काठमाडौं, कात्तिक २७। नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले पार्टीमा पुनः फर्किने अभियानलाई संस्थागत रूपमा अघि बढाउँदै पूर्व र हालका कार्यकर्तालाई आफ्नो विवरण पठाउन आह्वान गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत एक सार्वजनिक सन्देश जारी गर्दै एमालेमा पुनः एकताको लहर तीव्र बन्दै गएको उल्लेख गर्नुभएको छ । उहाँको भनाइमा, नेपाली कम्युनिष्ट आन्दोलनको लामो इतिहास, संघर्ष र बलिदानको विरासत बोकेको एमाले पार्टीमा फर्किने अभियान अब देशभर फैलिएको छ । ‘हामी नेपाली कम्युनिष्ट आन्दोलनको विरासत बोकेको पार्टी, नेपाली कम्युनिष्ट आन्दोलनको प्रवाह हौँ’ उहाँले लेख्नुभएको छ, ‘हामी धेरै मान्छे/योद्धाहरूको जीवन र जवानी खर्चेर बनाएको आफ्नै पार्टी नेकपा (एमाले) फर्किने अभियानमा छौँ, हामीमध्ये कतिपय फर्किसक्नुभएको छ ।’
झाँक्रीले अहिले सदस्यता अद्यावधिक र सांगठनिक पुनर्संरचनाको क्रममा सबै पुराना तथा फर्किन इच्छुक कार्यकर्तालाई आफ्नो विवरण पठाउन आग्रह गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘यो क्रममा सदस्यता अद्यावधिक र सांगठनिक कामको जिम्मेवारीका लागि विवरण आवश्यक छ, नेकपा (एकीकृत समाजवादी) भएपछि वा नेकपा (एमाले) हुँदा नै पार्टी सदस्य हुनु भएकाले आफ्नो सदस्यताको विवरण, हाल जिम्मेवारी बहन गरिरहनु भएको कमिटी/पद, ठेगाना, अन्य जनसंगठन, पेसागत संगठन, भातृसंगठन वा जनवर्गीय संगठनमा रहेको पद र सम्पर्क विवरण पठाउनुहोस् ।’
उहाँले सबै विवरण पाँच दिनभित्र पठाउन अनुरोध गर्दै आफ्नो सम्पर्कका माध्यमहरू फोन, व्हाट्सएप र फेसबुक मेसेन्जर मार्फत जानकारी लिन सकिने बताउनुभएको छ ।
झाँक्री हाल नेकपा (एमाले) फर्किने अभियानको सक्रिय नेतृत्वकर्ता हुनुहुन्छ । उहाँले पार्टीभित्र एकता र पुनर्गठनको प्रक्रियालाई ‘कम्युनिष्ट आन्दोलनको निरन्तरता र सुधारको अवसर’का रूपमा व्याख्या गर्दै एमालेलाई ‘जनताको भरोसाको केन्द्र’ बनाउने सङ्कल्प प्रकट गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्