कृष्णहरि केसी
नोभेम्बर २ को बिहानै हामी शाङ्घाईको यात्रामा निस्केका थियौँ । चीनको राजधानी बेइजिङको सफा र व्यवस्थित रेलवे स्टेशनबाट यात्राको सुरुवात गरियो । यो यात्रा केवल दूरीको मात्र थिएन बरु यो चीनको आधुनिकता, अनुशासन, र विकास–संस्कृतिको प्रत्यक्ष अवलोकनको अध्ययन यात्रा थियो ।
म चढेको रेल थियो जी–५ हाई–स्पीड ट्रेन । यो चीनको प्रसिद्ध “फुक्सिङ” सिरिज अन्तरगतको बुलेट ट्रेन हो । ट्रेनभित्र प्रवेश गर्दा नै चीनको प्रविधिप्रतिको लगाव महसुस हुन्थ्यो-स्वचालित टिकट प्रणाली, अत्यन्त सफा कोच, आरामदायी सिट, र यात्रुहरूप्रति अनुशासित व्यवहार । यसको अधिकतम गति ३५० किलोमिटर प्रतिघण्टा सम्म पुग्दो रहेछ । बेइजिङदेखि शाङ्घाईसम्मको करिब १,३०० किलोमिटर दूरी केवल साढे चार घण्टामा पार गरियो ।
खिड्की बाहिरको दृश्यमा चीनको ग्रामीण क्षेत्र, औद्योगिक विकास र सहर विस्तारको द्रुत गति देखिन्थ्यो । खेत, फ्याक्ट्री, र सहरहरू एकअर्कासँग जोडिएका थिए-जसरी चीनको अर्थतन्त्र र प्रविधि जोडिएको छ । रेलको यात्रामा कुनै धक्का वा ढिलाइ थिएन ।
समय, प्राविधिक दक्षता र मानव अनुशासनको सुन्दर संयोजन थियो त्यो यात्रा । करिब चार घण्टा १८ मिनेटपछि साङ्घाइ पुग्दा पहिलो अनुभूति थियो-यो सहर साँच्चै चीनको भविष्य हो । विशाल रेल स्टेशन, स्वतः नियन्त्रित सुरक्षा प्रणाली, यात्रुहरूको शान्त अनुशासन, र सडकको सफाइ-सबै कुराले चिनियाँ व्यवस्थाको परिष्कृत रूप झल्काउँथ्यो ।
शाङ्घाई सहरमा पाइला राख्ने बित्तिकै उच्च भवनहरू र सफा हरियाली सडक । साँझपख गगनचुम्बी भवन र सडकहरूमा बिजुलीको चम्किरहेका थिए । यो चीनको आत्मा हो, जसले इतिहासलाई समातेर भविष्य निर्माण गरिरहेको छ । सडकका दुवै किनारामा हरियाली, झिलिमिली बिजुली, व्यवस्थित ट्राफिक र मुस्कुराउने अनुहारहरू सबैले चीनको सहरी संस्कृति र नागरिक चेतनाको नयाँ स्तर देखाइरहेका थिए ।
शाङ्घाई टावर र नदी क्रुजको झिलिमिली संसार
शाङ्घाई टेक्ने बित्तिकैको हाम्रो पहिलो यात्रा थियो शाङघाई टावर । साघाइको परिचयको रूपमा रहेको शाङ्घाई टावरले चीनको चिनारीलाई उच्चो बनाइरहेको रहेछ । चीनको गौरवशाली गगनचुम्बी संरचना शङ्घाई टावर ( Shanghai Tower) जसलाई विश्वले आधुनिक इन्जिनियरिङको आश्चर्यका रूपमा हेर्दो रहेछ । शाङ्घाई टावर, चीनको सबैभन्दा अग्लो र विश्वको दोस्रो अग्लो भवन हो । यसको उचाइ ६३२ मिटर र कुल १२८ तला छन् । यो भवन २०१५ मा पूर्ण रूपमा निर्माण सम्पन्न भएको रहेछ र यसको डिजाइनमा “हरित प्रविधि” र “सस्टेनेबल इन्जिनियरिङ” लाई विशेष स्थान दिइएको रहेछ । टावरले शाङ्घाईको वित्तीय क्षेत्र “लुजियाझुई” मा राज गर्छ, जहाँ विश्वका ठूला बैँक, कम्पनी र अन्तर्राष्ट्रिय संस्था छन् । टावरको सर्पिल