जनता टाइम्स

२५ कार्तिक २०८२, मंगलवार १६:४८

मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णद्वारा पद तथा गोपनीयताको शपथ


काठमाडौं, कात्तिक २५ । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रदेश प्रमुख कर्णले पद तथा गोपनीयताको शपथ लिनुभएकाे हाे।

राष्ट्रपति पौडेलले संविधानको धारा १६३ को उपधारा (२) बमोजिम कर्णलाई मधेश प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरेलगायत उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

सरकारको सिफारिसअनुसार हिजो बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी धनुषाका सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुखमा सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा आज राष्ट्रपति पौडेलले कर्णलाई नियुक्त गर्दै शपथ ग्रहण गराउनुभएको हो ।