जनता टाइम्स

२७ कार्तिक २०८२, बिहीबार ११:२०

नेपाल प्रहरीको कमण्ड आजबाट दानबहादुर कार्कीको काँधमा


काठमाडौं, कात्तिक २७ । नेपाल प्रहरीको कमाण्ड आजदेखि दानबहादुर कार्कीले सम्हाल्नुभएको छ । प्रहरी नियमावलीमा तोकिएको ३० वर्षे सेवा अवधिका कारण अघिल्ला महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ कात्तिक  २६  गते राति १२ बजेबाट अनिवार्य अवकाशमा गएपछि कार्कीले नेपाल प्रहरीको सर्वोच्च पद सम्हाल्नु भएकाे हाे ।

कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको नयाँ आईजीपीमा नियुक्त गरेको थियो । नियुक्तिपछि उहाँले आज प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर औपचारिक रुपमा जिम्मेवारी ग्रहण गर्नु  हुने छ। गृह मन्त्रालयमा दर्ज्यानी चिह्न (इन्सिग्निया) लगाइसकेपछि उहाँले पदभार ग्रहण गर्नु छ ।

कार्कीले हालै २४ भदौमा जेन–जी आन्दोलनका बेला काठमाडौं उपत्यकाको कमाण्ड सम्हाल्नुभएको थियो । त्यसअघि २३ भदौमा उपत्यका कमाण्ड एआईजीविहीन रहँदा उहाँलाई जिम्मेवारी दिइएको थियो । उपत्यकाको कमाण्ड सम्हाल्नु अघि उहाँ प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागका प्रमुख हुनुहुन्थ्यो ।

डीआईजीका रूपमा रहँदा कार्कीले लुम्बिनी प्रदेशको कमाण्ड सम्हाल्नुभएको थियो । त्यसअघि एसएसपी पदमा रहँदा उहाँले काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्व गर्नुभएको थियो, जस क्रममा भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र मुद्दा सञ्चालन भइरहेको थियो ।

काठमाडौँ जिल्ला प्रहरी परिसरदेखि उपत्यका प्रहरी कार्यालयसम्मका चुनौतीपूर्ण जिम्मेवारी सम्हाल्दै आएका कार्की ‘इमान्दार र अनुशासित प्रहरी अधिकारी’का रूपमा परिचित मानिनुहुन्छ।

उहाँ कुनै ठूलो आर्थिक विवादमा नजोडिएका प्रहरी अधिकृतका रूपमा चिनिनुहुन्छ । फील्ड स्तरदेखि आईजीपी सचिवालयसम्मको प्रशासनिक र संयोजनात्मक अनुभव उहाँसँग रहेको छ ।

विदेशका विभिन्न मुलुकमा तालिम प्राप्त गर्नुभएका कार्की नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताको जिम्मेवारी समेत वहन गरिसक्नुभएको छ ।

नयाँ प्रहरी प्रमुखका रूपमा कार्कीले संगठनभित्र अनुशासन, सार्वजनिक विश्वास र व्यावसायिक क्षमताको सुदृढीकरणलाई प्राथमिकतामा राख्ने विश्वास लिइएकाे छ ।