आकार केवल सुन्दरता होइन, वैज्ञानिक आवश्यकता हो । यसले हावाको प्रतिरोध घटाएर भवनलाई स्थायित्व दिन्छ । यसको लिफ्टहरू विश्वकै छिटो मध्येका रहेछ, जसले यात्रुहरुलाई ७४० मिटर प्रति मिनेटको गतिमा माथिल्लो तलासम्म पुर्याउँदो रहेछ । माथिबाट तल हेर्दा, शाङ्घाईको साँझपखको दृश्य साँच्चै दिप्यमान लाग्थ्यो-असंख्य बिजुलीका बत्तीहरू, सडकहरूमा बग्ने गाडीहरूको धार, र Huangpu नदीमा झिलिमिली प्रतिबिम्ब ।

त्यो क्षणमा लागथ्यो, मानौँ सहर सास फेरिरहेको छ शान्त तर ऊर्जायुक्त रूपमा । संघाई टावरबाट शाङ्घाई सहर हेरेपछि हामी टावरको आगनीमा रहेको Huangpu नदी क्रुजमा चढियो । त्यो चारतले क्रुज जहाज अत्यन्त आकर्षक र आधुनिक थियो । पहिलो तला रेस्टुरेन्टका लागि, दोस्रो मनोरञ्जनका लागि, तेस्रो खुला बालकनीका लागि र चौथो तला अवलोकनका लागि बनाइएको रहेछ ।
करिब एक घण्टाको क्रुज यात्रा थियो । क्रुजबाट एकातिर The Bund का औपनिवेशिक शैलीका पुराना भवनहरू, अर्काेतिर आधुनिक आकाश छुन खोज्ने टावरहरू देखिन्थे । अर्थात साङ्घाईमा इतिहास र वर्तमानको जम्काभेट भैरहेको छ । नदीको छेउछाउमा संगीत, रोशनी र पानीमा परावर्तित रंगीन प्रकाशले त्यो रातलाई जीवित बनाइरहेको थियो । प्रत्येक भवन, प्रत्येक सडक र नदीको प्रतिबिम्बले सहरलाई जीवन्तता दिइरहेको थियो । जहाज आफैँ आधुनिकता र आरामको प्रतीक थियो । खुला बालकनी, अवलोकन डेक, मनोरञ्जन रेस्टुरेन्ट र रोशन डेकले यात्रालाई आकर्षक, मनोरञ्जनात्मक र स्मरणीय बनाएको थियो । त्यो एक घण्टा मानौँ एक आर्ट ग्यलरीमा प्रवेश गरिएको थियो । साँझपख लुजियाझुई वित्तीय क्षेत्रका टावरहरू झिलिमिली बत्तीमा चम्किरहेका थिए, Huangpu नदीमा प्रतिबिम्बित प्रकाश बगिरहेको थियो । शीतल हावामा उभिएर टावरहरूको चमकतर्फ हेर्दा चीनले आफ्ना सपना केवल ठोस आधारमा मात्र होइन, धैर्यता, साहस र भविष्यको उज्यालोमा ढालेको प्रष्ट बुझ्न सकिन्थ्यो ।
अँध्यारो रातमा पनि चम्की रहेका ती बिजुली बत्तिएका ज्योतिहरूले भनिरहेको थिए कि शाङ्घाई सहर केवल भवनहरूको सङ्ग्रह मात्रै होइन, यो त मानव जातीको उज्यालो भविष्यको प्रतीक हो, सपना, साहस र परिश्रमको उज्यालो ब्याड हो, संसारभर फैलन सक्ने बिउ हो ।
प्रविधिको युग – Tencent, Meituan र सिटी हल
शाङ्घाई भ्रमणका क्रममा Tencent, Meituan सिटी हल प्रवेश गर्दा चीनको डिजिटल र नवप्रवर्तनमूलक आत्माको साक्षात्कार गर्ने सुनौलो अवसर प्राप्त भयो । Tencent Holdings Limited, सामान्यतया Tencent भनेर चिनिने, चीनको सबैभन्दा प्रभावशाली डिजिटल कम्पनीमध्ये एक रहेछ । सन् १९९८ मा स्थापना भएको यसको मुख्यालय शाङ्घाई र स्यानजेनमा रहेछ । यसको स्थापना उद्देश्य केवल इन्टरनेट सेवाहरू प्रदान गर्ने र सिंगो चीनलाई डिजिटल