काठमाडौं, कात्तिक २९। नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि छानबिनका नाममा बयान लिने वा पक्राउ गर्ने प्रयास भए त्यसको कडा प्रतिवाद हुने चेतावनी दिनुभएको छ। उहाँका अनुसार सुशीला कार्कीको नेतृत्वमा रहेको सरकारले देशी–विदेशी शक्तिसँग मिलेर एमालेमाथि षड्यन्त्र गरेको अवस्थामा सरकारलाई ‘सिंहदरबारबाटै लखेटिने’ अवस्था सिर्जना हुनसक्छ।
सिन्धुलीमा नेकपा एमालेद्वारा आयोजित जनसभालाई शनिबार सम्बोधन गर्दै बस्नेतले हालको जेनजी आन्दोलन एमाले र अध्यक्ष ओलीमाथि प्रहार गर्ने उद्देश्यले प्रेरित रहेको दाबी गर्नुभयो। उहाँले ओलीका नाममा चारवटा घर जलाइएका उल्लेख गर्दै ‘घर जल्दा राष्ट्रिय सम्पदा, पुस्तकालय र राज्यको सम्पत्ति नष्ट भएको’ बताउनुभयो।
उहाँले सिंहदरबार, अदालत र राष्ट्रिय सम्पदामाथि आगजनी गर्ने समूहलाई ‘आतङ्ककारी, जल्लादहरू र लुसिफर’ को संज्ञा दिनुभयो। बस्नेतका अनुसार प्रहरीको मनोबल कमजोर पारिएको र हतियार लुटिने जस्ता घटना घटी रहेका छन्। यस्ता स्थितिमा प्रहरी संस्थालाई सुदृढ बनाउन युवा संघका नेतृत्वले सक्रिय भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो।
बस्नेतले नयाँ पुस्तालाई ‘भत्काउन, लुट्न, मान्छे मार्न उकास्ने तत्त्व’ लुसिफर र सुदन गुरुङ भएको आरोप लगाउनुभयो। उहाँले पूर्वरक्षा मन्त्री ईश्वर पोखरेलमाथि आक्रमण गर्ने ‘प्रचण्डका स्यालहरू’ लाई एक दिन कानुनी कारबाहीको दायरामा ल्याइने उद्घोष गर्नुभयो।
गिरी बन्धु टी–स्टेट प्रकरणमा अध्यक्ष ओलीमाथि मुद्दा चलाउने षड्यन्त्र कहिल्यै सफल नहुने दाबी गर्दै उहाँले सोही विषयमा ‘१४ हजार कैदीको भाइ नाइकेलाई बयानका नाममा हजुरआमा सुशीला कार्कीको चेम्बरमा लगिएको’ उदाहरण समेत प्रस्तुत गर्नुभयो।
जेनजी पुस्ताका माग एमालेको ११ औँ महाधिवेशनमार्फत सम्बोधन हुने दाबी गर्दै बस्नेतले आगामी निर्वाचनमा एमालेले जेनजी पुस्तालाई सूर्य चिन्ह दिएर अगाडि बढाउने बताउनुभयो।
जनसभालाई सम्बोधन गर्दै एमाले सिन्धुली जिल्ला इञ्चार्ज मनोजजंग थापाले जेनजी उपद्रोहका नाममा राष्ट्रलाई अस्थिर बनाउने प्रयास भएको र सिन्धुलीले त्यसलाई कहिल्यै स्वीकार नगर्ने उल्लेख गर्नुभयो। २३ र २४ गतेका घटनापछि गठन भएको छानबिन समितिको निर्णयलाई मान्यता नदिने घोषणा गर्दै थापाले वर्तमान सङ्कटको समाधान एमालेले मात्र गर्न सक्ने दाबी गर्नुभयो।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य उमा कोइरालाले एमालेमाथि भएको आक्रमणको प्रतिवाद गर्न आवश्यक रहेको बताउनुभयो। स्वागत मन्तव्य राख्दै जिल्ला उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख कर्ण घिसिङले सिन्धुलीमा एमाले कमजोर नबनिने चेतावनी दिनुभयो।
कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष महेन्द्र श्रेष्ठले गर्नु भएको थियो। कार्यक्रममा केन्द्रीय सदस्यहरू कमलजंग राई, विषम लाल अधिकारी दनुवार, निरु दर्लामी, गणेशकुमार पहाडीलगायतका नेता–कार्यकर्ता उपस्थित हुनुहुन्थ्यो।













प्रतिक्रिया दिनुहोस्