काठमाडौं, कात्तिक २४ । नेकपा (एमाले)ले पार्टी छाडेर अन्य राजनीतिक संगठनतर्फ लागेका नेताहरूलाई पुनः स्वागत गर्न ‘घर फर्क अभियान’ अन्तर्गत आज विशेष कार्यक्रम आयोजना गरेको छ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा केहीबेरमा सुरु हुन लागेको सो कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख उपस्थित रहनेछ। कार्यक्रममा सहभागी हुन देशभरबाट आएका नेता तथा कार्यकर्ताले हल खचाखच भरिएको छ।
कार्यक्रममा पूर्वमन्त्रीसमेत रहनुभएकी नेतृ रामकुमारी झाँक्री, नेता किसान श्रेष्ठलगायत समाजवादी पक्षमा गएका ठूला संख्याका नेताहरू एमालेमा पुनः फर्कँदै हुनुहुन्छ। पार्टी छाडेका धेरै कार्यकर्ता पनि आजै एमालेको पंक्तिमा पुनः सहभागी हुँदै छन्।

त्यस्तै, अन्य दलबाट पनि केही नयाँ नेताहरू एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको छ। पार्टीका अनुसार आजको अभियानले संगठनभित्र ‘पुनः एकताको लहर’ ल्याउने र आगामी निर्वाचन तयारीका लागि शक्ति सन्तुलन सुदृढ गर्ने उद्देश्य लिइएको छ।
कार्यक्रम स्थल राष्ट्रिय सभा गृह नेताकार्यकर्ताको उपस्थितिले भरिएको छ। प्रवेशद्वारमा एमालेको झण्डा, ब्यानर र ‘घर फर्क अभियानमा स्वागत छ’ लेखिएका प्यानरहरू टाँगिएका छन्।
अध्यक्ष ओलीले कार्यक्रममा पार्टी एकता, जनताको विश्वास पुनः आर्जन र संगठन सुदृढीकरणबारे सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय प्रचार विभागले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्