मैत्री बनाउने, सामाजिक जीवनलाई सहज बनाउने र आर्थिक विकासमा योगदान पुर्याउने रहेको छ । Tencent को सेवा क्षेत्र अत्यन्त व्यापक छ । यसको सबैभन्दा प्रसिद्ध सामाजिक संजाल प्लेटफर्म WeChat हो, जसले म्यासेजिङ, भुक्तानी, खरीद–बिक्री, सामाजिक संजाल र सरकारी सेवा सबैलाई एकै प्लेटफर्ममा उपलब्ध गराउँछ । सुरुमा Tencent को QQ मेसेन्जर विश्वभर परिचित भयो र लाखौं प्रयोगकर्तालाई डिजिटल जीवनसँग जोड्यो । मनोरञ्जन क्षेत्रमा, Tencent ले मोबाइल र कम्प्युटर गेम्स विकास र प्रकाशनमा अग्रणी भूमिका खेलिरहेको छ, जसमध्ये Honor of Kings / PUBG\ Mobile अत्यन्त लोकप्रिय छन् ।
हालको प्रयोगको अवस्था हेर्दा, Tencent चीनको लगभग सबै नागरिक दैनिक जीवनमा प्रवेश गरेको छ । यसको WeChat Pay र Tencent Cloud जस्ता सेवाले आर्थिक लेनदेन, बैङ्किङ, शिक्षा र स्वास्थ्य सेवा डिजिटल मैत्री बनाएको छ । यसले चीनलाई “स्मार्ट समाज”मा रूपान्तरण गरिरहेको छ । जहाँ नागरिकहरू डिजिटल सेवा प्रयोगमार्फत जीवन सहज, छिटो र प्रभावकारी बनाइरहेका छन् ।

Tencent को प्रभाव केवल चीनमा मात्रै सीमित छैन । यसको नवप्रवर्तन, स्मार्ट सहरका मोडल, बिग डाटा विश्लेषण र AI समाधानहरूले विश्वका अन्य देशलाई पनि प्रेरित गरेका छन् । विभिन्न देशहरूले Tencent को डिजिटल रणनीति र स्मार्ट सेवा प्रणालीबाट सिक्न सक्छन् । विशेष गरी सामाजिक पहुँच, वित्तीय समावेशिता, डेटा सुरक्षा र सेवा पारदर्शितामा । Tencent ले पारदर्शिता कायम राखेर डिजिटल प्रणालीको विश्वसनीयता बढाएको छ, जसले सरकारी, व्यावसायिक र नागरिक स्तरमा विश्वास निर्माण गरिरहेको छ ।
सारांशमा भन्नुपर्दा, Tencent केवल डिजिटल कम्पनी मात्रै होइन यो चीनको डिजिटल क्रान्ति, स्मार्ट समाज र परिवर्तनशील भविष्यको परिचायक हो । यसको प्रणाली, प्रविधि र सेवा नागरिक जीवनसँग गहिरो रूपमा जोडिएको छ, र विश्वका अन्य देशहरूले यसबाट डिजिटल नीति, सामाजिक सहभागिता र प्रविधिको समावेशी प्रयोग सिक्न सक्छन् ।
त्यसैले यो केवल भ्रमण मात्रै नभएर आधुनिक सभ्यताको एउटा खुला कक्षामा प्रवेश थियो । जहाँ प्रविधि, प्रशासन र नागरिक एउटै धागोमा गाँसिएका देखिन्थे । सिटी हल प्रविधिको राजधानीभित्रको अर्को सहर रहेछ । यो केवल कार्यालय मात्रै नभएर चीनको डिजिटल क्रान्तिको केन्द्र रहेछ ।
यहाँबाट WeChat, QQ, Tencent Cloud र अनगिन्ती कृत्रिम बुद्धिमत्ता तथा बिग डाटा प्रविधिहरू सञ्चालन हुँदा रहेछन् । भवन आफैँ प्रविधिको प्रतीक थियो । ग्लास र संयोजन, हरित बगैँचा र सौर्य ऊर्जाले चल्ने प्रणाली । Tencent को प्राङ्गणमा प्रवेश गर्दा नै “डिजिटल भविष्य” को अनुभूति हुन्छ । स्वचालित गेट, AI मा आधारित सुरक्षा प्रणाली, र QR कोडले नियन्त्रित प्रवेश प्रक्रिया- सबैतिर दक्षता र सफाइ ।
