काठमाडौ, मंसिर २। नेकपा एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने संस्थागत निर्णय गरेको छ।
मङ्गलबार बसेको विघटित संसदीय दलको बैठकले संसद् पुनर्स्थापनाबाहेक कुनै विकल्प नरहेको निष्कर्ष निकाल्दै तुरुन्तै रिट दायर गर्न निर्णय गरेको छ । बैठकको निर्णयअनुसार सर्वोच्चमा मुद्दा दायर गर्ने जिम्मा महेश बर्तौला र सुनिता बराललाई दिइएको छ। उहाँहरूले आवश्यक कागजात तयारी, वारेस तथा कानुन व्यवसायी नियुक्ति लगायत सम्पूर्ण कानुनी प्रक्रिया अघि बढाउनुहुने भएको छ ।
बैठकले जारी गरेको लिखित निर्णयमा प्रतिनिधि सभा पुनर्स्थापनाको माग राखी सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्न जो-जे कामकारबाही गर्नु पर्दछ सो गर्ने गरी दलको तर्फबाट आवश्यक रिट निवेदन दर्ता, वारेस मुकरर, कानुन व्यवसायी मुकरर लगायतका कार्य गर्न अधिकार रहने गरी बैठकले अख्तियारी दिने निर्णय गरेको छ भनिएको छ ।
एमालेले प्रतिनिधि सभा विघटनलाई ‘असंवैधानिक’, ‘अलोकतान्त्रिक’ र ‘ संवैधानिक सर्वोच्चता माथिको आक्रमण’का रूपमा व्याख्या गर्दै यसको प्रतिवादका लागि सबै तहका शक्ति र नागरिकलाई उभिन अपिल गरेको छ। निर्णयमा संविधान, विधिको शासन, लोकतन्त्र र जनसत्ताको रक्षाका लागि राजनीतिक दलहरू, नागरिक समाज, पेसा–व्यवसायमा रहेका सबै नागरिकलाई संसद् विघटनविरुद्ध आवाज उठाउन आह्वान गरिएको छ।
साथै, पार्टीले राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता, संविधान र लोकतान्त्रिक प्रणालीको पक्षमा आयोजित जनप्रदर्शन तथा अन्य कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने निर्णय समेत गरेको छ।














प्रतिक्रिया दिनुहोस्