकरण खरिदमा हुँदै आएको मनोमानी अन्त्य गर्दै डा. सुमित्रा गौतमले इ विडिङ अर्थात् अनलाइन बोलपत्र आव्हान गर्ने परिपाटी बसाले पछि खरिद पारदर्शी बन्दै आएको अस्पताल प्रशासनको भनाई छ ।
सिटीस्क्यान मेशिन दिने कम्पनीले नै अबको १० वर्षसम्म मेशिन सञ्चालनमा कुनै समस्या नआउने गरी ग्यारेन्टी गर्दै सम्झौता गरेको जानकारी दिँदै उहाँले मेशिन सञ्चालनका लागि आवश्यक पेपरसमेत १० वर्षसम्मका लागि पुग्ने गरी व्यवस्था गरेको र कम्तीमा १० वर्षसम्म यो मेशिन ढुक्कसँग सञ्चालन हुने व्यवस्था गरेको उहाँले बताउनुभयो । डाक्टर गौतमकै कामले सिटीस्क्यान मेसिन सञ्चालनमा आएको हो ।













प्रतिक्रिया दिनुहोस्