कर्मचारीहरू अनुशासित, सादगीपूर्ण तर परिवर्तनशील भावनाले भरिएका देखिन्थे । उहाँहरूसँगको छोटो संवादमा थाहा भयो- Tencent केवल प्रविधि कम्पनी होइन, चीनको “स्मार्ट सोसाइटी” निर्माणको इञ्जिन हो । शिक्षा, स्वास्थ्य, यातायातदेखि प्रशासनसम्म यसको डेटा प्रणाली जोडिएको रहेछ । त्यो भवनभित्रको वातावरणले एउटा कुरा स्पष्ट देखाउँथ्यो- चीन अब केवल उत्पादनमा होइन, कृत्रिम बुद्धिमत्ता र क्लाउड प्रविधिमा पनि विश्वलाई नेतृत्व गर्न तयार छ ।
Shanghai People’s City Practice Exhibition Hall– नागरिकताबाट विकासतर्फ
हाम्रो अर्को प्रमुख गन्तव्य थियो Shanghai People’s City Practice Exhibition Hall. यो भवन शाङ्घाई सहरको सामाजिक प्रशासन र नागरिक अभ्यासको प्रदर्शन स्थल हो । भवनमा प्रवेश गरेपछि तुरुन्तै महसुस भयो कि यो प्रदर्शनी हल होइन बरु यो सहरको स्मार्ट प्रणाली र नागरिक सहभागिताको जीवित प्रयोगशाला हो ।
Shanghai People’s City Practice Exhibition Hall शाङ्घाईको एक अनौठो सार्वजनिक प्रदर्शनी स्थल हो । जसको उद्देश्य सहरको विकास, प्रशासन र नागरिक सहभागिताको व्यावहारिक अनुभव जनतासम्म पुर्याउनु हो । यो हल केवल सङ्ग्रहालय मात्रै नभएर यहाँ नागरिक, विद्यार्थी, शोधकर्ता र सरकारी अधिकारीहरूले सहरी योजना, नीति निर्माण र स्मार्ट सिटी अभ्यास प्रत्यक्ष अवलोकन गर्न सक्छन् । हलभित्रको वातावरणले देखाउँथ्यो कि यहाँ नागरिकहरूले केवल अवलोकन मात्र गर्ने होइनन्, प्रत्यक्ष अनुभव र सहभागिता मार्फत प्रविधिलाई सिकिरहेका छन् । यहाँ भित्र छिरेपछि पहिलो अनुभूति थियो यो चीनको “जनकेन्द्रित प्रशासन” को व्यावहारिक पाठशाला हो ।
जनताले यहाँ विभिन्न इन्टरएक्टिभ डिजिटल मोडल र स्क्रीनहरू प्रयोग गरेर सिक्ने अवसर पाउँछन् । उदाहरणका लागि, उनीहरूले स्मार्ट ट्राफिक प्रणाली, डिजिटल स्वास्थ्य सेवा, र वातावरणीय निगरानीका मोडलहरूमा आफ्नो सहभागिता देखाउन र परिणाम बुझ्न सक्छन् । विद्यार्थी र स्थानीय बासिन्दाहरूले विशेष कार्यशालामा भाग लिएर स्मार्ट सेवा प्रणाली कसरी काम गर्छ, नागरिकको सुझावले नीति निर्माणमा कसरी प्रभाव पार्छ भन्ने कुरा अनुभव गरी प्रत्यक्ष सिकाइ गर्छन् । यसले केवल जानकारी दिन होइन, उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी बनाउने मौका पनि दिँदोरहेछ ।
यस प्रदर्शनी हलमा प्रदर्शनी, भिडियो, रियल–टाइम डेटा र डिजिटल म्यापिङ प्रयोग गरिन्छ । आगन्तुकहरूले मोडलमार्फत देख्छन् कि सहरमा कस्तो प्रकारको नागरिक सहभागिता प्रभावकारी छ र त्यसको परिणाम सहरको सेवा प्रणालीमा कसरी देखिन्छ । यो व्यावहारिक अभ्यासले नागरिकलाई नीतिगत प्रक्रियामा सक्रिय र जिम्मेवार बनाउँछ ।
