जनता टाइम्स

२ मंसिर २०८२, मंगलवार १२:४४

 जेन्जी मुभमेन्ट नेपालले भन्यो :  प्रधानमन्त्री सुशीला कार्की र गृह मन्त्री ओमप्रकाश अर्याललाई तत्काल नियन्त्रणमा लिइयोस् 


काठमाडौँ, मंसिर २। जेन्जी मुभमेन्ट नेपालले राजावादी अभियन्ता दुर्गा प्रसाईँको पक्राउलाई दमनकारी चरित्रको भन्दै आपत्ति जनाएको छ।

संगठनका प्रवक्ता विजय शाहद्वारा जारी वक्तव्यमा सुशीला कार्की र ओमप्रकाश अर्याल नेतृत्वको समूहले जेन्जी विद्रोहलाई बङ्ग्याउने तथा अस्थिरता सिर्जना गर्ने प्रयास गरेको दाबी गरिएको छ। वक्तव्यमा भदौ २४ गतेका घटनामा उनीहरूको हस्तक्षेपले द्वन्द्वतर्फ जाने परिस्थिति बलियो बनेको उल्लेख गरिएको छ।

सो घटनाक्रमको पर्दाफास गर्दै आएका दुर्गा प्रसाईँमाथि सरकारले दमन सुरु गरेको वक्तव्यमा उल्लेख छ। प्रसाईँलाई पक्रेर अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार मात्र नभई, विद्रोहलाई नियन्त्रणमा लिएर सत्ता कायम राख्ने षड्यन्त्र भइरहेको संगठनले जनाएको छ।  ‘जेन्जी विद्रोहको वास्तविक नेतृत्व र उद्देश्यलाई बङ्ग्याउँदै त्यसलाई अपहरण गर्ने कर्तुतमा सुशीला कार्की र ओमप्रकाश अर्यालको गिरोह सक्रिय रहेको तथ्य क्रमशः सार्वजनिक हुँदै आएको छ। देशलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्न भाद्र २४ गते उनीहरूकै हस्तक्षेपले निर्णायक भूमिका खेलेको प्रमाणहरू उजागर भइरहेका बेला, त्यसकै पर्दाफास गर्ने साहस देखाउने व्यक्तिमाथि दमन सुरु भएको छ । यही सत्यलाई देशभर प्रष्टसँग राख्दै, जेन्जी विद्रोह कसरी कब्जा गरिएको हो भन्ने विवरण बाहिर ल्याइरहेका दुर्गा प्रसाईँलाई गिरफ्तार गर्नु सरकारको दमनकारी मानसिकता र शक्ति- गिरोहको सुरक्षा कवच बन्ने चरित्रको स्पष्ट सङ्केत हो । यो गिरफ्तारी अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार मात्र होइन, जेन्जी विद्रोहलाई अपहरित गरेर सत्ता कु लाई टिकाई राख्ने गम्भीर षड्यन्त्र हो’, विज्ञप्तिमा उल्लेख छ ।

वक्तव्यमा भदौ २४ गतेको घटनामा युवालाई उक्साउने, परिस्थिति अस्थिर बनाउने तथा राज्यविहीनताको प्रयास भएको दाबी गर्दै सो समूहलाई तत्काल नियन्त्रणमा लिनुपर्ने माग पनि गरिएको छ। संगठनले प्रसाईँको तत्काल रिहाइको माग गर्दै परिवर्तन र सत्यका पक्षमा उभिन चाहने दाजुभाइ तथा दिदीबहिनीलाई आगामी सडक कार्यक्रमका लागि तयार रहन आह्वान गरेको छ।

विज्ञप्तिमा लेखिएको छ, ‘सुशीला कार्की र ओमप्रकाश अर्यालको गिरोहले भाद्र २४ गते सडकमा आएर युवाहरूलाई उद्वेलित गराएको, परिस्थिति भड्काउन अगुवाइ गरेको साथै राज्यविहीनताको सिर्जना गरेर सत्ता कु गर्ने कलुषित मनसाय देखिएको हुनाले नेपाली सेनाले उनीहरूलाई तुरुन्तै नियन्त्रणमा लिनु अपरिहार्य छ । हामी दुर्गा प्रसाईँको तत्काल रिहाइको माग गर्दछौँ। साथै, परिवर्तन र सत्यका पक्षमा उभिनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई आगामी सडक सङ्घर्षका लागि तयार रहन आह्वान गर्दछौँ ।’