जनता टाइम्स

३० कार्तिक २०८२, आईतवार २२:०४

गँजडीलाई विद्वान, भत्काउनेलाई निर्माता र विध्वंस गर्नेलाई सर्जक बनाउन खोजिँदै छ : केपी ओली 


भक्तपुर, कात्तिक ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा बढ्दै गएको बेथिति, शिक्षा प्रणालीमा देखिएको विकृति र राष्ट्रिय पहिचानमाथि परेको प्रभाव प्रति चिन्ता व्यक्त गर्नु भएको छ ।

आइतबार बालकोटस्थित आफ्नो निवासमा प्रेस चौतारी नेपाल सम्बद्ध पत्रकारहरूसँग भेट गर्दै उहाँले समाजमा विविध असमानता र अव्यवस्था गहिरिँदै गएको उल्लेख गर्नुभयाे । ‘समाजमा अनेक खालका बेथिति जरा गाड्दै छन,गँजडीलाई विद्वान, भत्काउनेलाई निर्माता र विध्वंस गर्नेलाई सर्जक बनाउन खोजिँदै छ।’

शिक्षा क्षेत्रमा देखिएको विकृतिबारे बाेल्दै उहाँले निजी विद्यालयहरूले बालबालिकामा देशभक्तिको भावना सिर्जना गर्न विफल भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘बालबालिकालाई देश पढाइएन, विदेश पढाइयो, निजी विद्यालयमा अनेरास्ववियुलाई छिर्न दिइएन तर विदेशी एजेण्टलाई छिराइयो।’

उहाँका अनुसार निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई देशको इतिहास, संस्कृति र गौरवबारे आवश्यक जानकारी नदिई नकारात्मक धारणा मात्र भरिने वातावरण बनाइएकाे छ। उहाँले भन्नुभयाे, ‘देशभक्ति सिकाइएन, विदेशभक्ति सिकाइयो, बालबालिकालाई उल्टो बाटो हिँड्न सिकाइयो।’

राष्ट्रिय अस्मितामाथि योजनाबद्ध प्रहार भइरहेको दाबी गर्दै उहाँले देश र संस्कृतिप्रति वितृष्णा फैलाएर भ्रमको खेती गरिएको बताउनुभयाे। उहाँले भन्नुभयो, ‘आपराधिक हर्कतपछि शरणार्थीहरू हकवाला भए, हामी शरणार्थीजस्ता भयौँ, तर यो देश हाम्रो हो, यहीँ बसेर भिड्नुपर्छ, देश हामीले नै बनाउनुपर्छ।’

अहिले राष्ट्र र जनताको सुरक्षा नै प्रमुख चुनौती बनेको उल्लेख गर्दै उहाँले मुलुकलाई अहिले ‘पिस एण्ड सेक्युरिटी’ को आवश्यकता अत्यन्तै रहेको बताउनुभयो। भदौ २३ र २४ मा भएका घटनालाई उहाँले ‘देशविरुद्धको चक्रव्यूह’ भन्दै ती गतिविधि क्रान्तिको नाममा दुरुपयोग गरिएको टिप्पणी गर्नुभयो। ‘अहिले शासन होइन, कुशासन चलिरहेको छ,’ उहाँले भन्नुभयो।

पत्रकारहरूसँगको भेटमा ओलीले राजनीतिक नेतृत्व, सरकारी संयन्त्र र समाज सबैले मिलेर विद्यमान चुनौती सामना गर्नुपर्ने र गलत प्रवृत्तिको अन्त्य गर्दै राष्ट्रलाई सही बाटोमा उभ्याउनुपर्नेमा जोड दिनुभएको थियो।