यहाँका प्रदर्शनी हलहरूमा शाङ्घाइको विकासको कथा चित्र, नक्सा, भिडियो र प्रविधिमार्फत प्रस्तुत गरिएको थियो । कसरी नागरिक सहभागिताबाट नीति निर्माण हुन्छ, कसरी सहरी योजना नागरिक सुझावमा आधारित हुन्छ- यी सबै उदाहरणले चीनको प्रशासनिक संरचनामा आएको परिवर्तनलाई देखाउँथ्यो । त्यहाँका इंटरएक्टिभ डिजिटल स्क्रिन र स्मार्ट सिटी मोडलहरू ले आगामी दशकमा चीनको सहर कस्तो हुनेछ भन्ने स्पष्ट दृष्टि दिन्थे । फोटो ग्यालरीमा स्थानीय बासिन्दाहरूले गरेका सामाजिक योगदानहरू पनि प्रदर्शित थिए वातावरण संरक्षण, सामुदायिक स्वच्छता, र डिजिटल सेवा प्रयोगमा जनसहभागिता । यो स्थानले भन्थ्यो चीनको सहरहरू सरकारले मात्रै होइन, नागरिकहरूले पनि निर्माण गर्छन् ।
नयाँ अर्थतन्त्रको नयाँ इञ्जिन
हाम्रो अर्को गन्तव्य थियो Meituan चीनकै अग्रणी अनलाइन सेवा कम्पनी । Meituan ले केवल फुड डेलिभरी होइन, होटेल बुकिङ, यातायात, ट्याक्सी सेवा र हजारौँ डिजिटल कारोबारहरू सम्हाल्दो रहेछ । त्यहाँको प्रदर्शनीमा “स्मार्ट लॉजिस्टिक्स सिस्टम” को अवलोकन गर्न पाइयो । रोबोटिक डेलिभरी, डेटा विश्लेषण र ग्राहक व्यवस्थापन प्रणालीले चीनको अनलाइन अर्थतन्त्र कति परिष्कृत छ भन्ने प्रष्ट देखाउँथ्यो । कर्मचारीहरूसँगको छोटो कुराकानीमा थाहा भयो कि Meituan अहिले चीनभर २० करोडभन्दा बढी प्रयोगकर्ताका लागि सेवा दिन्छ, र दिनहुँ करिब ५० मिलियन अर्डरहरू प्रशोधन गर्छ । त्यहाँको कार्यस्थलमा औपचारिकता भन्दा बढी उत्साह थियो । युवा, जोसिला र आत्मविश्वासी टोलीले चीनको “इनोभेसन–ड्रिभन इकोनोमी” लाई अघि बढाइरहेका छन् ।
यी स्थानहरूको अवलोकन पछि महसुस हुन्छ कि चीनको आधुनिकता केवल भवन र सडकमा मात्रै सीमित नभएर सोच र प्रणाली पनि झन् व्यापक छ । चीनमा प्रविधि केवल सुविधा मात्रै होइन, सामाजिक जिम्मेवारी हो र डेटा केवल सङ्ख्या होइन, नागरिक सेवाको माध्यम हो । भन्ने गहिरो सन्देश प्रवाह गरिरहेको छ ।
सिपिसीको प्रथम महाधिवेशन हल – इतिहाससँग प्रत्यक्ष अनुभव
शाङ्घाई स्थित चिनिया कम्युनिष्ट पार्टी (CPC) को प्रथम महाधिवेशन हल हाम्रो अर्को गन्तव्य थियो । २ जना महिला सहित १३ जना व्यक्तिहरूले सन् १९२१ को जुलाई १ मा चीनको शाङ्घाईमा चिनिया कम्युनिष्ट पार्टीको स्थापना गरेका भए तापनि २३ जुलाई १९२१ मा सम्पन्न पहिलो महाधिवेशनमा १२ जनाको मात्रै सहभागिता रहेछ । खास त्यही दिनबाट चिनिया जनताको क्रान्तिकारी पार्टीको औपचारिक घोषणा भएको थियो ।

हलमा प्रवेश गर्दा महसुस हुन्थ्यो कि त्यहाँ इतिहास जिउँदो छ, सुरक्षित छ र प्रत्येक पाटोले प्रारम्भिक क्रान्तिकारीहरूको प्रतिबद्धता पढाइरहेको छ । भवनभित्रको वातावरण सादगीपूर्ण भए पनि अत्यन्त ऐतिहासिक र संरक्षित थियो । हलको भित्ताहरू बलियो र शताब्दी पुराना संरचनासँग जकडिएका थिए । बैठकमा प्रयोग भएका टेबुल र कुर्सीहरू, जसमा १२ प्रतिनिधिहरूले बैठक गरेका थिए, आज पनि मूल अवस्थामा सुरक्षित छन् ।
