जनता टाइम्स

२६ कार्तिक २०८२, बुधबार १८:११

जनप्रदर्शनको तयारीमा जुट्यो रामेछाप एमाले 


रामेछाप, कात्तिक २६ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछाप कात्तिक २९ गते जिल्ला सदरमुकाम मन्थलीमा हुने जनप्रदर्शनको तयारीमा जुटेको छ ।

सो प्रदर्शनलाई सफल गराउन वडा र पालिका स्तरमा बैठक, भेला तथा सभा र प्रदर्शन गरेको पार्टी अब जिल्ला स्तरको कार्यक्रममा केन्द्रित भएको छ । सोही कार्यक्रमको तयारीको लागि मन्थलीमा पार्टीले तयारी बैठक गरेको  छ ।

पार्टी जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा तथा पार्टी पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज कमलप्रसाद चौलागाईंको प्रमुख आतिथ्ययतामा भएको तयारी बैठकमा पार्टी केन्द्रीय सदस्य गीता कार्की, वाग्मती प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेल, प्रदेश कमिटी सदस्यहरू रत्नप्रसाद गौतम, आनन्दकुमार श्रेष्ठ, माया कार्की, प्रेमबहादुर तामाङ लब श्रेष्ठ, दीपशिखा दाहाल, गोपाल श्रेष्ठ, हर्कमाया माझी लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रदेश सल्लाहकार परिषद् सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी एवं सदस्यहरू, पालिका कमिटी अध्यक्षहरू पदाधिकारी, वडा कमिटी अध्यक्षहरू ,अगुवा नेताहरू, जनसङ्गठन अध्यक्षहरू तथा वडा पार्टी कमिटीका नेताहरूको समेत सहभागिता रहेको पार्टी सचिव प्रकाशकुमार कार्कीले जानकारी दिनुभयो ।

बैठकले कात्तिक २९ गते हुने जिल्ला स्तरीय जनप्रदर्शनलाई सफल पार्न जिल्लाभित्रका सबै कमिटी, जनसंगठन सहित नेता–कार्यकर्ताहरूलाई परिचालन गरी व्यापक जनसहभागिता सुनिश्चित गर्ने निर्णय गरेको छ । साथै, जनपरिचालन सफल बनाउन व्यवस्थापन तथा प्रचार कार्यलाई व्यवस्थित ढङ्गले अघि बढाउने निर्णय पनि बैठकले गरेको पार्टी प्रचार विभाग प्रमुख राकेश श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले पोलिटब्यरो सदस्य कमल चौलागाईँले प्रतिनिधि सभा पुनर्स्थापनाको विकल्प नभएको बताउँदै त्यसको लागि दबाब सिर्जना गर्न कात्तिक २९ गतेको जिल्ला र मंसिर ६ गतेको काठमाडौंको प्रदर्शन भएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बोल्दै पार्टी केन्द्रीय सदस्य गीता कार्कीले सामाजिक सञ्जालको अपराधीहरूले दुरुपयोग गरेका बताउँदै त्यसको एमालेले सदुपयोग गर्न सक्नु पर्ने बताउनुभयो । साइवरको युगमा त्यसको उपयोग गर्नुपर्ने उहाँको धारणा छ ।

अब पार्टीका नाता कार्यकर्ताको मूल्याङ्कन बैठकबाट होइन सडकबाट हुने बताउनुभयो । त्यसैले सडकका कार्यक्रम पार्टीले गर्ने मूल्यांकनाका कार्यक्रम भएको उहाँको धारणा छ ।

कार्यक्रममा बोल्दै पार्टीका वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य शान्तिप्रसाद पौडेलले पार्टी अहिले आन्दोलनमा रहेकोले यस्तो बेलामा बहनाबाजी नचल्ने बताउनुभयो । ‘आन्दोलन भोटको जस्तो कुरा होइन, यसमा बहनाबाजी चल्दैन’, उहाँले भन्नुभयो ।

पार्टीका वाग्मती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमले अहिलेको लडाइँ अस्तित्वको लडाई भएकोले जनप्रदर्शनमा उल्लेख्य सहभागिता आवश्यक रहेको औँल्याउनुभयो । एमालेको यो आन्दोलनले पार्टी बनाउनको लागि पनि ठुलो सहयोग गर्ने उहाँको धारणा छ ।

वाग्मती प्रदेश कमिटी सदस्य अहिले विषम परिस्थिति बनेकोले पार्टी आन्दोलनमा उत्रिनु परेको बताउनुभयो । पार्टीले गर्ने जनपरिचालनको कार्यक्रमले नै संसद् पुनर्स्थापन जग बलियो बनाउने उहाँको धारणा छ ।

बैठकमा प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका कमिटी तथा जनसंगठनका नेताहरूले कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा सुझाव दिनुभएको थियो ।