जनता टाइम्स

१ मंसिर २०८२, सोमबार १७:२०

भदौ २३–२४ को विध्वंसका योजनाकार सुशीला कार्की र ओमप्रकाश भएको दुर्गा प्रसाईंको ठोकुवा, बालेन र सुधनदेखि अरु क-कस्को लिए नाम ? (सूचीसहित)


माओवादीदेखि एमालेसम्म टिक्न नसकेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जेन–जी आन्दोलनको नाममा भएको भदौ २३–२४ को विध्वंसका मुख्य योजनाकार प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल भएको ठोकुवा गर्नुभएको छ । प्रसाईँले बालेन साह र सुधन गुरुङदेखि १५ जनाको नामै किटानसमेत गर्नुभएको छ। 

काठमाडौं, मंसीर १ । माओवादी र नेकपा एमालेमा प्रवेश गरे पनि आफ्नै कारण टिक्न नसकेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल नै विध्वंसकारी घटनाका मुख्य योजनाकार रहेको ठोकुवा गर्नुभएको छ ।

‘मातृभूमि बचाऊ’ अभियानमार्फत मंसिर ७ गतेदेखि आन्दोलन घोषणा गर्नुभएका प्रसाईँले सोमवार पत्रकार सम्मेलन गरी यस्तो ठोकुवा गर्नुभएको हो । प्रसाईँले भदौ २४ गते सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जलाउने कार्यमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको प्रत्यक्ष भूमिका रहेको दाबी गर्नुभयो ।

मंसीर ७ बाट आयोजना गरिएको आन्दोलनको कार्यक्रमबारे जानकारी दिन र प्रमाण खुलासा गर्न भनेर आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रसाईँले विभिन्न भिडिओ क्लिप तथा अडिओ समेत सार्वजनिक गर्दै जेन–जी अप्रेसन सेन्टरमा बसेर सबै सम्पदामा आगो लगाउने सन्देश प्रवाह गरिएको बताउनु भयो ।

प्रसाईँले जेन–जी आन्दोलनको डिजाइन पश्चिमा देशहरूको लगानीमा चलेका एनजीओ–आईएनजीओसहित विभिन्न संस्थाले गरेको र त्यसमा बारबारा फाउण्डेसनलगायतका संस्था प्रत्यक्ष संलग्न रहेको पनि बताउनु भयो । सिंहदरबारलगायत राष्ट्रिय सम्पदा जलाउनेदेखि जेन–जीको प्रदर्शनमा घुसपैठ गरेर गोली चल्ने वातावरण बनाउने योजना पहिले नै तय भएको दाबीसमेत प्रसाईँले गर्नुभएको छ ।

भदौ २३ र ३४ मा भएको विध्वंसको सबै घटनाहरूमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, डाक्टर गोविन्द केसी, त्रिविका पूर्वउपकुलपति प्रा.डा. केदारभक्त माथेमा, डा. गोविन्द केसीका सहयोगी डा. अभिशेषराज सिंह, डा. सन्दुक रुइतलगायतको भूमिका रहेको दाबी पनि प्रसाईँले गर्नुभयो ।

सिंहदरबार जलिसकेपछि ‘मिसन पूरा भयो धन्यवाद बालेन !’ भनेको भिडिओ समेत सार्वजनिक गर्दै भदौ २४ को आगजनीमा मेयर बालेन शाह, रास्वपाकी तत्कालीन सांसद डा. डा. तोसिमा कार्की, सुमना श्रेठ, विवेकशील साझाका नेता उज्ज्वल थापा फाउण्डेशनले अघि बढाएकी जेन-जी अभियन्ता रक्षा बम, फ्री तिब्बतका अभियन्ता सुधन गुरुङसहित १५ जनाको हात रहेको प्रसाईँले जिकिर गर्नुभयो ।