ती टेबुल–कुर्सीहरू एक शताब्दी पुराना भए पनि विशेष संरक्षण विधि मार्फत अहिलेसम्म दुरुस्तै राखिएका छन् । ती टेबल कुर्सीले त्यहाँ बसेका क्रान्तिकारीहरूको इतिहासलाई पनि जीवन्त बनाइरहेका छन् । भवनमा राखिएका दस्ताबेज, फोटो र पत्राचारहरू विशेष महत्वका छन् ।
कम्युनिष्ट घोषणा पत्रको पहिलो चिनियाँ अनुवाद, बैठकको कार्यसूची र प्रारम्भिक सदस्यहरूको नामावली यी सबै वस्तुहरू विशेष कक्ष र सुरक्षा प्रणाली मार्फत प्रदर्शित थिए । जसले तिनीहरूको ऐतिहासिक मूल्य र यथार्थतालाई संरक्षण गरेको छ । साथै, हलभित्रको सजावटमा मार्क्स, एङ्गेल्स, लेनिन र माओ र सिपिसीका संस्थापकहरूका तस्बिरहरू राखिएका थिए ।

इतिहास केवल समयको रेकर्ड मात्र होइन, सपना, प्रतिबद्धता र वर्तमानका लागि प्रेरणा पनि हो । भवनभित्रका संरचना, टेबुल–कुर्सी, दस्ताबेज र प्रदर्शनहरूले अहिले पनि ती प्रारम्भिक क्रान्तिकारी योद्धाहरूसँग प्रत्यक्ष रूपमा जडान गराइरहेको छ । ती वस्तुहरूले केवल भौतिक इतिहास मात्र होइन, चीनको राजनीतिक यात्रा, सङ्घर्ष र दृढता झल्काउँथे ।
The Gubei Civic Center– नागरिक सहभागिता र सामुदायिक नेतृत्व
त्यसपछि भ्रमण भयो The Gubei Civic Center. यो स्थल केवल प्रशासनिक केन्द्र मात्रै नभएर स्थानीय समुदायको सहभागिता र नेतृत्वलाई प्रोत्साहन गर्ने स्थल रहेछ । यहाँका कार्यक्रम, कार्यशाला र प्रशिक्षणले नागरिकलाई जिम्मेवार, सचेत र सृजनात्मक बनाउने उद्देश्य राखेका छन् । भित्र गएर अवलोकन गर्दा, यस केन्द्रले शाङ्घाईको “स्मार्ट, सहभागी र सक्रिय नागरिक समाज” को प्रत्यक्ष उदाहरण प्रस्तुत गरिरहेको थियो ।
बाहिरबाट भवन सामान्य देखिन्थ्यो तर त्यहाँ समुदाय, सेवा र अन्तर्राष्ट्रिय सहभागिता एकसाथ जीवन्त थिए । हलभित्रको वातावरणले देखाउँथ्यो कि शाङ्घाईले केवल सडक र टावर निर्माणमा मात्रै ध्यान दिएको छैन बरु नागरिकलाई केन्द्रमा राखेर सहरलाई प्रविधिमैत्री बनाइरहेको छ । व्यवस्थित र बहु सेवा कक्ष, सूचना प्यानल र अन्तर्राष्ट्रिय नागरिकका लागि विशेष सुविधा उपलब्ध थिए । यहाँ स्वास्थ्य, कानुनी, वित्तीय र सामाजिक सेवाका लागि नागरिकलाई एकै स्थानमा सहज पहुँच प्राप्त छ । आगन्तुकले केवल अवलोकन मात्र गर्दैनन् । नियमित कार्यशाला, कला‑शिक्षण, बालक‑क्याम्प र उद्यम कार्यक्रममा सहभागी भएर अनुभव पनि लिइरहेका हुन्छन् ।
Gubei Civic Center को मुख्य विशेषता यसको समावेशी र पहुँचयोग्य संरचना हो । यहाँ “१५ मिनेट जीवन वृत्त” अवधारणा लागू गरिएको छ, जसले देखाउँछ कि नागरिकले आफ्नो घरबाट सजिलै सेवा प्राप्त गर्न सकुन् । नोभेम्बर ८, २०२५ मा केन्द्रले आयोजना गरेको 6th International 3e Talent Fai जस्ता कार्यक्रमले यसलाई अन्तर्राष्ट्रिय प्रतिभा र उद्यमशीलता मञ्च पनि बनाएको छ ।
Gubei Civic Center केवल प्रशासनिक सेवा केन्द्रको रूपमा यो नागरिक, समुदाय र अन्तर्राष्ट्रिय सहभागिता को जीवित नमुना बनेको छ । भवनका प्रत्येक कक्ष, सूचना बोर्ड र प्रयोगशाला प्रष्ट देखाउँछन् कि सहरको विकासमा मानव‑केन्द्रित दृष्टिकोण कति महत्त्वपूर्ण छ । सहर विकासको वास्तविक सफलता केवल भौतिक संरचनामा होइन, नागरिकको पहुँच, सेवा र सहभागितामा निहित हुन्छ भनेर यसले सन्देश प्रवाह गरिरहेको छ ।
Baosteel- संसारकै ठुलो इस्पात उद्योग
यस भ्रमणको महत्त्वपूर्ण अर्को गन्तव्य थियो Baosteel उद्योग । सन् १९७८ मा स्थापना भएको यो चीनको प्रमुख इस्पात उद्योग हो, र यसको वार्षिक उत्पादन २० मिलियन टनभन्दा बढी छ । कारखानाभित्र प्रवेश गर्दा विशाल कन्वेयर बेल्ट, अटोमेटेड रोबोटिक प्रणाली र अत्याधुनिक सुरक्षा व्यवस्थाले केवल औद्योगिक शक्ति मात्र देखाएको थिएन, चीनको परिश्रम, संगठन र प्राविधिक क्षमता पनि प्रष्ट्याएको थियो । Baosteel को इतिहास आफैँ प्रेरक रहेछ । साना प्रारम्भिक योजना र स्थानीय उत्पादनबाट सुरु भएको यो उद्योग आज विश्व स्तरको इस्पात आपूर्तिकर्ता बनेको रहेछ । उत्पादन प्रक्रिया, गुणवत्ता नियन्त्रण, र अटोमेशनमा चीनले विश्वसामु चुनौती खडा गरेको छ ।
शाङ्घाईको Baoshan जिल्लामा अवस्थित Baosteel Group Corporation विशाल औद्योगिक संरचनाभित्र चीनको इस्पात उद्योगको प्रविधि, इतिहास र भविष्यको मञ्च जीवित छ । Baosteel चीनको अटोमोबाइल, भवन, रेल, र समुद्री उद्योगका लागि उच्च गुणस्तरीय इस्पात उत्पादन गर्दो रहेछ । यहाँ कोल्ड‑रोल्ड अटोमोबाइल सिट, लो‑कार्बन स्टिल र अन्य औद्योगिक इस्पात उत्पादन प्रक्रियाहरू प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त भयो । १९९८ मा यसले Shanghai Metallurgical Holding Group र Shanghai Meishan Group सँग समायोजन गरेर Shanghai Baosteel Group Corporation बनेको रहेछ । अहिले यो China Baowu Steel Group को भाग हो, जसले चीनलाई विश्वस्तरीय इस्पात उत्पादकको रूपमा स्थापित गरेको गरिरहेको ।
China International Import Expo – वैश्विक व्यापारको संगम
संघाई भ्रमणको महत्त्वपूर्ण उद्देश्य थियो China International Import Expo -CIIE सहभागिता । CIIE चीनको पहिलो राष्ट्रिय‑स्तरको आयात‑थीम प्रदर्शनी हो । यो मञ्च चीनले विदेशी वस्तु‑सेवाहरूलाई आफ्नो बजारमा स्वागत गर्ने दृढ सङ्केत स्वरूप सुरु गरेको रहेछ । चीनको ठुलो उपभोक्ता बजारलाई विश्वसँग खुला बनाउने, विदेशी वस्तु तथा सेवाहरूको आयात बढाउने, अन्तर्राष्ट्रिय व्यापार‑सहयोग र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रपति Xi Jinping द्वारा 2017 मा यो कार्यक्रमको घोषण गरिएको थियो र पहिलो संस्करण 2018 मा Shanghai मा सम्पन्न भएको थियो । सो वर्षदेखिदेखि हरेक वर्ष आयोजना हुँदै आएको यो प्रदर्शनी चीनको “विश्वसँग खुला सहकार्य”को प्रतीक रहेछ । विश्वका १ सय भन्दा बढी देशका प्रतिनिधि, कम्पनी र सरकारी नेताहरू यहाँ सहभागी थिए । हामी त्यहाँ विभिन्न उद्योगको प्रदर्शनी अवलोकन गर्यौँ ।
Artificial Intelligence -AI & Robotics– स्मार्ट कारखाना, रोबोटिक डेलिभरी, AI आधारित स्वास्थ्य प्रणाली, Automobile & Helicopter– इलेक्ट्रिक कार, उन्नत ड्रोन र हेलिकप्टर मोडेल, Rail & Automation– उच्च गतिको रेल, स्मार्ट सिटी प्रणाली, त्यहाँ उपस्थित चिनियाँ नेताहरू र अन्तर्राष्ट्रिय अतिथिहरूले यस प्रदर्शनीलाई केवल व्यापारिक गतिविधि होइन, वैश्विक नवप्रवर्तन र सहयोगको मञ्च बनाएको बताएका थिए ।
यस एक्सो स्पष्ट बताउँदै थियो कि आधुनिक चीन केवल आफ्नै लागि मात्रै होइन, संसारसँग साझा भविष्यको निर्माणमा अग्रसर छ ।
विश्वका १५२ देशका प्रतिनिधि र ३४०० भन्दा बढी कम्पनी र ५०० भन्दा बढी बहुराष्ट्रिय कम्पनीहरूको सहभागितामा सम्पन्न यो प्रदर्शनी चीनको खुला बजार र अन्तर्राष्ट्रिय साझेदारीको प्रतीक हो । प्रत्येक बुथमा नवीनतम उत्पादन, सेवा र प्रविधिहरू प्रदर्शित थिए । प्रदर्शन स्थलको संरचना व्यवस्थित र दिगोपन सोचसहित बनाइएको थियो । हलका मार्ग निर्देशन, डिजिटल प्यानल र बहुभाषिक सूचना प्रणालीले विदेशी आगन्तुकलाई सजिलो पहुँच र अनुभव प्रदान गरेका थिए । यहाँ आयोजित व्यापार बैठक, नीति संवाद र नवप्रवर्तन विमोचन कार्यक्रमहरूले अनुभवलाई अझ अर्थपूर्ण बनाएको छ ।

शाङ्घाई सहर, संसारको रहर
शाङ्घाइ चीनको आर्थिक शक्ति र प्रविधिको केन्द्र हो । व्यवस्थित सडक, चम्किला सार्वजनिक स्थल र हरियालीले सजिएको सहरले हरकोहीलाई मन्त्रमुग्ध बनाउँछ । यहाँको सफाइ, फोहोर व्यवस्थापन र सार्वजनिक सेवाको दक्षता केवल भौतिक सौन्दर्य मात्रै नभएर सहर र नागरिकको मनोविज्ञानको प्रतिबिम्ब हो । हरेक गल्ली, हरेक पुलले स्पष्ट पार्छ कि सही व्यवस्था भनेको केवल नियम मात्रै होइन, संस्कार र दायित्वको समिश्रण पनि हो ।
शाङ्घाइ सहर नियोजन, उद्योग र डिजिटल नवप्रवर्तनको प्रत्यक्ष पाठशाला हो । एउटा सहर सुन्दर, शान्त र समृद्ध कसरी बन्न सक्छ भन्ने कुरा शाङ्घाईले संसारलाई सिकाइरहेको छ । अपराधजन्य गतिविधि शून्यप्राय छ । सबै सबैले सुरक्षित महसुस गरिरहेका देखिन्छन् । सबै यो शान्तिमा रमाइरहेका छन् । समृद्धिको यात्रामा कुदी रहेका छन् र भनिरहेका छन् सहर होस त शाङ्घाई जस्तो ।













प्रतिक्रिया दिनुहोस्